सतीदेवीको शव बोक्दै कुमाल

एक्काइसौँ शताब्दीका एक शिव छन्, जो मृत सतीदेवीलाई काँधमा बोकेर हिँड्छन् । एकातर्फ दुःख, अर्कातर्फ आक्रोश छ । देब्रे काँधमा बोकिएको सतीदेवीको लच्किएको शरीर कम्मरसम्म झरेको छ ।

जीवनको उत्तराद्र्धमा छोराछोरीहरूको प्रशस्त हेरविचार पाए पनि सत्ययुगकी सतीदेवी सरी अफ्नी लक्ष्मीमाया नहुँदा कालु कुमाले आफूलाई एकांकी ठान्ने गरेका छन् । उनका अघि अरू सबै आफन्त भएर पनि शून्यजस्तै हुन्छ । आफूले आफैँलाई सान्त्वना दिनका लागि उनले आफैँलाई मूर्तीकरण गरेका छन् र सतीदेवीको मूर्ति बनाउन थाले । उनको आफ्नो एक्लोपन मेट्न दैनिक ज्यासलमा जाने गर्छन र महिलाका रूप सतीदेवी, बूढी आमा, वसुन्धरा आदिको मूर्ति बनाउँदै आफूलाई भुलाउने प्रयास गर्छन् ।

एक फिट अग्लो मूर्तिमा कुमालेले शिव र सतीको मूर्तीकरण गरी एउटा नौलो काम गरेका छन् । लक्ष्मीमायाले उनलाई खेतमा काम नगरी मूर्ति मात्र बनाउन प्रेरणा दिइन् । उनले पतिको रुचिलाई प्रोत्साहन गरिरहीन् । पत्नी लक्ष्मीमाया अहिले हात्तीवन, उद्योगमार्ग घरमा छैनन् । संवादका क्रममा उनले आफ्नी सतीदेवीलाई सम्झिए र आँखाबाट आँशु बगाए । उनको त्यो भावबाट प्रष्ट हुन्थ्यो उनी पत्नीलाई कति सम्झँदै छन् भन्ने । विगतलाई सम्झिएर भक्कान्निएका उनी खुलेर कुरा गर्न सकिरहेका थिएनन् ।

यति वेला उनलाई कुरा भन्दा कामले नै नेपालको क्रोधकला शिरोमणि बनाइदिएको छ । हालसम्म उनले महाकाल, भैरव, रूद्र आदिका क्रोध मुद्रा र अन्य साना ठूला गरी ६००. मूर्ति बनाइसकेका छन् । ८७ वषको उमेरमा हिँड्दै गर्दा पनि उनी केही न केही बनाइरहेका छन् । सायद आफूलाई व्यस्त राख्ने प्रयास गर्दैछन् । त्यतिकै बस्दा पत्नीको यादले गाह्रो हुने भएकाले होला ।

एका छेउमा शयनमा मस्त रहेका गणेश पनि उनको पछिल्लो कृति हो, जस्को उचाइ १० इञ्चको छ । शायद शयन मुद्राको यो गणेशको मूर्ति नेपालमा पहिलो हुनुपर्छ जस्तो पाटन हौगलमा शयन मुद्रामै गौतम बुद्धको मूर्ति बनाउने श्रेय कृष्णबहादुर राजकर्णिकारले पाएको उनका छोरा घनश्याम राजकर्णिकार जिकिर गर्छन् । ‘यस्तो बु्ढ्यौलीमा पनि बुवा कल्पना र विचारमा डुबिरहनुहुन्छ,’ उनका साहिँला सुपुत्र मूर्तिकार राकेश अवालेले बताए ।

राकेशलगायत उनका अन्य छोराहरू पनि अहिले बाबुकै पदचिन्हमा लागेर मूर्ति बनाउने काममा लागेका छन् । राकेशकै प्रबन्ध निर्देशकत्वमा अहिले हात्तीवनमा कालु आर्टस एन्ड ह्यान्डिक्रयाफ्ट प्रालि विसं २०६३ भदौदेखि सञ्चालित छ । प्रालिले कुमालेसँग मूर्तिको पहिलो मैन प्रारुप मूल्य तिरेरै किन्छ । त्यसैलाई प्रालिले प्रायः तामाको मूर्ति बनाउँछ । त्यस्ता मूर्ति कतिपय अर्डरमा आउँछन् भने कतिपय कुमालेका आफ्नै स्वतःफूर्त कल्पनाबाट बनेका हुन्छन् । भर्खरै बन्दै गरेको दुई किसानको मुक्कामुक्की उनको प्रारम्भिक जीवनको प्रतिविम्ब मान्न सकिन्छ । उनी आफ्नो पृष्ठभूमि र धरातल पनि कहाँ भुल्न सक्छन् र ?

हेर्दा धातुका यस्ता मूर्ति हातले धातु नै कुँदेर बनाइएको हो कि भन्ने लागे पनि त्यस्तो होइन । मौरीको चाकाबाट प्राप्त मैन किनेर त्यसलाई कपास, धागो, सिलकु, चायगुजस्ता अनेक उपकरणको प्रयोग गरी रूप दिइन्छ । त्यसलाई आवश्यकतानुसार हाकुचा, गठीचा, पहेँलो, मसिनो र कडा माटो आदिले लेपन गरिन्छ । सुकेपछि त्यसलाई भुसले छोपिन्छ । त्यो पनि सुकेपछि त्यसमाथि धातु पगालेर हालिन्छ र भट्टीमा लगी पोलिन्छ । यसबाट मैन झरेर जान्छ । पोलिएको माटो उप्काएपछि मूर्तिको आकार आउँछ । त्यसलाई पोलिस गरेपछि मूर्ति तयार हुन्छ ।

एक सपाट मूर्तिमा आँखा, ओठ, दाँत, कान, गाला, हात तथा भावभंगिमा वा मुद्रा आदि सन्तुलन र अनुपात मिलाउनु नै निकै गाह्रो काम हो । त्यसमाथि एकपछि अर्काे खप्टेका मूर्ति छन् भने तिनको समन्वय गर्नु कम्ती सहज काम होइन । वज्रभैरव महिष संवर मूर्ति त अरूले नसकेर कुमालेले तीन वर्ष लगाएर पूरा गरे जुन अहिले भिक्टोरिया एन्ड एल्बर्ट म्युजियम लन्डनमा पनि राखिएको छ । ‘मलाई भगवान्ले दिएको शक्ति हो यो,’ कुमाले भने ।

उनी आफ्ना गुरुको ध्यान र धूपबत्ती पनि गर्छन् । निदाएका वेला गुरुले आएर मूर्ति निर्माणमा निर्देशनसमेत दिने गरेको उनले बताए । ‘मैले जीवनमा एक घण्टा मात्र सुतेर पनि काम गरेँ, मूर्तिकलामा लाग्नेले आफैँ मेहेनत गर्नुपर्छ,’ उनले भने । छोराहरू र आफ्नो काम गराइमा फरक पाए पनि तिनलाई मिहिनेत गर्न उनले सुझाब दिने शैलीमा भने । अरूको नक्कल गरेर छिनमै मूर्ति तयार नगर्न पनि उनी यस क्षेत्रमा लाग्नेहरूलाई आग्रह गर्छन् । आधुनिकताले कला क्षेत्रको मूल्य ह्रास भएकामा उनी चिन्तित छन् ।

यति वेला उनी भैरवको मकुण्डो, वसुन्धरा, मञ्जुश्री, वज्रयोगिनी, नमोबुद्ध, ब्रह्मा, गरुड आदि बनाउँदैछन् । नेपालको एक मात्र उत्तर बग्ने कर्मनशा खोला छेउमा बस्ने कालु र उनका छोराहरू भने मूर्तिकला कर्मलाई संस्थागत बनाई नेपाली मूर्तिकलाको विकासमा लाग्ने र आफ्नो कर्मलाई अझ बलियो बनाउने प्रण गर्छन् । पत्रकारहरूलाई हौसला दिन उनी र छोराहरूको सहयोगमा सोफाज–लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार स्थापना गरिएको छ ।

आफ्नो कलायात्राको हीरक उत्सव मनाउन लागेका कुमालेका पहिलेका र पछिल्लो कालका मूर्तिको प्रदर्शन, वृत्तचित्र निर्माण र उनको व्यक्तित्व र कृतित्वबारेको पुस्तक प्रकाशनसमेत आगामी महिना हुँदैछ । खुसीको कुरा के पनि छ भने, अहिले कुमालेका छोरा राकेश र राजेश मात्र होइन, नाति रोजेश अवालेमा पनि मूर्तिकला हस्तान्तरण भइसकेकाले नेपालमा मूर्तिकलाको भविष्य उज्यालो भएको ठोकृुवा गर्न सकिन्छ । यसले उनीहरूको तीनै पुस्ता एउटै पेसामा एकैपटक देखिँदै छ । यो कमैमा पाइन्छ ।

प्रतिक्रिया