काउन्सिलमा हिनहिनाइरहेका घोडा

काठमाडौं । सेता, राता, खैरा घोडा भित्तामा हिनहिनारहेका भारतीय कलाकार सारफुद्दिन अहमेदका चित्रको प्रदर्शनी भइरहेको छ । कलकत्तानिवासी भारतीय कलाकार सारफुद्दिन अहमेदको ‘२९’ शीर्षकको कला प्रदर्शनीको आयोजना बिके आर्ट ग्यालरीले गरेको हो । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आइतबारदेखि सुरु भएको चार दिने प्रदर्शनीको उद्घाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले गरे ।

उनले कलाकार अहमेदले गतिशील घोडामार्फत समसामयिक विषलाई प्रस्तुत गरेको धारणा व्यक्त गरे । उनले भने, ‘क्यानभासमा प्रस्तुत घोडाले सामाजिक, राजनीतिक, सांस्कृतिक तथा श्रमप्रतिको विश्वासलाई उठान गरेको छ ।’ कलाकार अहमेदले क्यानभासमा गतिशील घोडा बनाएको जनाउँदै नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले चित्रमा रेखाको प्रयोग निकै ओजपूर्ण ढंगले गरिएको बताए ।

उनले भने, ‘प्रदर्शित चित्रमा भारत तथा नेपालका सांस्कृतिक तथा सामाजिक विषय कलात्मक रुपमा प्रस्तुत भएका छन् । साथै कलाकारले आफ्नो मनोभावनालाई गहन ढंगले क्यानभासमा चित्रण गरेको अनुभूत गर्न सकिन्छ ।’ कलाकार अहमेदले नेपाल र भारतका सांस्कृतिक समबन्धलाई चित्रमा उतार्ने जमर्को गरेको बताए । उनले क्यानभासमा गतिशील घोडालाई परिश्रम, मिहिनेत र धैर्यसँग तुलना गर्दै चित्र बनाएको सुनाए ।

उनले काठमाडौं उपत्यकाका मठ–मन्दिर तथा हिमाललाई कलात्मक रूपमा चित्रमा उधिनेका छन् । प्रदर्शनीमा २९ वटा चित्र राखिएको जानकारी दिँदै कलाकार अहमेदले भने, ‘नेपाल र भारतबीचको सदियौँदेखिको सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई चित्रमार्फत देखाउने कोशिस गरेको हुँ ।’ नेपालको संस्कृति र प्रकृतिबाट आफू निकै प्रभावित भएको बताउँदै कलाकार अहमेदले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन कला प्रदर्शनीले सहयोग गर्ने विचार व्यक्त गरे ।

बिके आर्ट ग्यालरीका सञ्चालक नरबहादुर बिकेले दुई देशको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने लक्ष्य राखेर प्रदर्शनीको आयोजना गरिएको बताए । उनले नेपाली कला र कलाकारलाई विदेशमा चिनाउने उद्देश्य ग्यालरीको रहेको बताउँदै नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउन प्रदर्शनीले सहयोग गर्ने जिकिर गरे । उनले भने, ‘नेपालमा विदेशी कलाकार ल्याई सांस्कृतिक सम्बन्धसँगै कलाको सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेर प्रदर्शनी गरिएको हो ।’

प्रतिक्रिया