सुदूरपश्चिमलाई फर्केर हेर्दा

हामीले सुदूरपश्चिमको नाम सुन्न थालेदेखि विसंगति कुरिति, गरिबीको बारेमा मात्र सुन्यौँँ र सुनाइदियौँँ । सुदूरपश्चिममा भएको छाउपडी प्रथा, हलिया खलिया प्रथा, देउकी प्रथालगायत थुप्रै प्रथाहरूको बारेमा लेखेर आइएनजिओ र एनजिओको झोला भिरिदयाैँ । सुदूरपश्चिमले आफ्नौँ कुम्लो खालि गरिदियौँ । गैरसरकारि संस्थाहरूले राम्रो कमाइ गरे ।

घर घरमा वैदेशिक संस्थाका कर्मचारि पुगे । छुवाछुतविरुद्धको अभियान चलाए । गाउँमा भएको भाईचारा समेत समाप्त पारिदिएँ । गाउँमा सञ्चालन गरिएका घरेलु उद्योग आरा पनि एनजिओ करणसँगै समाप्त पारिए । सुदूरपश्चिमका जनताले अहिले यस्को मूल्य तिरिरहेका छन् । हुनत छाउपडी, छुवाछुत नेपालका सबै ठाउमा थियो ।

नेपालकै नेवार समुदायमा छाउपडी प्रथा मान्ने गर्दछन् । नेवारी समुदायले छोरी रजस्वला हुनुपूर्व गुफा राख्ने र बेल विवाह गर्ने चलन छ । सुदूरपश्चिमका बाहुन परिवारमा मात्र होइन नेपालकाभरिका बाहुन परिवारमा छाउपडी बार्ने चलन रहँदै आएको छ । नेवार समुदाएमा त यो समयमा उनिहरूले १२ दिन सूर्यको मुख नहेरी बस्नुपर्ने हुन्छ । पिछडिएको सुदूरपश्चिमको मात्रै छाउपडी प्रथाको प्रचार गरियो ।

अहिले सुदूरपश्चिम तीनवटा कुराले चर्चित र परिचित छ । पहिलो त्यहाँको पर्यटन र सम्भावना जसलाई सुन्दर सुदूरपश्चिमको उपमा दिइएको छ । दोस्रो त्यहाँको गरिबी, प्राकृतिक विपत्, कुरीति र कुसंस्कार साथै राज्यको हेपाहा प्रवृत्ति । तेस्रो सुदूरपश्चिमको एकता र अखण्डता जसलाई अखण्ड सुदूरपश्चिमको नारा र त्यस क्षेत्रको मुद्दामा सबै एकै ठाउँमा उभिने परिपाटिले प्रष्ट पार्छ । सुदूरपश्चिमप्रति अहिलेको आमबुझाइ यही छ ।

कुनै पनि एनजिओ आइएनजिओको कार्यक्रममा जाँदा छाउपडी गोठ भत्काएकोमा ठूलो सफलता मान्ने गरेका छन् । ठूलो स्वरमा चर्का नाराका साथ भन्ने गरेका छ २००७ सालदेखि ०६२–६३ को आन्दोलन र परिवर्तनले भत्काउन नसकेका सुदूरपश्चिममा छाउगोठ अहिले भत्कुनु एक–एक सफल र उदाहरणीय काम हो । अभाव, अशिक्षा, गरिबी, छुवाछुत र विभिन्न प्रथाका नाममा भएका विभेदबाहेक सुदूरपश्चिमको प्रचार नै गरिएन । जसले गर्दा सुदूरपश्चिमका नागरिकलाई हेर्ने दृष्टि नै बदलियो ।

सुदूरपश्चिमको इतिहास, योगदानको कसैले चर्चा गरेन । राम्रो काम इतिहास, योगदानको चर्चा भए एनजिओदेखि राजनितिक दलहरूको गरिखाने भाँडो नै समाप्त हुने डर भयो । जसरी राजधानीदेखि सुदूरपश्चिम नामाकरण गरियो त्यसरी सुदूरपश्चिमलाई पडाडि पारियो । इतिहासलाई हेर्ने हो भने सुदूरपश्चिम केन्द्र सरकारसँग कहिल्यै झुकेन ।

वामविश्लेषक आहुतिकै भनाइलाई सापट लिने हो भने सुदूरपश्चिमलाई योजनाबद्ध हिसाबले रिसिवी साध्न हेपिएको हो भन्न सकिन्छ । केन्द्र सरकार र राणाहरूको विरुद्ध पहिलो आवाज उठाउने सुदूरपश्चिमले गणतन्त्र आएपछि पनि हक, अधिकार र आधारभूत आवश्यकताका लागि समेत आन्दोलन गरिरहनुपरेको छ । जनता अझै गरिबीको रेखामुनि छन् । यहाँका ३३.६ प्रतिशत जनता गरिबीको रेखामुनि छन्् । सरकारले गाँस, वास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा, रोजगार, सामाजिक पहिचान र सम्मानबाट वञ्चित भएको अवस्था गरिबी हो भनिएको छ । यो क्षेत्रमा अझै अभावले थिचिरहेको छ ।

हुन त सुदूरपश्चिमलाई मात्र होइन शासकहरूलाई साथमा लिएर गरिब देशमा वैदेशिक सहायताको नाममा विदेशी संस्थाले यस्तैगरी राष्ट्रलाई खोक्रो पारिदिएका छन् । सुदूरपश्चिम राजधानी काठमाडौंसँग कर्णाली पुल बनेपछि मात्र प्रत्यक्ष रूपमा जोडिएको हो । कर्णालीमा पुल नबनेसम्म सुदूरपश्चिमका जनताको काठमाडौंसँग गहिरो नाता थिएन । एकपटक सुदूरपश्चिमलाई पछाडि फर्केर हेरौँ इतिहासलाई सम्झने प्रयास गरौँ । केन्द्र सरकार भनौँ या राणाहरूको हुकुमी शासनविरुद्ध आवाज उठाउने बाकावीरलाई राणाहरूद्वारा हत्या गरिन्थ्यो । बेलायतको जस्तै संविधान बनाउन खोज्ने नेपालमा जनताका लागि शिक्षाको ढोका खोलिदिने जयपृथ्वीबहादुर सिंहलाई देशनिकाला गरियो ।

दशरथ चन्द सहिद भए केआई सिंह मन्त्री भए, भिमदत्त पन्तलाई मारेर टाउको झुन्ड्याइयो । यिनै महापुरुषले गर्दा देश परिवर्तनमा सहयोग पुग्यो भनेर कहिल्यै प्रचार गरिएन सरकारले ध्यानै दिएन । जयपृथ्वीबहादूर सिंहले लेखेका नेपाली भाषाको पुस्तक ‘अक्षरांक’ मा देवनागरी लिपिका साँवाअक्षर, गणितका साधारण हिसाब, तत्कालीन चलनचल्तीमा रहेको नापतौल, वर्ष, महिना, दिन, ऋतु, अंग्रेजी महिनाका नाम आदि कुरा समावेश गरिएका थिए । उनको ‘अक्षरांक शिक्षा’ नामक पुस्तकमा बाह्रखरी अक्षर ज्ञान, गणितको एकावली, पहाडा, विभिन्न वर्गांक, जोडघटाउ, भाग, गुणन र इस्लाम धर्मका चाडपर्वको पनि उल्लेख छ । जयपृथ्वीले अक्षरांक शिक्षा लेखेर १९५८ सालमा प्रकाशित गरेपछि, त्यो पुस्तक कोसेढुंगोको रूपमा स्थापित भएको छ ।

त्यही क्रममा उनले आठजना विद्यार्थी काठमाडौंमा पढ्न पठाए । सामान्य शिक्षा आर्जन गरेपछि ती आठै जना बझाङका विभिन्न अड्डा, स्वास्थ्य र शिक्षण संस्थाका कारिन्दा भए । बालबालिकाको चौतर्फी विकासका लागि बाधा पर्ने विभिन्न समस्यामा कुपोषण, विकृतिपूर्ण संस्कृति, अज्ञानता, मानसिक र शारीरिक शोषण र अशिक्षा हुन् ।

यी सबै समस्यालाई समाधान गर्न शिक्षाकै ज्योति बाल्नु पर्दछ भनेर जयपृथ्वीले विकट गाउँ चैनपुर र काठमाडौंको नक्सालमा सत्यवादी पाठशाला खोले । जयपृथ्वीले बझाङमा आर्थिक सुधारका नाउँमा भूमिसुधारको व्यवस्थापन गरे । उनैले वैज्ञानिक ढंगबाट नापीको व्यवस्था पनि गरे । त्यहाँ औषधालय उनैले स्थापना गरे । औषधालय र जयपृथ्वी धर्म औषधालय त्यस भेकको पहिलो औषधालय थियो । उनैको क्षेत्रमा आजसम्म भरपर्दो अस्पताल छैन । युवाहरू आत्मनिर्भर नभई परनिर्भर हुँदै गए । भारतको विभिन्न ठाँउमा कुल्ली काम गरिरहेका छन् ।

बैतडी जिल्लामा जन्मेका दशरथ चन्दक सहिद भए । उहाँमा पितालाई सुर्खेतमा टुँडिखेल बनाउने लेफ्टिनेन्ट शेरबहादूर चन्दका नामले चिनिन्छ । राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व स्व. चन्दकै क्षेत्रमा सुशासनकै अभावले लखेटिरहेको छ । डोटीमा जन्मेका कुँवर इन्द्रजित सिंह सानै छँदा परिवारसँगै बर्मा पुगेका थिए । उनले त्यहीँ विद्यालय शिक्षा हासिल गरे । बर्मामै उनले आयुर्वेदसम्बन्धी अध्ययन गरेका थिए । नेपाल आएर क्रान्ति सुरु गरे । सिंहको तर्फबाट बडाहाकिम कार्यालयमाथि पहिलोपटक आक्रमण भयो ।

चार घण्टा चलेको लडाइँमा सिंहको फौजले गोश्वारा (बडाहाकिम कार्यालय) बाहेक भैरहवाका अरू सबै कार्यालयमाथि नियन्त्रण जमायो । तर, सिंहमाथि सरकारी फौज ले विजय हासिल गर्न सकेन । ठूलो क्षतिका साथ सरकारी सेना आफँै फिर्ता हुनुप¥यो । केआई सिंह नेपालका मन्त्रीसम्म भए । अन्याय सामाजिक भेदभाव सहन नसक्ने भीमदत्त पन्तले २००७ सालदेखि आन्दोलनको सुरुवात गरे । त्यस वेला उनलाई भीमदत्त कांग्रेस भन्ने गरिन्थ्यो । अन्याय गर्नेलाई दण्ड सजाय दिने हुनाले ठालूहरू डराउँथे । कसैलाई भीमदत्त पन्तले कारबाही गरेको थाहा पाइएमा फलानोको घरमा कांग्रेस पस्यो भनी गाउँमा सन्देश फैलिन्थ्यो । तर, २००७ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसले गरेको व्यवहार उनलाई मन परेन । उनले क्रान्ति पूरा भएको छैन भनी राणासित मिलेर बनाएको सरकारको विरोध गरे ।

परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीमदत्त पन्तले दलित मगर र थारूहरू संगठित गरि मुक्तिसेना गठन गरे । भान्सामा दलितहरूलाई सहभागी गराउन थाले । किसानहरूलाई बेदखल गर्ने उनीहरूको नाममा जाली तमसुक बनाउने श्रमशोषण गर्ने ठालुहरूलाई कारबाही गर्न थाले । अन्न खेर फाल्नुहुँदैन । उत्पादन बढाउनुपर्छ । अनावश्यक खर्च घटाउनुपर्छ । प्रकृति बिग्रने काम गर्नु हुँदैन जस्ता कुरामा पनि सचेतना अभियान चलाएका थिए । यिनै पन्तको जन्म भूमि र छुवाछुत अन्यायविरुद्धको आन्दोलन गरेको ठाउँमा छुवाछुत र दलित विभेदकै नाममा प्रचार गरिरहेको छ । छुवाछुतको अत्य गर्न सकिएन । सुदूरपश्चिमका गहना राजनीतिक गुरु जहिले पनि पछाडि पारिए ।

धार्मिक क्षेत्रमा मन्दिर देवीथानहरूलाई ओझेलमा पारिए । भौगोलिक विकटताले गर्दा पछाडि परे भनियो । बडीमालिका, शैलेश्वरी, उग्रतारा मन्दिर र धार्मिक स्थलको कहिल्यै प्रचार गरिएन । पर्यटकका दृष्टिले उत्कृष्ट मानिने साइपाल, अपि, खप्तड, शुक्लाँफाटा घोडाघोडी, झिलमिला तालको कहिल्यै प्रचार गरिएन । यहाँका राजनितिक दलहरूले प्रचारमा मूल्याउन नसक्नु ठूलो भुल भयो । हुन त प्रजातन्त्रपछि पनि सुदूरपश्चिम बाट गभरनर देखि प्रधानमन्त्रीसम्म भए । नेपालका ठूलै भनिने राजनितिक दलका प्रमुख नेता भए । सबैले सुदूरपश्चिमलाई भोट बैंक बनाएर काठमाडौंमा घर बनाए । सुदूरपश्चिमले अभाव खेपिरहेको छ । शासकहरूको दमन सहन नसक्ने सुदूरपश्चिमलाई नयाँ शासकहरूले दमन गरिरहेको छ । अझैसम्म सामान्य सेवासुविधासमेत पाउन सकेको छैनन् ।

यस क्षेत्रलाई पर्यटन, धार्मिक पर्यटन, व्यावसायिक कृषि गरी आत्मनिर्भर बनाई छुवाछुत र छाउपडी प्रथाको अन्त्य गरी समृद्धिको दिशातर्फ लैजानको लागि जयपृथ्वीको शिक्षानीति र भीमदत्त पन्तको जमिन नीति अपनाउनु आवश्यक छ । सुदूरपश्चिमलाई भोटबैंक बनाई काठमाडौं बसोवास गर्ने राजनीतिज्ञहरूले राजनितिक परिर्वतनका गुरुको राजनितिक सिद्धान्त र सुदूरपश्चिमलाई एकपटक फर्केर हेर्ने की ?

प्रतिक्रिया