नेकपा र कांग्रेसबीचको विवादले विद्यालयमा ताला

मुगु । जिल्लाको उत्तरी सोरु क्षेत्रमा पर्ने सोरु गाउँपालिका–१० मा पर्ने एक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्ने क्रममा नेपाल कम्युनिस्ट पाटी पक्षधर र नेपाली कांग्रेस पक्षधरबीच विवाद भएपछि विद्यालयमा तालबन्दी गरिएको छ ।

जगतमाला माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन गर्ने क्रममा मंगलबार नेपाल कम्युनिस्ट पार्टी पक्षधरले हिक्मतबहादुर मल्लको अध्यक्षतामा एकलौटी रूपमा विद्यालय व्यवस्थापन समिति गठन गरेको भन्दै नेपाली कांग्रेस पक्षधरले असमहति जनाउँदै विरोध स्वरूप विद्यालयमा तालाबन्दी गरेका विद्यालयका प्रधानध्यापक धनराज जैसीले जानकारी दिए ।

बुधबार विद्यालयले अभिभावक भेला बोलाई विद्यालय व्यवस्थापन समितिको गठनमा सहमति गर्न आग्रह गरे पनि कांग्रेस समर्थक स्थानीयवासी भेलामा नआएपछि कुनै छलफल भने हुन सकेको छैन । चार सय विद्यार्थी रहेको यो विद्यालयमा व्यवस्थापन समिति गठनका विषयमा नेकपा र नेपाली कांग्रेसबीच विवाद हुँदा विद्यालय प्रशासनले मध्यस्थता गर्न खोजे पनि दुवै पक्ष आ–आप्mनै अडानमा रहेकाले समस्या बल्झँदै गएको छ ।

नेकपा सर्मथकले मंगलबार गठन भएको विद्यालय व्यवस्थापन समिति नै कायम हुनुपर्ने अडान राखेका छन् भने कांग्रेस सर्मथकले यो समिति एकलौटी गरिएकाले पुनर्गठन गर्नुपर्ने अडान राखेकाले विवाद सिर्जना भई कांगे्रस समर्थकले विद्यालय तालाबन्दी गरेका स्थानीयवासी हरिकेश आचार्यले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर विद्यालय बन्द गर्न नहुने स्थानीयको भनाइ छ । राजनीतिक कारण विद्यालय तालाबन्दी हुँदा विद्यार्थीको पठनपाठन ठप्प भएको छ । विद्यालय आएका विद्यार्थी पनि विद्यालयमा तालाबन्दी भएपछि घर फर्किएका छन् ।

प्रतिक्रिया