अरुणखोला पुलमा क्षति, ठूला सवारी चल्न रोक

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको अरुणखोला पुलमा ट्रकले ठक्कर दिँदा पुल भाँचिएको छ । पुलको पूर्व–दक्षिणको भाग अन्दाजी १० मिटर लम्बाइ र १ दशमलव ५ मिटर तल (गहिराई) पुल भाँचिएपछि सवारी आवागमन बन्द हुन पुगेको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुलमा क्षति पुगी करिब दुई मिटर तल लच्किएकाले पुलबाट ठूला सवारी साधान आवतजावत गर्न नसक्ने अवस्था भएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । ट्रकसमेत पुलको फलाममा अड्किएको थियो । ट्रक निकालेपछि पनि पुलबाट ठूला सवारीसाधन आवतजावतमा समस्या भएको उनले बताए । बुधबार बिहान पुलमा क्षति पुगेपछि यात्रुवाहक बससमेत रोकिएका थिए ।

प्रहरीले पूर्वबाट आउने सवारीलाई यात्रु उतारे पूर्व नै फर्किने र पश्चिमबाट आएका सवारीलाई समेत यात्रु उतारेर पश्चिम नै फर्किने व्यवस्था मिलाएको थियो । बिहान ११ बजेपछि अरुणखोला पुलभन्दा अन्दाजी एक किमि उत्तर करमघारी गाउँबाट ठूला सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गरिएको थियो । साना सवारीसाधनलाई भने सोही पुलबाट आवतजावत गराई बाटो सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

तत्काल पुल मर्मत गरेर सञ्चालनमा ल्याउन ढिलाइ हुने भएपछि पुल नजिक रहेको वैकल्पिक बाटो प्रयोग गरेर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको छ । खोलामा नदीजन्य पदार्थ लोड गर्न जाने ट्याक्टर हिँड्ने बाटोलाई वैकल्पिक रूपमा प्रयोग गरिएको हो ।

वैकल्पिक बाटोबाहेक अर्को स्थानमा पनि डाइभर्सन गरेर सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको छ । डाइभर्सन बाटो बिहीबारसम्म तयार भएपछि दोहोरो सवारीसाधन सञ्चालनमा आउन सक्ने डिभिजन सडक कार्यालय बुटवलका इन्जिनियर हरि सुवेदीले बताए । निरन्तर पानी प¥यो भने वैकल्पिक बाटो र निर्माण गरिन लागेको डाइभर्सनबाट पनि सवारीसाधन सञ्चालनमा ल्याउन कठिन हुने देखिएको छ ।

ट्रकको ठक्करले पुलको ‘भल्टिकल मेम्बर’ भाँचिएको छ । जसका कारण पुलको एक भाग धस्सिएकाले सवारी साधन आवतजावत बन्द गर्नु परेको इन्जिनियर सुवेदीले बताए । पुलको कुनै एउटा ‘भल्टिकल मेम्बर’ भाँचिएपछि अरू मेम्बर पनि क्रमशः भाँचिने सम्भावना हुन्छ । भाँचिएको भाग नफेरेसम्म पुल सञ्चालनमा आउन सक्दैन, सुवेदीले भने । पुलको अवस्था बुझेर मर्मत कार्यअघि बढाउन विभागबाट माथिल्ला प्राविधिक आउन लागेको उनले बताए । काम सुरु भएको दुई÷तीन दिनपछि मात्र पुल सञ्चालन हुने उनको भनाइ छ ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार तत्काल पुल मर्मत हुन सक्ने सम्भावना कम भएकाले चितवन प्रहरी र बुटवल प्रहरीलाई खबर गरी वैकल्पिक बाटोको प्रयोग गरि सवारी सञ्चालन गरिएको छ ।

प्रतिक्रिया