बाल मन्दिरका निर्देशक डंगोल पक्राउ

काठमाडौं । बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल बालक बेचबिखनको मुद्दामा पक्राउ परेका छन् । नेपाली बालबालिकालाई आफूले जन्माएको नक्कली कागजपत्र बनाएर बेलायत लैजान खोज्ने महिलाका मुख्य सहयोगी भएको भन्दै बाल मन्दिरका निर्देशक डंगोललाई प्रहरीले पक्राउ गरेको हो ।

बेलायती नागरिक डिना स्मिथलाई निर्देशक डंगोलले बालिका किनेर आफ्नो देश लैजाने प्रबन्ध मिलाइदिएको प्रहरीको आरोप छ । स्रोतका अनुसार केही दिनअघि बच्चा लिएर बेलायत उड्न लागेकी स्मिथलाई अध्यागमन विभागले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको थियो । स्मिथले एक गर्भपतन केन्द्रमा जन्मिएका बालिकालाई बाल मन्दिरका निर्देशक डंगोलले किनेर धर्मपुत्रीका रूपमा आफ्नो देश लैजान सघाएको बयान दिएलगत्तै प्रहरीले डंगोललाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले डंगोललाई तस्करीमा सघाएको आरोपमा बुधबार पक्राउ गरेको जानकारी दिएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले नेपालबाट बालबालिकालाई आफ्नो सन्तान भएको दाबी सहित बिदेश तस्करी गर्ने गिरोहलाई सघाउने डंगोल परिसरको नियन्त्रणमा रहेको बताए । उनले डंगोलविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान म्याद लिएर कारबाही सुरु भएको बताए । नेपालमा पर्यटक बनेर साउन ११ मा नेपाल प्रवेश गरेकी बेलायती महिला स्मिथलाई एउटा नवजात बालिकासहित बेलायत जानबाट अध्यागमन विभागले रोकेपछि घटनाको अनुसन्धान सुरु भएको थियो ।

उनले ललितपुरको महालक्ष्मी नगरपालिकाबाट शिशुको जन्मदर्ता प्रमाणपत्र साउन १२ मा भएको प्रमाणसहित प्रस्थान अनुमति मागेकी थिइन् । अध्यागमनले यो घटना स्वभाविक नभएको भन्दै उनलाई प्रस्थान अनुमति नदिई अनुसन्धान थालेको थियो । अध्यागमनको अनुसन्धानमा गैरकानुनी ढंगले शिशुलाई बेलायत लैजान खोजेको खुलेपछि प्रहरीसमेतको सहयोगमा छानबिन सुरु भएको थियो ।

प्रतिक्रिया