शल्यक्रियाले जोगियो दुई महिलाको ज्यान

कालिकोट । जिल्ला अस्पताल कालिकोटले दुई सुत्केरी महिलाको ज्यान जोगाएको छ । दुवैको शल्यक्रियाबाट ज्यान जोगिएको हो । ज्यान जोगिनेमा

रास्कोट नगरपालिका–१ लहरेलाकी २० वर्षीया सुनकेशा शाही र महावै गाउँपालिका–२ ओदा गाँउकी बसनाकुमारी शाही सिंह रहेका छन् ।

सुनकेशा लाई गम्भीर हालतमा जिल्ला अस्पताल लगिएको थियो । शुक्रबार राती डा.विष्णु श्रेष्ठ, भीष्म पोख्रेल र डा.नहकुल शाहीको टोलीले अप्रेसन गरेपश्चात् बच्चा र आमा खतरा मुक्त भएका थिए । उनले सकुशल छोरी जन्माइन् । जिल्ला अस्पताल कालिकोटका प्रमुख डा.भीष्म पोख्रेलले भने, ‘सुनकेशा शाहीको बच्चा उल्टो थियो । अगाडि साल निस्किएको थियो ।

बिरामी गम्भीर प्रकृतिको अवस्थामा अस्पताल आए पनि सफल शल्यक्रियाले उहाँको ज्यान जोगियो ।’ बिरामीसँगै आएकी सुनकेशाकी आमाजु सुशीला शाहीले भनिन्, ‘सबैको सहयोगले भाइबुहारीको ज्यान जोगियो । पहिलो बच्चा हो । गाउँमै जन्मिन्छ भन्ने सोचेका थियाँै । लामो समय बेथा लागेकाले गाउँकै स्वास्थ्य संस्थामा लगेका थियौँ । त्यहाँका अनमीहरूले सुत्केरीको अवस्था गम्भीर छ भनेर जिल्ला अस्पताल रिफर गरेपछि जिल्ला अस्पताल ल्यायौँ ।’

यस्तै बसनाकुमारीलाई सुत्केरी बेथा लागेपछि गाउँ नजिकै रहेको हिमालय सामुदायिक अस्पताल लगिएको थियो । जसले गत वर्षदेखि मात्र बर्थिङ सेन्टर सञ्चालन गरेको छ । त्यहाबाट उनको उपचार सम्भव नभएपछि तत्काल जिल्ला अस्पताल रिफर गरियो । जिल्ला अस्पताल ल्याएपछि उनको पनि सफल अप्रेसन भयो । डा.भीष्म पोख्रेलका अनुसार उनको समस्या पाठेघरको मुख चार सेन्टिमिटरभन्दा बढी नखुलेको र पहिरो पर्स स्टेपको पर्स पीडा नै निकै लामो भएको थियो । यो जटिलताको समस्या भएकाले त्यहाँका स्वास्थ्यकर्मीहरूले जिल्ला अस्पताल रिफर गरेका थिए ।

विगतका दिनमा सुत्केरी हुँदा जिल्ला अस्पतालबाट हुने शल्यक्रियाबाट धेरै महिलाले ज्यान गुमाइसकेपछि पछिल्लो समय सुत्केरी हुन जिल्ला अस्पतालमा कमै महिलाहरू आउने गरे थिए । तर, डा.भीष्म पोख्रेलको आगमनसँगै शल्यक्रिया गराउनेको संख्यामा वृद्धि भएको छ । ज्यानमारा अस्पतालको रूपमा चिनिँदै आएको जिल्ला अस्पताल कालिकोटमा पछिल्लो समय सुधारात्मक हुँदै गएको पाइएको छ । दक्षजनशक्तिको अभावमा केहीसमय पहिले लगातार सुत्केरीको मृत्यु हुँदै आएको जिल्ला अस्पतालमा एकै दिन दुई वटा सुत्केरीको सफल अपे्रसन गरेको छ ।

नयाँ भवन बन्दै
अब भने जिल्लामा ५० शय्याको अस्पताल भवन निर्माण हुँदै छ । अघिल्लो आवदेखि भवन निर्माण थालिएको हो । ६० करोडको लागतमा भवन निर्माण सुरु गरिए पनि उक्त भवन सम्पन्न हुँदासम्म सेवा प्रवाहमा कठिनाइ भइरहने देखिएको प्रमुख भीष्म पोख्रेलले बताए । सुपर स्टार निर्माण सेवाले निर्माण थालेका हुन् । अस्पताल प्रमुख डा. भीष्म पोख्रेलका अनुसार नयाँ भवन निर्माणपछि बिरामीलाई दिइने सेवा थप प्रभावकारी हुनेछ । सुत्केरी सेवालगायत विशेषज्ञ सेवा प्रवाह गर्न नयाँ भवन निर्माण भएमा सजिलो हुने उनले बताए ।

दीर्घरोगीजस्तै बनेर थलिएको जिल्ला अस्पताल कालिकोटमा आवश्यक भौतिक पूर्वाधार र प्रयाप्त जनशक्ति नहुँदा बिरामीसँगै स्वास्थ्यकर्मीले हैरानी भोगिरहेका छन् । पछिल्ला केही वर्षयता डाक्टरहरू अस्पतालमा नियमित बस्न थालेपछि बिरामीको संख्यामा उल्लेख्य वृद्धि भए पनि यहाँ हरेक चिजको अभाव छ । ‘बिरामी राख्ने ठाउँको अभाव छ । प्रर्याप्त म्यानपावर पनि छैन । भौतिक हिसाबले पुग्दो भएन’, जिल्ला अस्पताल प्रमुख डा.भीष्म पोख्रेरले भने ।

‘१५ शय्याको अस्पतालको स्तर त ठिकै छ तर अब त्यसले नधान्ने भयो । बिरामीलाई कहाँ राख्ने भन्ने सकस हुन्छ । अरू बिरामी पनि भर्ना हुन्छन् । एउटा घरमा अप्रेसन गरेकालाई स्टेचरबाट लिएर अर्को घरमा राख्नुपर्छ । के गर्नु ठाउँ पनि छैन नर्सिङ स्टाफ पनि कम छन्’, डा.पोख्रेरलले भने, ‘अप्रेसनका लागि प्राप्त मात्रामा उपकरणहरू छैनन् । यदि, त्यो भन्दा बढीको अपे्रसन गर्नुप¥यो भने त झनै ठूलो समस्या पर्नेवाला छ ।’ प्रशस्त ठाउँ नभएर डाक्टरलाई काम गर्न कठिन रहेको अस्पताल विकास समितिका अध्यक्ष सरोज बोगटीले बताए । हुन त नयाँ भवन बन्दै छ ।

कति वर्षमा सकिने हो । कम्तीमा अस्पतालको स्तरवृद्धि भएमा स्वतः जनशक्ति थपिन्थ्यो । सेवा अलि सहज हुन्थ्यो’, अस्पताल विकास समितिका बोगटीले भने । उनले भने, ‘विगतमा उपकरण र जनशक्तिको अभावमा धेरैले ज्यान गुमाउनु परेको थियो । अहिले पछिल्लो समय केही सुधार हँुदै गएको छ । ६ महिनादेखि एम्बुलेन्सविहीन थियो । अब केहीदिनमै जिल्ला अस्पतालमा बिरामी बोक्ने नयाँ एम्बुलेन्स पनि खरिद गरी सेवा सुचारु गर्ने बताए ।

प्रतिक्रिया