गौरा पर्वको रौनक

कैलाली । मौलिक सांस्कृतिक पर्वको रूपमा सुदूरपश्चिम प्रदेशमा प्रचलित गौरा पर्वको चहलपहल सुरु भएको छ । निराहार बसी महिलाले आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा मास, गहत, कलौ, चनालगायतका पाँच थरीका गेडागुडी भिजाएर व्यवस्थापन गरेपछि यो पर्व सुरु भएको मानिन्छ ।

भदौ पञ्चमी तिथिका दिन यो पर्व मनाउने समुदायका श्रद्धालु महिलाले आ–आफ्नो घरमा धार्मिक अनुष्ठानका साथ पाँच थरीका गेडागुडी अर्थात् ‘बिरुडा’ को व्यवस्थापन गरेका छन् । व्रतालुु महिलाले सामूहिक रूपमा धान, स्याउ, अपामार्ग, कुसलगायतका बोट बिरुवाबाट गौरा भगवतीको प्रतिमा तयार पारी अनुष्ठानका साथ गौरा भित्र्याउने प्रचलन छ ।

गौरा भित्र्याइसकेपछि व्रतालुले गौरी भगवती र महेश्वर (शिव) भगवानको पूजा अर्चना गर्ने चलन छ । पूजा गर्दा अक्षताका रूपमा प्रयोग हुने ‘बिरुडा’ को विशेष महत्व छ । ‘बिरुडा’ लाई गौरा र महेश्वरको प्रसादको रूपमा ग्रहण गर्ने परम्परा छ । पूजाको काम सकिएपछि छरछिमेकमा प्रसादको रूपमा बाँडिने बिरुडालाई पकाएर खाने चलन रहेको र यसरी खाँदा पेटसम्बन्धी रोग निको हुने जनविश्वाससमेत छ ।

यो पर्व मनाउन धनगढीको वनदेवी, नैनादेवी, शिवपुरीलगायतका मन्दिरका साथै गौरा घरमा विशेष तयारी गर्न लागिएको छ । पूजाको काम सकिएपछि हरेक दिन महिला पुरुष छुट्टाछुट्टै रूपमा गोलबन्द भई चैत, धमारी, देउडा, खेल खेलेर रमाइलो गर्ने गर्दछन् ।

पौराणिक कालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान् शिवलाई पतिको रूपमा पाउन गरिएको व्रतको फलस्वरूप पार्वतीको मनोकांक्षा पूरा भएकोले सोही वेलादेखि यो पर्व मनाउन थालिएको किंवदन्ती रहेको छ । गौरा सर्वशक्तिमान भएको विश्वासमा यो पर्व मनाउन थालिएको जनविश्वाससमेत छ । यो पर्वले एक ठाउँमा भेला हुने अवसर प्रदान गरी आपसी सद्भाव सुदृढ गराउन मद्दत पुग्ने, इष्टकूल देवता खुसी हुने विश्वास गरिन्छ । अनुकूल तिथिका दिन यो पर्व विसर्जन गरिन्छ ।

प्रतिक्रिया