केब्स स्कूलको साँस्कृतिक विविधता कार्यक्रम

रामेछाप । मन्थली नगरपालिका–१, आकासे, रामेछापमा अवस्थित केब्स बोर्डिङ स्कूलले २०७६ साउन २४ गते शुक्रबार अन्तर्राष्ट्रिय आदिवासी तथा जनजाति दिवसको अवसरमा स्थानिय भेषभुषा, भाषा, संस्कृति र कलाको विद्यार्थीहरुद्वारा विशेष प्रस्तुती तथा प्रदर्शनी सहित साँस्कृतिक विविधता कार्यक्रम सम्पन्न गरेको छ ।

हिन्दु तथा बौद्ध परम्परामा महत्वपूर्ण मानिने शङ्ख बजाएर उद्घाटन गरिएको उक्त कार्यक्रममा केब्स स्कूलमा अध्ययनरत करिब ७ सय विद्यार्थी तथा शिक्षकहरु आआफ्नो जातिय र साँस्कृतिक भेषभुषा सहित स्कूलमा उपस्थित भएका थिए । हालका दिनहरुमा विश्वव्यापीकरणका कारण स्थानिय भाषा, संस्कृति तथा कला माथि पाश्चात्य संस्कृतिको नकारात्मक प्रभाव व्याप्त भएकोले ती स्थानिय संस्कृतिको संरक्षण गर्न र सचेतना जगाउने उद्येश्यले उक्त कार्यक्रमको आयोजना गरिएको स्कूलका प्रिन्सिपल केशव तिमल्सिनाले बताए । सो प्रदर्शनी कार्यक्रममा विद्यार्थीहरुद्वारा माझी, तामाङ, मगर, नेवार, सुनुवार लगायतका स्थानिय जातजातिका जीवनशैली झल्काउने स्थानिय प्रविधि, भेषभुषा, गीत, नृत्य तथा कविताहरु प्रस्तुत गरिएको थियो ।

सैयौँको संख्यामा स्थानिय समुदाय, अभिभावक र छिमेकी विद्यालयका विद्यार्थीहरुको समेत उपस्थिति रहेको उक्त समारोहलाई सम्बोधन गर्दै स्कूल संचालक शिवराज श्रेष्ठले नयाँ पुस्तामा देखिएको आफ्नो जातिय तथा परम्परागत पेशा प्रतिको वितृष्णालाई यस कार्यक्रमले धेरै हदसम्म कम गरी आफ्नो मौलिक पहिचान प्रति गौरव गर्न बालबालिकाहरुलाई प्रेरित गरेको बताउँदै केब्स स्कूलले समाज रुपान्तरणमा आफ्ना विद्यार्थीहरुलाई सदैव अग्रसर गराउने खालका प्रभावकारी कार्यक्रमहरु गरिरहने बताए । सो कार्यक्रम अवलोकन पश्चात केब्स स्कूलले प्रशंसायोग्य कार्य गरेको प्रतिकृया उपस्थित स्थानिय समुदायका व्यक्तिहरुले दिएका थिए ।

प्रतिक्रिया