तस्बिरमा नुवाकोट

नुवाकोट । विश्व फोटोग्राफी दिवसको अवसर पारेर फोटो प्रतियोगिता तथा प्रदर्शनी सुरु भएको छ । ‘लाइफ अफ नुवाकोट’ शीर्षकमा सोमबारबाट सुरु भएको उक्त प्रदर्शनीमा नुवाकोटको जनजीवन र भूकम्पपछिको पुनर्निर्माणका विषयसँग सम्बन्धित तस्बिर राखिएको छ ।  प्रदर्शनीको उद्घाटन जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले गर्दै नुवाकोटलाई तस्बिर प्रदर्शनीमार्फत चिनाउने कार्य सह्रानीय रहेको बताए ।

उनले नुवाकोटको जनजीवन र सामाजिक अवस्थालाई तस्बिरले केही हदसम्म भए पनि समेटेको धारणा व्यक्त गरे ।
भारत सरकारको सहयोगमा सञ्चालित सामाजिक प्राविधिक सहजीकरण परियोजनाको आयोजनामा भूकम्पपश्चात्को नुवाकोटको जनजीवन झल्काउने र नुवाकोटको पुनर्निर्माणको अवस्थालाई तस्बिरमार्फत प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिता तथा प्रदर्शनीमा नुवाकोटको जनजीवन विधाका उत्कृष्ट तीन र पुनर्निर्माण विधाका उत्कृष्ट तीन गरी ६ जना फोटोग्राफरलाई पुरस्कार तथा सम्मान गरियो । जसमा नुवाकोटको जनजीवन विधातर्फ सुरज श्रेष्ठले पहिलो स्थान हात पारे भने विक्रम तिमल्सिना दोस्रो भए । यस्तै, पुनर्निर्माण विधा तर्फसुवास श्रेष्ठले पहिलो र दोस्रो स्थान हात पारे भने नुवाकोटको जनजीवन विधामा तेस्रो पनि भए ।

पुनर्निर्माण विधातर्फ विक्रम तिमल्सिना तेस्रो भए । दुई विधामा वितरण गरिएको ६ वटा उत्कृष्ट तस्बिरमध्ये सुवास श्रेष्ठका तीनवटा तस्बिर उत्कृष्ट ठहरिए । त्यस्तै, विक्रम तिमल्सिनाका दुईवटा तस्बिर उत्कृष्ट भए । प्रदर्शनीमा ‘लाइफ अफ नुवाकोट’ र पुनर्निर्माण गरी दुई विधामा ४ सय ९० तस्बिर प्राप्त भएको आयोजकले जानकारी दियो । जसमा छानिएका ७६ तस्बिर प्रदर्शनीमा राखिएको छ ।

उक्त प्रतियोगितामा तीनजना स्वदेशी र एकजना विदेशी फोटोग्राफर निर्णायक रहेका थिए । नुवाकोटमै पहिलोपटक फोटो प्रतियोगिता गरिएको प्रदर्शनीका संयोजक किरण श्रेष्ठले बताए । उनले भने, ‘नुवाकोटको जनजीवन र पुनर्निर्माण झल्काउने तस्बिर प्रदर्शनी गरी यहाँको पर्यटन विकासमा टेवा पु¥याउने आशाको साथ प्रतियोगिता गरिएको हो ।’ प्रदर्शनी ८ भदौसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया