वीरगञ्जमा चलचित्र महोत्सव

काठमाडौं । नेपाली चलचित्रको आन्तरिक बजारलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेर तीन दिने ‘चलचित्र महोत्सव’ हुने भएको छ । नेपाल चलचित्र विकास बोर्ड र नेपाल चलचित्र निर्माता संघले वीरगञ्जमा उक्त महोत्सव गर्न लागेका हुन् ।

१ असोजदेखि ३ गतेसम्म हुने ‘चलचित्र महोत्सव’ को नेपाल उद्योग वाणिज्य महासंघ सह–आयोजक रहेको छ । असोज १ गतेलाई चलचित्र क्षेत्रले ‘सिनेमा दिवस’ को रूपमा मनाउँदै आएको छ ।

नेपाली चलचित्रको बजार विस्तार गर्ने लक्ष्यका साथ ‘चलचित्र महोत्सव’ गर्न लागिएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । उनका अनुसार महोत्सवमा भोजपुरी, मैथिली, नेपाली भाषाका चलचित्र प्रदर्शन, स्थानीय संस्कृति झल्कने झाँकी प्रदर्शनी, चलचित्रका बारेमा परिचर्चा तथा राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुति रहनेछ ।

यसैबीच, संघका अध्यक्ष अधिकारीले आइतबार वीरगञ्जका होटल तथा पर्यटन व्यवसायी संघसँग महोत्सवको बारेमा छलफल गरेको बताए ।

प्रतिक्रिया