सोमपालको टोली च्याम्पियन

काठमाडौं । ग्लोबल ट्वान्टी– २० क्यानडाको उपाधि नेपाली खेलाडी सोमपाल कामीको टिम विनिपेग हक्सले जितेको छ । आइतबार राति भएको फाइनलमा भ्यानकुभर नाइटमाथि सुपर ओभरमा जित निकाल्दै उपाधि जितेको हो । फाइनल खेलमा पनि सोमपाल भने टिममा परेनन् ।

विनिपेग्सले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर १९२ रन बनाएको थियो । साइमान अनवरले ९० तथा क्रिस लिनले ३७ रनको योगदान गरे । भ्यानकुभर नाइटका आन्द्रे रसेलले ४ विकेट हात पारे । १९३ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको भ्यानकुभर पनि निधारित २० ओभरमा ६ विकेट गुमाएर १९२ रनमा रोकियो ।

सुरुआत राम्रो गर्न नसके पनि भ्यानकुभरका कप्तान सोयब मल्लिक र आन्द्रे रसेलले उत्कृष्ट पारि खेले । मलिक ६४ रन बनाएर आउँट हुँदा रसेल ४६ रनमा नट आउट रहे । सुपर ओभरमा पहिला ब्याटिङ गरेको भ्यानकुभरले २ विकेट गुमाएर ९ रन बनाएको थियो । सुपर ओभरको पहिलो बलमा आन्द्रे रसेलले छक्का प्रहार गरेका थिए ।

दोस्रो बलमा एक रन लिए । तेस्रो बलमा लेग बाई मार्फत १ रन आएको थियो । चौथो बलमा रसेल आउट भएका थिए । पाँचौँ बल डट भयो भने छैटौँ बलमा भान डुर सेन आउट भए । १० रनको लक्ष्य पछ्याएको विनिपेग्सले २ बल बाँकी छँदै पुरा गरेको थियो ।

प्रतिक्रिया