काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको बोर्डको सदस्य पदका लागि आगामी २८ भदौमा हुने निर्वाचनलाई ८ जना नर्सहरूले उम्मेदवारी दिएका छन् । दाबी विरोधको समय मंगलबारसम्म राखिएको भए पनि निश्चित समय सकिएपछि निर्वाचन समितिले आठजना उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।
निर्वाचन समितिले आइतबार पाँच बजेसम्मका लागि उम्मेदवारी दर्ता गराउन समय दिएको र तोकिएको समयभित्र आठ जना नर्सले रीतपूर्वक उम्मेदवारी दिएको नर्सिङ संघकी अध्यक्ष तारा पोख्रेलले जानकारी दिइन् ।
उम्मेदवारी दिनेहरूमा प्रा. डा. तारा शाह, कृष्णकुमारी पौडेल, तुलसादेवी अधिकारी, सीता कार्की, सरला केसी, जीता बराल, मित्रकुमारी देवकोटा र रीना श्रेष्ठ रहेका छन् । आठ जनामध्ये पाँच जना नेकपा निकट र तीन जना कांग्रेस निकटका नर्सहरू हुन् । तर, सबैको उम्मेदवारी स्वतन्त्ररूपमा परेको हो । यसअघि नेपाल नर्सिङ एसोसियनस (नान्) को चुनावको समयमा काउन्सिलका लागि तीन सदस्यको पनि मतदान हुने गर्दथ्यो ।
निर्वाचनमा संघको सदस्यले मात्र मतदान गर्न पाउने व्यवस्था हुँदा हाल त्यसको काउन्सिलमा दर्ता भएका नर्सहरूले विरोध गरेका थिए । हाल नर्सिङ संघमा आवद्ध नर्सले मात्र मतदान गर्न पाउने व्यवस्था छ । काउन्सिलमा हालसम्म अनमीसहित ८९ हजारभन्दा बढी नर्सहरू छन् । तर, नर्सिङ संघमा हाल करिब १२ हजार नर्सहरू सदस्य छन् । उनीहरूले ठीक एक महिनापछि हुने निर्वाचनमार्फत उम्मेदवारमध्येबाट काउन्सिलको सदस्यका लागि तीन जना चयन गर्नेछन् ।
उम्मेदवारी दिनेमध्ये जिता बराल गत जेठमा नर्सिङ बेथितिको अन्त्यको लागि भन्दै आमरण अनशन बसेर चर्चा कमाएकी हुन् । काउन्सिलको सदस्य बन्नको लागि नर्सिङ संघको सदस्यता लिएको पाँच वर्ष पूरा भएको हुनुपर्ने प्रावधान छ । १५ सदस्यीय नेपाल नर्सिङ काउन्सिलमा हाल आठ जना मात्र पदाधिकारी रहेका छन् । आठ महिनादेखि रिक्त रहेको तीन सदस्य पदका लागि यस निर्वाचन हुन लागेको हो । अन्य रिक्त सदस्य पद विभिन्न निकायबाट नियुक्त हुनुपर्नेमा पनि अझै हुन सकेको छैन । निर्वाचनका लागि १२ हजार मतदाताको नामावली समेत सार्वजनिक गरिसकेको छ । संघको सदस्यता नलिएकाले भोट हाल्न पाउँदैनन् । काउन्सिलले सार्वजनिक गरेको सूचीअनुसार निर्वाचनमा १२ हजार ४१ जना मतदाताको नाम रहेको छ ।
प्रतिक्रिया