तरकारी बेचेर पढ्दै बालबालिका

हुम्ला । पछिल्लो समय जिल्लाको सदरमुकाम सिमकोट नजिकका गाउँमा उत्पादन भएको तरकारीले बालबालिकाको अध्ययनका लागि सहयोगी सावित हुन गएको छ ।

आफ्नै बारीमा उत्पादन भएको हरेक तरकारीलाई सिमकोट बजारमा बिक्री गरी आवश्यक पर्ने स्टेसनरीको सामान खरिद गरी विद्यालयमा अध्ययन गरीरहेका बालबालिका थुप्रै भेटिने गरेका छन् । आमाबुबाको आर्थिक हैसियत कमजोर हुँदा विद्यालय जान नपाएका बालबालिका पछिल्लो केही वर्ष तरकारीको सहयोगले विद्यालयमा पढ्ने अवसर पाएका छन् ।

हरेक शनिबार खुर्सानी, काँक्रा, टमाटर, स्याउ र अन्य फलफूल बिक्री गर्ने अनि आपूmुलाई चाहिने कपडा, घरको आवश्यकीय दैनिक उपभोगका सामग्री, किताब, कापीलगायत खरिद गरी घर फर्कनु खार्पुनाथ गाउँपालिका छिप्रा गाउँका सविता शाहीको नियमित काम हुन गएको छ । खेती गर्नमा आमाबुबा खटिएता पनि सदरमुकाम सिमकोट बिक्री गर्न बढीजसो बालबालिका नै देखिने गरेका छन् । खार्पुनाथ गाउँपालिका छिप्राबाट सात वर्षीया सविता शाही र ११ वर्षीय विपना शाही शनिबार सदरमुकाम सिमकोटमा रहेको टिबेटेन होटलमा गोलभेँडा बिक्री गर्दै थिए ।

दुबै जना छात्राले सानो छाप्रोमा आफूले सक्ने जति भारी बोकेर प्रत्येक शनिबार सदरमुकाम सिमकोटमा तरकारी बिक्री गर्न आउने गरेको विपना शाहीले बताइन् । गाउँमा उत्पादन भएको गोलभेँडा अर्गानिक हुने गरेको छ । कुनै पनि विषादी प्रयोग नगरिएको गोलभेँडा आकारमा साना भएता पनि यसको स्वाद अति नै कडा हुने गरेको छ । प्रतिकिलो दुई सय रुपैयाँमा बिक्री हुने गोलभेँडा घरको बारीमा प्रसस्त फलेको र यसलाई हरेक बिदाको दिनमा बिक्री गरी घर खर्च चलाएको विपनाले बताइन् ।

कक्षा ६ मा अध्ययन गर्ने सविता पनि तरकारी बिक्रीमा आएको पैसाले कापी, कलमलगायत स्टेसनरीमा खर्च गर्ने बताउँछिन् । छिप्रा गाउँबाट उकालो दुई घण्टा हिँडेर सिमकोट आएको सविताले बताइन् । उकालोमा भारीले हिँड्नका लागि केही असहज हुने गरेको भएता पनि घर फर्कंदा ओरालोमा जानको लागि सहज नै हुने गरेको बताए । तरकारी बिक्री गरेको पैसाले घरमा तेल, आपूmलगायत भाइबहिनीलाई कापीकलम लिने गरेको सविताले बताइन् । तरकारी बिक्री गर्दा एक शनिबारमा करिब दुई हजारसम्म आम्दानी हुने बालबालिका बताउँछन् ।

सदरमुकाम सिमकोटका रहेको विभिन्न होटेलहरूमा तरकारी बोकेर बालबालिका पुगेका हुन्छन् । सिमकोटमा रहेको कालिञ्चोक, विमानपथ, तल्लो बजारमा रहेको धूपी रुख लगायतका सर्वसाधारण बढी आवतजावत गर्ने क्षेत्रमा बालबालिकाको ठूलो उपस्थिति रहने गरेको छ । एकातिर ठूलो पर्व साउने पूर्णिमा नजिकिएको कारण नयाँ कपडा फेर्नका लागि पनि बालबालिकाले स्थानियस्तरमा उत्पादन हुने तरकारी र फलफूल बिक्रीमा ल्याउने गरेका छन् ।

सविताजस्तै सिमकोट नजिक रहेका डाँडाफया, ठेहे, हिल्दुम, बुराउँसे, लाँदु लगायतका गाउँबाट यसरी नियमित तरकारी र फलफूल बिक्री गरी अध्ययनमा लागेका थुप्रै बालबालिका सिमकोटमा दिनहुँ भेटिने गरेका छन् । एकातिर बालबालिकाको अधिकारमा लागेका थुप्रै संघसंस्था हुम्लामा कार्यरत भएको भएता पनि हाल बालबालिकाले ढुक्कसँग विद्यालयमा पढ्न पाइरहेका छैनन् ।

आर्थिक विपन्नताको कारण कोही बालबालिका एकाबिहानै ढाडमा दाउराको भारीसहित सिमकोट बजार पुग्ने गरेका छन् । घरमा एक छाक खान र लाउन नसक्नै अवस्थाका बालबालिकाको लागि बिहानबेलुका अध्ययनमा लाग्नुपर्ने समय घरखर्च जुटाउँदै समय जाने गरेको छ । जसको कारण अध्ययनमा कमजोर हुने गरेका छन् ।

प्रतिक्रिया