परममित्रको दुईतिहाइको उपहार

धेरै वर्षपछि दलित आन्दोलनका मेरा पुराना सहयात्रीसँग सिंहदरबारमा भेट भयो । मलाई उहाँसँग धेरैवेर बसेर इतिहासका दिनसम्झदै चिया खुवाउने मन थियो । तर, पहिले त उहाँ मलाई देखेर मुस्कराउन पनि अल्छि मान्नुभयो । तर, मैले नै बोलाएँ ।

उहाँ र म (हामी)ले कुनै जमानामा दलित र विद्यार्थी आन्दोलनका कैयन कार्यक्रमहरू सँगसँगै दिनरात खटेर सम्पन्न गरेका थियौँ । दलित समुदायको रूपान्तरण र मुक्तिको भाषण गरेका थियौँ । जोरपाटीभन्दा पर रहेको एउटा सानो सटरभित्र उहाँको सिलाइ पसलको सानो सटर, सटरको बीचमा पर्दा लगाएर बाहिर पसल र भित्रपट्टी किचेनसहितको खटिया । त्यसमा कोचाकोच गरेर हामीले कैयौँ रात बिताएका थियौँ, पकाउने भाँडा र थालहरू पुग्दो नहुदा कैयौँ छाक एउटै थालीमा मुछेर खाएका छौँ । दुःखको वेला सिलाइ पसलका सामान सार्ने भनेर थापाथलीको मेरो अफिसमा एक हजार रुपैयाँ माग्न आउनुभएको थियो । त्यति सकिएन, ५–६ सय दिएँ । त्यसवापत पछि एउटा पाइन्ट सिलाइदिनुभयो । हिसाव मिलाउदै गरौँला भन्नुभो, मैले त्यसैमा चित्त बुझाएँथे ।

जोरपाटीभन्दा पर रहेको एउटा सानो सटरभित्र उहाँको सिलाइ पसलको सानो सटर, सटरको बीचमा पर्दा लगाएर बाहिर पसल र भित्रपट्टी किचेनसहितको खटिया । त्यसमा कोचाकोच गरेर हामीले कैयौँ रात बिताएका थियौँ, पकाउने भाँडा र थालहरू पुग्दो नहुदा कैयौँ छाक एउटै थालीमा मुछेर खाएका छौँ । दुःखको वेला सिलाई पसलका सामान सार्ने भनेर थापाथलीको मेरो अफिसमा एक हजार रूपैयाँ माग्न आउनुभएको थियो

एउटा तिहारमा मुक्तिसमाजले देउसीभैलो कार्यक्रम राखेको थियो । अन्तिम कार्तिकतिर हो राती, उहाँ कमरेड माधव नेपालको घरमा देउसी खेल्ने भनेर बोलाउन आउनुभो, मेरो कोठामा । पातलो केटो, च्यापुहड्डी निस्केको गाला, पातलै सर्ट, जाडोले लुगलुग काँपिरहनु भएको थियो । दुई तिघ्राको बीचमा पाइन्ट फाटेपछि हातले सिएको, सिएको ठाउँमा सेतो धागो उनेको बाहिरै देखिइरहेको । मसँग पनि कहाँ राम्रो कपडा हुन्थ्यो र ? जिन्सको पुरानो ज्याकेट थियो, जाडोले काँपेको देखेर साथीलाई त्यही दिएँँ । त्यसको न्यानोले उहाँको काँप हरायो ।

०५७ सालतिर हो, पार्टीको संगठित सदस्यता भर्नको लागि धेरैजनासँग उहाँले एक सय ३५ रूपैयाँका दरले उठाउनुभयो, मैले पनि दिएँ । तर, उहाँले न त फर्म सबैलाई भराउनुभयो, त्यसलाई न त मुक्तिसमाज केन्द्रीय कार्यालयमा पु¥याउनु भयो न पार्टी हेडक्वार्टरमा । पछि मैले ताकेता गर्दा कहिले अञ्चलको फ्राक्सन त कहिले जिल्लामा पठाएको छु भनेर टार्नुभयो । साथीले खर्चपानी चलाउनु भो, ठिकै छ भनियो ।

धेरै वर्षपछि ०६६ सालमा म डिएनएफ्को उपमहासचिव लड्दै गर्दा उहाँलाई मतदाताको रूपमा भेटेर मैले भोट मागे । तर, उहाँले सरी कमरेड तपाईं अनन्य मित्र भए पनि भोट दिन सक्दिन, पार्टी निर्देशनका कारणले मैले आफ्नै शत्रुलाई पनि भोट हाल्नै पर्छ, उम्मेदवारी फिर्ता लिनुस् भनेर सल्लाह दिनुभयो । अन्ततः मैले उहाँजस्तै मित्रहरूका कारणले चुनाव जितिनँ । ठिकै छ, साथीहरूको विवेक यति नै रैछ भनेर चित्त बुझाइयो । त्यसपछि पनि जिल्लामा जाँदा उहाँलाई नभेटी मलाई चित्तै बुझ्दैनथ्यो, भेटेर चिया खाएर नै छुट्टिन्थ्यौँ । जिल्ला कमिटीको सहसचिवमा उहाँ पराजित भएपछि, अब यी बुर्जुवा बाहुनहरूको पार्टीमा बसेर काम छैन सरोजजी, विकल्प सोच्नुपर्छ भनेर मलाई भन्दै हुनुहुन्थ्यो ।

केही वर्षअगाडि मात्र उहाँ जिल्ला समन्वय समितिको सभापतिमा मनोनित हुनुभयो । उहाँ मनोनित हुँदा हामीलाई गर्व लागेको छ । बधाईको फोनमा हाम्रो लामै कुराकानी भएथ्यो । उहाँ सरकारी गाडी चढ्न थाल्नुभयो । पछिल्ला दिनमा उहाँले हाम्रा फोन नउठाउने र उठाउन नहुने दिन सुरु भयो । तीन महिना अगाडि भने म जिल्लैमा हुँदा फोन गर्नुभयो र भन्नुभयो, ‘मुख्यमन्त्रीको उपस्थितिमा छुवाछूतमुक्त दिवस भव्यताका साथ आयोजना गर्दैछौँ सहभागी हुनुप¥यो, बजेट धेरै छैन एकदिन खानाको व्यवस्थाचैंँ गरौँला, आउने–जाने व्यवस्था आफैँले गर्ने हो ।’

छुवाछूतमुक्त दिवसमा जिल्ला सभापतिले सम्झेर बोलाउँदा आफ्नै खर्चमा पनि गइन्छ नी भनेर मैले आफ्नो भूमिकाको बारेमा सोधेँ । उनले त्यस्तो भूमिका केही हुन्न ऐक्यबद्धता जनाउने हो भनेर जवाफ दिनुभयो । ए साथी, पार्टीको राजनीतिक पोर्टोफोलियो त तिम्रोभन्दा त मेरै माथिल्लो हो नि, किन यस्तो होच्याएर बोल्यौ भन्ने प्रश्नले मलाई घोच्यो । अनि मैले शेरधन आउने कार्यक्रममा म आउँदिन भनेर जवाफ दिएँ । जबकि, करिब १० महिना शेरधन हाम्रो संगठनमा इन्चार्ज भएकाले उनको चित्र र चरित्र मलाई राम्ररी थाहा छ ।

आज सिंहदरबार संसदीय दलको कार्यालयमा उनीसँग जम्काभेट भयो । मित्रको ख्याउटे गालामा प्रशस्तै मासु भरिएछ । राज्यले कोटपेन्ट पनि गत्तिलै दिएको रहेछ । सरकारी गाडी चढेर २–४ जना पछि लगाउनु हुँदोरहेछ । त्यो पनि हाम्रा लागि त गजबै हो । तथापि, यत्रो लगानीका बाबजुद उहाँले अझ पनि कमै पाउनु भएको हो ।

यो भेटमा मैले मित्रको रूपमा भनेँ, ‘एउटै जिल्लामा छौँ, तपाईं ठाउँमा पुग्नुभयो, खै त सम्झिनु भएन ?’ उहाँले सभापतिको रवाफमा जवाफ दिनुभयो ‘अब के तपाइलार्इं बोकीबोकी हिँड्नु त मैले ?? हा हा हा ।’ मालिकको भाषा, सामन्ती शैली, बाहुनको लवज । हैट् । यी बदलाव सँगैसँगै चरित्र पनि परिवर्तन भएछ, साथीमा । उहाँले आफूलाई त उपल्लो जातिमा रूपान्तरण गर्नुभएछ ।

पहिले मलाई उहाँका शब्द सामान्य लागे पनि पछि त्यसले साह्रै पोल्यो । मैले ‘तपाईंले बोक्नै पर्दैन मित्र, पहिलेजस्तो हुनुहुन्थ्यो, त्यस्तै व्यवहार गरे काफी ’ भनेर जवाफ दिएँ । उहाँ आफू निकै व्यस्त भएजस्तो ‘तपाईंसँग बसेर कुरा गरौँला’ भन्दै सटासट् हिँड्नुभयो । काम नगर्ने, नसक्ने वा उनीहरूलाई फाइदा नहुने भएपछि आफ्नाहरूलाई टार्ने सामन्ती चिन्तनका नेता कार्यकर्ताहरूको एउटा थेगो छ, ‘बसेर कुरा गरौँला’ । उही शब्द त्यही शैली । केन्द्रीय दम्भ त उहाँको चिन्तनमा प्रष्ट देखिन्थ्यो । मैले मनमनै भने तिमीजस्ता पीपलपातेसँग बसेर कुरा गर्ने मलाई पो कहाँ फुर्सद छ र ??

प्रतिक्रिया