चितवन । भरतपुर विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा विस्तार भएसँगै आन्तरिक आम्दानीमा वृद्धि भएको छ । अस्पतालका अत्यावश्यक सेवा सञ्चालन भएपछि आम्दानी बढेको हो । अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यका अनुसार गत आवमा रु ३२ करोड ५२ लाख ८२ हजार आम्दानी भएको थियो ।
अघिल्लो आवभन्दा रु १३ करोड ११ लाख ४३ हजार बढी आम्दानी भएको छ । आव २०७४–७५ मा रु १९ करोड ४१ लाख ३९ हजार तथा आव २०७३–७४ मा अस्पतालको आम्दानी रु १८ करोड ४२ लाख ३१ हजार थियो । ‘सेवा विस्तार र सुदृढ भएसँगै बिरामीले सेवा लिने अवसर पाएका छन्’, उनले भने । भदौ १५ गतेदेखि १९४ श्यया बढाएर ४४३ श्यया पुर्याइएको छ ।
क्यान्सर रोगीका लागि अत्यावश्यक रेडियोथेरापी मेशिनको अभाव छ । यहाँ दैनिक झण्डै १६० जनाले सेवा पाउने गरेका छन् । रेडियोथेरापी र प्याथोलोजी विभागका उपकरण पनि सञ्चालनमा आएका छन् । भिडियो एक्स–रे, म्यामोग्राफी र एमआरआई सेवा अवरुद्ध भए मर्मतसम्भार र नयाँ खरीद गरी सञ्चालनमा ल्याइएको छ । सिटी स्क्यान, एमआरआई तथा म्यामोग्राफी सेवा लिन पालो लिनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
‘सेवा सञ्चालन र श्यया थपिएसँगै अस्पतालको आम्दानी बढेको हो’, आचार्यले भने । बिरामी बाहिर जानु नपरोस् भनेर फार्मेसी सञ्चालनमा ल्याइएको छ । तीन वर्ष अघि अस्पताल अस्तव्यस्त बनेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो ।
तत्कालीन समयमा अधिकांश उपकरण बिग्रिएका, प्याथोलोजीका सामग्री नभएका, कर्मचारी कार्यालय समयमा बाहिर जाने जस्ता समस्या देखिएपछि स्थानीय प्रशासनले हस्तक्षेप गरी सुधारका लागि पहल थालेको थियो ।
सो पश्चात नियुक्त भएका कार्यकारी निर्देशक आचार्यले निरन्तरको प्रयासपछि अस्पताल सुधारको बाटोमा अघि बढेको यसका सूचकहरुले देखाएको बताए ।
प्रतिक्रिया