सिटीस्क्यान मेसिनमा ठगी गर्ने एक पक्राउ

सुरुङ्गा । इलाका प्रहरी कार्यालय दमकले सिटीस्क्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपमा एक व्यक्तिलाई फक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर घर भएका रेडियोलोजिष्ट डा. सुनिलदेव रहेका छन् । प्रहरीले उनलाई लाइफलाइन अस्पताल प्रालिका अध्यक्ष डा. तिलकचन्द्र साहलाई सिटिस्क्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपपछि पक्राउ गरिएको हो ।

फक्राउ परेका देवलाई प्रहरीले ठगी मुद्दामा दुई पटक अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले बताए । उनले भने, ‘रेडियोलोजिष्ट देवले दश वर्षअघि डा. साहलाई सिटिस्क्यान मेसिन बिक्री गरेको र लेनदेनमा समस्या रहेछ, डा. साहको उजूरीका आधारमा उनलाई हामीले नियन्त्रणमा लिएका हौँ ।’ पक्राउ परेका रेडियोलोजिष्ट अहिले इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।

सिटी स्क्यानको मूल्य झण्डै दुई करोड रुपैयाँ पर्ने बताइएको छ । डा. साहले देवको सहयोगमा भारतको एक अस्पतालबाट रु ५० लाखमा मेसिन खरीद गरेको बताइन्छ । रेडियोलोजिष्ट देवले खरीद गर्न सहयोग गरेर ल्याएको सिटीस्क्यान मेसिन अहिले डा. साहसँग नै रहेको बताइएको छ । तर, डा. देवले अहिलेसम्म पनि आफूलाई सिटिस्क्यान मेसिन नदिएको डा. साहले आरोप लगाएका छन् ।

प्रतिक्रिया