भारतको सहज जित

एजेन्सी, वेस्ट इन्डिज । भारतले वेस्ट इन्डिजविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा सहज जित निकालेको छ । पहिलो खेल रद्द भएको थियो । सिरिजको छिनोफानो भने तेस्रो तथा अन्तिम एक दिवसीयबाट हुनेछ । भारतको जितमा कप्तान विराट कोहलीले शतकीय इनिङ खेलेका थिए । टस जितेर पहिला ब्याटिङ गरेको भारतको सुरुआत भने राम्रो थिएन । पहिलो ओभरमै ओपनिङ ब्याट्सम्यान शिखर धवन २ रन बनाएर आउट भए ।

वर्षाले प्रभावित खेलमा कोहलीको शतकप्रेरित भारतले वेस्ट इन्डिजमाथि डिएल मेथडको आधारमा ५९ रनको जित निकालेको हो । क्विन्स पार्क ओभलमा कोहलीले पहिले ब्याटिङको निर्णय सही साबित गर्दा शतकीय इनिङ प्रहार गरेका थिए । उनले करियरको ४२औँ एकदिवसीय शतक पूरा गर्दा भारतले ७ विकेटको क्षतिमा २ सय ७९ रनको योगफल तयार पारेको थियो ।

तर, वर्षाले खेल प्रभावित गरेपछि वेस्ट इन्डिजले निर्धारित ४६औँ ओभरमा २ सय ७० रनको लक्ष्य प्राप्त ग¥यो । यद्यपि, वेस्ट इन्डिजलाई चार ओभर बाँकी छँदा नै २ सय १० रनमा समेट्दै भारतले खेलको नतिजा आफ्नो पक्षमा पा¥यो । भारका तीव्र गतिका बलर भुवनेश्वकुमारले चार विकेट लिँदा ३१ रन खर्चिंदै वेस्ट इन्डिजको इनिङ धरासयी बनाएका थिए । एक समय वेस्ट इन्डिज ४ विकेटको क्षतिमा १ सय ७९ रनको स्थितिमा थियो । तर, वेस्ट इन्डिजले एकपछि अर्को गुमाउन पुग्यो ।

भुवनेश्वर कुमारले सस्तैमा वेस्ट इन्डिजका ओपनर क्रिस गेललाई पवेलियनको बाटो देखाउँदै भारतलाई पहिलो सफलता दिलाएका थिए । गेल ११ रनमै आउट भए पनि वेस्ट इन्डिजका लागि एकदिवसीय क्रिकेटमा सर्वाधिक १० हजार ४ सय ९ रन बनाउन सफल भए । उनले ३ सय एकदिवसीय खेलमा ब्रायन लाराको रेकर्ड पछि पारेका हुन् ।

यता, भारतले पहिलो खेल वर्षाका कारण हुन नसक्दा दोस्रो खेल आफ्नो बनाउँदै शृंखलामा अग्रता बनाएको छ । वेस्ट इन्डिजका लागि इभिन लेविसले सर्वाधिक ६५ रन र निकोलस पुरनले ४२ रन बनाए पनि आफ्नो टोलीलाई हारबाट जोगाउन सकेनन् । भारतीय बलरसामु अन्य ब्याट्सम्यानले खासै उल्लेखनीय रन बटुल्न सकेनन् ।

भारतका बलर मोहम्मद सामी र कुलदीप यादवले समान २ विकेट तथा खलिल अहमद र रवीन्द्र जडेजाले १÷१ विकेट लिँदै वेस्ट इन्डिजलाई सस्तैमा समेट्न सफल भए । तीन खेलको शृंखलामा भारतले १–० को अग्रता बनाएको हो । भारतले वेस्ट इन्डिजसागको अन्तिम खेल बुधबार क्विन्स पार्क ओभलमै खेल्नेछ । भारतलाई सफलता दिलाउन कप्तान कोहलीले १ सय २० रनको इनिङ खेलेका थिए ।

१ सय २५ खेल्दा उनको इनिङमा १४ चौका र एक छक्का समावेश थियो । कोहलीलाई श्रेयस आयरले चौथो विकेटका लागि बलियो साथ दिए । यो जोडीले १ सय २५ रनको साझेदारी गर्दा भारत बलियो स्थितिमा पुगेको थियो । यी जोडीको साझेदारी चल्दा एक समय भारतले ३ सय रन पार गर्ने अनुमान गरिएको थियो । आयरले ६८ बलमा ७१ रन बनाएर आउट भए ।

जेसन होल्डरको बलमा क्लिन बोल्ड हुनुअघि उनले पाँच चौका र एक छक्का हिर्काए । ४२औँ ओभरमा कोहली र ४६औँ ओभरमा आयर आउट भएपछि भारतको रन बटुल्ने गति कम भएको थियो । वेस्ट इन्डिजका बलरले अन्तिम १० ओभरमा अनुशासित बलिङ गर्दा ६७ रन मात्र दिए । उसका लागि कार्लोस ब्राथवेटले सबैभन्दा सफल बलर साबित भए । ब्राथवेटले कुल १० ओभरमा तीन विकेट लिँदै ५३ रन खर्चिएका थिए ।

भारतका कप्तान कोहलीले पहिले ब्याटिङ गर्न सहज हुने भएकाले टस जितेपछि ब्याटिङ गर्ने निर्णय लिएको बताए । ‘टस जितेमा पहिले ब्याटिङ गर्ने योजना थियो । जस अनुसार सफल पनि भयौँ,’ कप्तान कोहलीले भने, ‘दोस्रो इनिङमा ब्याटिङ गर्न सहज थिएन । वेस्ट इन्डिजको ब्याटिङ हेर्दा पनि थाहा हुन्छ । पछि ब्याटिङ गर्नु कठिन नै थियो ।’

यता, भारतको सुरुआत पनि निकै खराब रहँदा पहिलो ओभरको तेस्रो बलमै ओपनर शिखर धवन २ रनमै आउट भए । सेल्डन कोट्रेलले धवनलाई एलबिडब्लु धरापमा पार्दैै वेस्ट इन्डिजलाई उत्कृष्ट सुरुआत दिलाए । अर्का ओपनर रोहित शर्मा पनि १८ रनमै पवेलियन फर्केका थिए । तर, कोहलीले अनुशासित ब्याटिङ गर्दै भारतको इनिङ उकास्न सफल भए ।

वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले खेल आफ्नो पकडमा आइसकेको अवस्थामा ब्याट्सम्यानले धर्यता गुमाएको आरोप लगाए । ‘एक समय खेल हाम्रो पकडमा थियो,’ निरास हुँदै होल्डरले भने, ‘तर हाम्रा ब्याट्म्यानले त्यसलाई सम्हाल्न सकेनन् । खेललाई कसरी अन्तिमसम्म लैजाने भन्ने शिक्षा लिन आवश्यक छ । त्यसैले पक्कै पनि हामीले ब्याटिङमा जिम्मेवारी लिनुपर्ने छ ।’

प्रतिक्रिया