स्थापनाको ६० वर्षपछि भिडियो एक्स–रे

काठमाडौं । नेपाल परिवार नियोजन संघले पुल्चोकस्थित केन्द्रीय कार्यालयमा रहेको क्लिनिकबाट भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) सेवा सुरुआत गरेको छ । परिवार नियोजन, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवामा नेपालको सबैभन्दा पुरानो गैरसरकारी संस्थाका रूपमा कार्यरत सो संघले आफ्नो स्थापनाको ६१ वर्षपछि पहिलोपटक बुधबारदेखि सो सेवा सुरुआत गरेको हो ।

यसअघि क्लिनिकमा आउने सेवाग्राहीलाई सो सेवा लिन अन्यत्र पठाउनुपर्ने अवस्था थियो । यहाँस्थित संयुक्त अरब इमिरेट्स राजदूतावासले एकस्थान सो उपकरण संघलाई सहयोग गरेको हो । अहिले दैनिकरूपमा परिवार नियोजन, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यका विभिन्न क्षेत्रका सेवा लिन आउनेमध्ये पाँच÷छ जनालाई भिडियो एक्स–रे सेवा आवश्यकता पर्ने जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका परिवार नियोजन, प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व कार्यक्रममध्ये करिब ३० प्रतिशत हिस्सा संघले प्रदान गरेका सेवाले ओगटेको छ । हाल देशका करिब ३५ भन्दा बढी जिल्लाका एक हजार दुई सय क्लिनिकमार्फत संघले सो सेवा प्रदान गरिरहेको छ । संघद्वारा बुधबार यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको उपस्थितिमा संघका कार्यकारी निर्देशक केपी विष्टलाई यहाँस्थित संयुक्त अरब इमिरेट्स राजदूत सइद हमदान अल नाक्वीले सो उपकरण हस्तान्तरण गरे ।

सो अवसरमा राज्यमन्त्री डा. यादवले सुरक्षित मातृत्व तथा प्रजनन अधिकार ऐन कार्यान्वयन गर्न नियमावली निर्माणको अन्तिम तयारी भइरहेको जानकारी दिँदै सुरक्षित मातृत्व तथा प्रजनन सेवा अझ प्रभावकारी बनाइने बताए । उनले भने, ‘परिवार नियोजन, प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व सेवामा नेपाल परिवार नियोजन संघको योगदान उच्च रहेको छ । यसलाई मन्त्रालयले उच्च सराहना गर्छ । अगामी दिनमा यसलाई आर्थिक संकट आउन दिइने छैन ।’

राजदूत नाक्वीले अगामी दिनमा नेपालको स्वास्थ्य सेवालाई सुदृढ बनाउन आफ्नो सरकारले थप सहयोग विस्तार गर्ने जानकारी दिँदै पुरानो संस्थालाई सहयोग गर्न पाएकामा खुसी व्यक्त गरे । संघका कार्यकारी निर्देशक विष्टले विपन्न समुदाय र दुर्गम क्षेत्रमा संघले परिवार नियोजन, प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व सेवा पु¥याइराखेको र बर्सेनी ४० लाखले ती सेवा पाएको जानकारी दिए । संघ अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघको सदस्य पनि हो । पछिल्लो समय अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघले दिँदै आएको केही बजेट कटौती गरेपछि संघले आर्थिक संकट व्यहोरिरहेको छ ।

संघद्वारा सञ्चालित क्लिनिकका प्रमुख चिकित्सक ओम महर्जनले भिडियो एक्स–रे सेवाले क्लिनिकको सेवालाई अझ सजिलो बनाएको बताए । सोही अवसरमा राज्यमन्त्री डा यादवले परिवार नियोजन क्षेत्रका कम्तीमा वार्षिकरूपमा सात प्रतिशत बजेट वृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरे । संघका सूचना तथा सञ्चार अधिकृत जमुना सिटौलाका अनुसार सन् २०२० सम्ममा सो क्षेत्रको वार्षिक बजेटमा सात प्रतिशत रकम वृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतामा नेपालले हस्ताक्षर गरिसकेको छ ।

प्रतिबद्धतापत्रमा स्वास्थ्य सेवा केन्द्रहरूको विस्तार गरी जनसमुदायमा गुणस्तरीय परिवार नियोजन सेवा र सूचनाको पहुँच बढाउँदै देशको विद्यमान मातृमृत्यु दर घटाउने, परिवार नियोजनको आधुनिक साधनको आपूर्ति मागलाई पूरा गर्न रहेको छ । समग्र महिलाको प्रजनन हक अधिकारसँग प्रत्यक्ष सरोकार राख्ने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनको सक्रिय कार्यान्वयनका लागि नियमावली अविलम्ब ल्याई कार्यान्वयन गर्ने प्रतिबद्धतापत्रमा रहेको छ ।

प्रतिक्रिया