गीतमा किराँती मिथक

ललितपुर । गायक रूपकुमार राई र गायिका राधा राईको स्वर रहेको किराँती पुर्खा तायामा, खियामा र हेत्छाकुप्पाको मिथकमा आधारित गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार भूपाल राईको शब्द र दिनेश सुब्बाको संगीत रहेको गीतको भिडियो ‘नाना तायामा’ सार्वजनिक गरिएको हो ।

गीतकार राईले गीतको भिडियो सार्वजनिक कार्यक्रममा अहिले विचारको गीतको अभाव भएको वेला आफूले किराँती मिथकमा आधारित गीत लेखेको बताए । उनले भने, ‘अहिले गीतको ट्रेन्ड बजार र विचारमा बाँडिएको छ । मिथकमा गीत लेख्न निकै गाह्रो छ । यो गीतले संकेतमात्रै दिएको हो ।’

त्यस्तै, संगीतकार दिनेश सुब्बाले गीतमा संगीत भर्नेक्रममा आफूले राई संस्कृति र मिथकको अध्ययन गरेको सुनाए । उनले भने, ‘म लिम्बू भएकाले पनि राईहरूको मिथकमा आधारित गीतमा संगीत गर्न निकै समयसम्म अध्ययन गरे ।’ भिडियोका निर्देशक युवराज राईले भिडियोमा करिब पाँच हजार वर्षअघिको कथालाई प्रस्तुत गरिएको जनाए । उनले भिडियो तयार पार्न प्राविधिकरूपमा निकै मिहिनेत गर्नुपरेको बताए । गीतको भिडियोमा अस्मिता राई, सेसुका राई र रामदीप राईको अभिनय छ ।

प्रतिक्रिया