आकर्षक बन्दैछ ‘नयाँ बसपार्क’

काठमाडौँ । ‘नयाँ बसपार्क’ भन्नेबित्तिकै धेरैले अस्तव्यस्त, फोहर र टहरैटहराले भरिएको प्रदूषित स्थल भन्ने ठान्छन् तर, अहिले यसको स्वरूप फेरिएको छ । मुलुकको एकमात्र राष्ट्रिय बसपार्कको रूपमा रहेको गोँगबुस्थित नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको छ ।

विगतमा सरसफाइमा ध्यानै नपुगेको बसपार्क आजभोलि सफा र सुन्दर देखिन थालेको छ । काठमाडौँ महानगरपालिका–२६ मा एक सय ६१ रोपनी क्षेत्रफलमा सञ्चालन भई आएको नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको हो । यसको पश्चिमतर्फ विष्णुमती करिडोर निर्माण भएको छ । विष्णुमती करिडोर निर्माणका लागि बसपार्कले झण्डै १० रोपनी जग्गा उपलब्ध गराएको छ ।

२०५६ सालमा काठमाडौं महानगरपालिकाका प्रमुख केशव स्थापित र ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो । उक्त बसपार्कभित्र बाहिरी जिल्लाबाट आएका बस र उपत्यकाभित्र सञ्चालनमा रहेका बसलाई पार्किङका लागि छुट्टाछुट्टै बसपार्क स्थल निर्माण गरिएको छ । ल्होत्से बहुउद्देश्यीय प्रालिबाट सञ्चालनमा रहेको बसपार्कभित्र हाल पेट्रोल पम्प, टिकट काउन्टर, ग्यारेज, खाजा घर, कान्तिपुर मल, नवनिर्मित ल्होत्से मल, ट्राफिक प्रहरी वृत्त र महानगरीय प्रहरी प्रभाग गोँगबु रहेका छन् ।

सुविधासम्पन्न सपिङ मलको रूपमा निर्माण सम्पन्न हुन लागेको ल्होत्से मल साततलाको हो । प्रालिका अध्यक्ष दीपक कुँवर पछिल्लो समय नयाँ बसपार्कलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै लगिएको बताउछन् । ‘बसपार्कभित्र अवैधरूपमा सञ्चालनमा रहेका घरटहरालाई हटाएर व्यवस्थितरूपमा सञ्चालन गर्न खोजेका छौँ,’ उनले भने । ठूलो क्षेत्रफलमा फैलिएको नयाँ बसपार्क सफाइका लागि झण्डै ३५ मजदूर दैनिकरूपमा खटिन्छन् ।

ल्होत्से बहुउदेश्यीय प्रालिले चालक, सहचालक र यात्रुको स्वास्थ्यलाई ध्यानमा राखेर ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालसँगको सहकार्यमा स्वास्थ्य उपचार तथा परामर्श केन्द्र पनि स्थापना गरेको छ । उक्त केन्द्रले निःशुल्क परामर्श तथा प्राथमिक उपचार गर्ने गर्छ । बसपार्कभित्र निर्माण गरिएका बगैँचाले यात्रुहरूलाई शीतलता दिन थालेको छ ।

यस्तै, नयाँ बसपार्कभित्र अपांगमैत्री शौचालयसमेत निर्माण भएको छ । ल्होत्से प्रालिको २५ लाखको लगानीमा निर्माण भएको उक्त शौचालयभित्र ह्वीलचियरसमेत लैजान मिल्छ । २१०२ सम्म सञ्चालन गर्न पाउने गरी सम्झौता भएको बसपार्कमा एक हजारको हाराहारीमा सवारी साधन पार्किङ गर्न मिल्छ । बसपार्कमा चाँडै नै ई–टिकेटिङको व्यवस्था गर्न लागिएको छ । ल्होत्सेले हाल काठमाडौं महानगरपालिकालाई एक करोडभन्दा बढी वार्षिकरूपमा राजश्व तिर्दै आएको छ ।

ल्होत्सेले २०५६ मा काठमाडौँ महानगरपालिकासँग सम्झौता गरेर बसपार्क सञ्चालनको जिम्मा लिँदा प्रतिवर्ष ५२ लाख राजश्व तिरेको थियो । उक्त राजश्व वार्षिकरूपमा वृद्धि हुँदै २१०२ सम्म पुग्दा झण्डै चार करोड ६४ लाख पुग्नेछ । ल्होत्सेले सम्झौताअनुसार बसपार्कभित्र निर्माण गरिएका संरचना सम्झौता सकिएपछि महानगरलाई हस्तान्तरण गर्नुपर्नेछ । नयाँ बसपार्कबाट अहिले पूर्वको ताप्लेजुङदेखि पश्चिमको जुम्लासम्म ५० भन्दा बढी जिल्लामा सवारीसाधन आवतजावत गर्ने गरेको प्रालिका महाप्रबन्धक सुनिल कुवँर बताउँछन् ।

पछिल्लो समय ल्होत्से बहुउद्देश्यीय प्रालिले यातायात प्रालिसँगको सहकार्यमा बसपार्कमा टिकट काउन्टरमा बस्ने कर्मचारीलाई अनिवार्य पोशाक र परिचयपत्रको समेत व्यवस्था मिलाएको छ । नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला नयाँ बसपार्क पछिल्लो समय बस पार्किङका लागि साँघुरो हुँदै गएको बताउँछन् । ‘काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने सबै सवारी साधन नयाँ बसपार्कमा ल्याउने हो भने साँघुरो हुन्छ, सरकारले नयाँ बसपार्कको खोजी गर्नुपर्छ,’ उनी भन्छन् ।

हाल नयाँ बसपार्कबाहेक गोँगबु, पुरानो बसपार्क, गौशाला, कलंकी, कोटेश्वर र सोह्रखुट्टेबाट सवारी साधन विभिन्न जिल्लामा छुट्ने गरेका छन् । पछिल्लो समय आर्थिक गतिविधिको एक मुख्य थलोको रूपमा नयाँ बसपार्क सञ्चालन हुँदै आएको छ । नयाँ बसपार्कको निर्माणसँगै हाल गोँगबु क्षेत्रमा झण्डै एक हजारको हाराहारीमा होटल तथा सयको हाराहारीमा डान्सबार तथा दोहोरी रेष्टुराँ सञ्चालनमा रहेका छन् ।

काठमाडौं महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारी नयाँ बसपार्क र यस क्षेत्रबाट काठमाडौं महानगरपालिकालाई धेरै राजश्व संकलन हुने गरेको बताउँछन् । नयाँ बसपार्क र ठमेलको केही भाग पर्ने काठमाडौँ महानगरपालिका–२६ बाट आर्थिक वर्ष ०७५÷०७६ मा १६ करोड रुपैयाँ राजश्व संकलन भयो । नयाँ बसपार्क क्षेत्रमा टोखा नगरपालिकाको वडा नं ९ पर्दछ । टोखा नगरपालिका – ९ का अध्यक्ष जोगप्रसाद नेपालका अनुसार यस बसपार्कबाट आव ०७५-७६ मा दुई करोड २२ लाख रुपैयाँ राजश्व उठ्यो ।

प्रतिक्रिया