११ जिल्लामा सिसिटिभी जडान

बुटवल । आन्तारिक मामिला तथा कानुन मन्त्रालयले बजेट निकासा गरेसँगै प्रदेश–५ का ११ जिल्लामा सिसिटिभी जडान भएको छ । प्रदेश–५ का १२ जिल्ला मध्ये रोल्पामा मात्र सिसिटिभी जडान भएको छैन । दुर्घटना न्यूनीकरण र अपराध नियन्त्रण एवं सुरक्षाका लागि प्रदेशका ११ जिल्ला सिसिटिभी जडान गरिएको हो । १ सय ४० वडा जडान गनुपर्नेमा अहिलेसम्म १ सय ५ वटा जडान भइसकेको प्रदेश–५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक मधुसुदन लुइँटेलले जानकारी दिए । सिसिटिभी जडानका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तीन करोड बजेट छुट्टाएकोमा २ करोड ५९ लाखमा सिसिटिभी खरिद गरिएको थियो । त्यसबाहेक कन्ट्रोल रुम स्थापनाका लागि ३० लाख बजेट विनियोजन भएकोमा २१ लाख खर्च गरी केन्ट्रोल रुमसमेत निर्माण गरिएको छ । उक्त कन्ट्रोल रुमको मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटनसमेत गरेका छन् ।

११ जिल्लामा १ सय ४० वटा सिसिटिभी जडान मध्ये १ सय ५ वटा जडान भइसकेका छन् । प्युठानमा नौ, अर्घाखाँचीमा सात, गुल्मीमा आठ, पाल्पामा १६, रूपन्देहीमा १८, नवलपरासीमा १८, कपिलबस्तुमा १४, बाँकेमा १५ र प्रदेश–५ ट्राफिक कार्यालयअन्तर्गत बुटवलमा आठ वटा सिसिटिभी क्यामरा जडान गरिएको छ । दाङ, बर्दिया र रुकुममा जडान भइरहेको प्रहरी उपरीक्षक लुइँटेलले बताए । बुटवलको गोलपार्क, विद्युत् चोक, हस्पिटल लाइन, भुड्की चोक, मिलनचोक, राजमार्ग चौराहा, नेपालगञ्ज रोड र तिनाउ पुल पारिसम्मको करिब तीन किलोमिटर क्षेत्रका मुख्य राजमार्गको दृश्य कन्ट्रोल रूपमा कैद हुनेछ । नाइट भिजनसमेत भएकाले रातमा हुन सक्ने गतिविधिलाई पनि प्रहरीले निगरानी गर्नेछ । त्यसबाहेक योगिकुटी, रामनगर, ट्राफिक चोक र नयाँ बसपार्कमा पनि सिसिटिभी क्यामरा जडान गर्न आवश्यक रहेको उनको भनाइ छ ।

बुटवलको राजमार्ग चौराह, मिलनचोक, बसपार्क, कालिका मानवज्ञान स्कुल अगाडि र योगिकुटीमा आकाशे पुल बनेका छन् भने ट्राफिक चोकमा अझै बनेको छैन । साँझको समयमा हावा खाने निहुमा युवायुवतीको जमघट बनिरहेको आकाशे पुलमा अब गफिदा भने ख्याल गर्नुपर्ने भएको छ । प्रदेश–५ ट्राफिक कार्यालय बुटवलले तपाईंलाई कार्यालयबाटै निगरानी गर्न सक्छ । बुटवलका आठ स्थानमा राखिएको सिसिटिभीले राती र दिउँसोमा आकाशे पुलको समेत निगरानी गर्न सक्छ । ‘यसले जुम गरेर पनि गतिविधिहरू निकाल्न सक्छ’, प्रदेश–५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक मधुसुदन लुइँटेलले भने ।

प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले दुर्घटना न्यूनीकरण र सुरक्षा निगरानी बढाउनका लागि प्रदेशका जिल्लामा सिसिटिभी जडान गरेको बताएका छन् । प्रदेश–५ ट्राफिक कार्यालयमा सिसिटिभी कन्ट्रोल रुमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सिसिटिभी जडान भएका क्षेत्रमा दुर्घटना न्यूनीकरणका साथै प्रहरीको निगरानी र पारदर्शिताका लागि सिसिटिभी जडान गरिएको बताए । प्रदेशको रोल्पाबाहेक ११ जिल्लामा सिसिटिभी जडान भएको भन्दै मुख्यमन्त्री पोखरेलले सिसिटिभी जडानपछि सुरक्षाप्रति जनताको विश्वास अझ बढ्ने बताए । उनले ट्राफिक व्यवस्थापनमा समस्या र बढी दुर्घटना हुने क्षेत्रमा समेत सिसिटिभी निगरानी बढाउनुपर्ने भन्दै त्यस्ता स्थानको पहिचान गर्नसमेत उनले आग्रह गरे । सडक जाम, दुर्घटनाको जानकारी, दुर्घटनापछिको रेस्क्यू, अपराध पछि भाग्ने अवस्थाको अन्त्य पनि सिसिटिभी जडानले हुने अपेक्षा उनले गरे ।

सिसिटिभी जडान भएपछि जडानपछिको व्यवस्थापनमा ध्यान दिए मात्र प्रभावकारी हुने यातायात व्यवसायीले बताएका छन् । यसअघि पनि बुटवलका विभिन्न स्थानमा सिसिटिभी क्यामरा जडान भएपछि पछि मर्मत नहुँदा लाखौँ रुपैयाँ खर्च भएको भन्दै उनीहरूले व्यवस्थापनमा ध्यान दिन आग्रहका छन् । पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले सिसिटिभी जडानले गल्तीको पहिचान गर्न सक्ने बताए । उनले सिसिटिभी जडान भएर मात्र यसको कार्यान्वयन नहुने भन्दै प्रहरीले पर्याप्त जनशक्ति परिचालन गरेर सिसिटिभीलाई हाईअलर्टमा राख्नुपर्ने बताए ।

प्रतिक्रिया