स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सुचारु

धादिङ । नेपाल एम्बुलेन्स सर्भिसको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यस्थापन तालिम शिक्षालय कुरिनटार चितवनले स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

राजमार्ग तथा राजमार्ग आसपासमा हुने सवारी दुर्घटनामा भएका घाइतेहरूलाई सेवा दिन, आकस्मिक तथा उद्धार प्रयोजनका लागि आइतबारदेखि उक्त एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । राजधानी काठमाडांैमा सञ्चालनमा रहेको उक्त एम्बुलेन्स आइतबार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यस्थापन तालिम शिक्षालय कुरिनटार चितवनलाई हस्तान्तरण गरिएको हो ।

एम्बुलेन्स हस्तान्तरण गर्दै नेपाल एम्बुलेन्स सर्भिसका महासचिव तथा सशस्त्र प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक शारदा भक्त रञ्जितले उक्त एम्बुलेन्समा एक जना स्वास्थ्यकर्र्मीसमेत साथमा रहने बताए । उनले एम्बुलेन्सभित्रै प्राथमिक उपचार गरिने भएकोले दुर्घटनाका घाइतेको बाटैमा मृत्यु हुने सम्भावना कम हुनेसमेत बताए ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्व प्रहरी नायव महानिरीक्षक शारदाभक्त रञ्जितले एम्बुलेन्सले नेपाल सरकारले तोकिएको मापदण्ड अनुसार भाडा लिनेसमेत बताए । उनले अत्याधुनिक उपकरण, अत्याधुनिक उपचार विधि र आकस्मिक स्वास्थ्यकर्मी इएम्टिएससमेत साथमा उपलब्ध भएकोले गर्दा हस्पिटल पुग्नुभन्दा पहिला नै एम्बुलेन्सभित्रै अत्यावश्यक चिकित्सा सेवा प्रदान गरिनेसमेत जानकारी दिए ।

बिरामीहरूका लागि आकस्मिक स्वास्थ्यकर्मी सहितको द्रूत एम्बुलेन्सहरू, उपचारको सुनिश्चितता गर्नका लागि पूर्ण सुविधा र आवश्यक अस्पतालबीच समन्वय सेवा परिचालन गर्ने बताउँदै रञ्जितले नेपाल एम्बुलेन्स सर्भिसले देशभर १० वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको जानकारी दिए ।

यता सशस्त्र प्रहरी बल नेपाल विपद् व्यस्थापन तालिम शिक्षालय कुरिनटारका प्रमुख तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किशोर प्रधानले पनि कुरिनटारस्थित शिक्षालयमा तीन वटा एम्बुलेन्स सञ्चालनमा आएको बताए । सशस्त्र प्रहरी बलको एक र नेपाल एम्बुलेन्स सर्भिस नेपालको एक गरी दुई वटा एम्बुलेन्स सञ्चालनमा आएको हो । सोमबारदेखि सशस्त्र प्रहरी बलले सञ्चालनमा ल्याएको एम्बुलेन्स बसमा २२ जना क्षमताको रहेकोसमेत उनले जानकारी दिए । यसअघि एउटा मात्र एम्बुलेन्स सञ्चालनमा रहेको थियो ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किशोर प्रधानले अबका दिनमा एम्बुलेन्स अभावकै कारण दुर्घटनाका घाइतकोे मृत्यु नहुनेसमेत बताए । उनले भने, ‘अब एम्बुलेन्स अभावकै कारण दुर्घटनाका घाइतेको मृत्यु हँुदैँन । हामीसँग तीन वटा एम्बुलेन्स रहेको छ ।’ दुर्घटनाको सूचना ढिला आएको खण्डमा समयमै उद्धार गर्न नसके मात्र मृत्यु हुने सम्भावना रहेको उनको भनाइ थियो ।

यता इच्छाकामना गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले पनि सुविधाजनक एम्बुलेन्स सञ्चालनका लागि यहाँ नै रोजाइमा पारेकोमा एम्बुलेन्स सर्भिस नेपाललाई धन्यवाद व्यक्त गरिन् । गाउँपालिका अध्यक्ष गुरुङले यस क्षेत्रको हाइवेमा धेरै दुर्घटना हुने भएकोले यस्ता प्रकारको एम्बुलेन्स आवश्यक रहेकोसमेत बताइन् । उनले एम्बुलेन्स सञ्चालनका लागि गाउँपालिकाबाट जुनसुकै किसिमको सहयोग गर्नसमेत आपूm तयार रहेको प्रतिवद्धता जनाइन् ।

एम्बुलेन्सको सेवा २४सैं घण्टा उपलब्ध हुने र एम्बुलेन्स सेवा लिनको लागि इमर्जेन्सी नं. १०२ वा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको सम्पर्क नं. ०५६–४१०००० मा फोन गर्न सकिनेछ ।

प्रतिक्रिया