चिकित्सक संघद्वारा आन्दोलनको धम्की

काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका चिकित्सकहरूको पदस्थापन समायोजन ऐन र जेष्ठता विपरीत भएको भन्दै गम्भीर ध्यानाकर्षण गरेको छ । संघले मंगलबारै विज्ञप्ति जारी गरी पूर्वग्राहीरूपमा गरिएको पदस्थापन तत्कालै सच्याउन माग गरेको हो ।

संघले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कुनै व्यक्तिविशेषलाई लक्षित गर्दै शक्ति र दबाबमा समायोजन र पदस्थापन गरिएकोप्रति आपत्ति प्रकट गरेको हो । मन्त्रालयको यस्ता प्रकारको विवादास्पद र गैरन्यायिक निर्णयले समग्र स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पुग्ने निश्चित भएको ठहर गर्दै संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निश्चित कार्यविधि र मापदण्ड तयार गरी वैज्ञानिक एवं पारदर्शीरूपमा पदस्थापन गर्न माग गरेको हो ।

संघले ऐन र कानुनअनुसार निश्चित कार्यविधि र मापदण्डअनुसार वैज्ञानिक र पारदर्शीरूपमा पदस्थापन गन समेत भनेको छ । चिकित्सकहरूको विवादास्पद र पूर्वाग्रही ढंगमा पदस्थापन भएको ठहर गर्दै संघले तत्कालै नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिएको हो । ‘चिकित्सकहरूको पदस्थापन वर्तमान समायोजन ऐन र जेष्ठताबमोजिम नभएको सम्बन्धमा नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ, संघका महासचिव डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पूर्वाग्रही ढंगबाट कुनै व्यक्ति विशेषलाई लक्षित गर्दै शक्ति र दबाबमा समायोजन र पदस्थापन गरिएकोप्रति संघ आपत्ति प्रकट गर्दछ ।’

मन्त्रालयबाट पछिल्लो समयमा भइरहेको पदस्थापनको काममा तीन वटा आरोप लाग्न थालेको छ । पदस्थापनका क्रममा मन्त्रालयमाथि लागेको पहिलो र सबैभन्दा ठूलो आरोप हो, आर्थिक चलखेलको । दोस्रो आरोप हो, राजनीतिक आस्थाका र पहुँचका आधारमा हुने पक्षपात र तेस्रो आरोप हो, केही कर्मचारीको समायोजनका क्रममा जानीजानी नाम छुटाइदिनु । पदस्थापनका क्रममा कर्मचारीलाई रोजेको कार्यालय मिलाउने भन्दै ८० लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको मन्त्रालयलाई आरोप लागेको छ ।

प्रतिक्रिया