सरिताको अपहरण

चमिना भट्टराई

पत्रकार सरिता अर्यालको नियात्रा संग्रह ‘मेरो अपहरण’ केही दिनअघि बजारमा आएको छ । मुलुकमा चलेको सशस्त्र द्वन्द्वका वेला आफूले भोगेको पाँच दिने अपहरणको अनुभूति र कालीकोटका जनताका बारेमा लेखिएको उक्त पुस्तक पढ्दा सरल र सहज लाग्यो । एउटा पत्रकार सूचना संकलन गरी अनुभूति बुझ्न आफ्नै देशको कुनै गाउँमा जाँदा बनिएको बन्दी जीवनका भोगाइ उनले पुस्तकमा पस्केकी छन् ।

०५२ देखि ०६२ सम्म चलेको युद्धका कारण कतिले ज्यान गुमाए, कति अंगभंग भए, कति अहिले पनि बेपत्ताको अवस्थामा छन् । उक्त समयमा राज्य र जनताका निजी सम्पत्तिमा भएको क्षति अहिलेसम्म पनि लेखाजोखा भएको छैन । मुलुकले भोगेको द्वन्द्वलाई नजिकबाट अनुभूति गर्न नपाउनेका लागि अपहरणमा सरिताले गरेका लिपिबद्ध शब्दहरू एउट ऐना पनि हो । यसले धेरै कुराका अनुभूति गराउँछ ।

कालीकोटको सदुरमुकामबाट माथि लाग्दैदेखि तत्कालीन माओवादीको निगरानीमा परे पनि उनीहरूले आफू पूर्णरूपमा बन्दी नहुँदासम्म कुनै छनक नपाएको पुस्तकमा प्रष्ट्याइएको छ । द्वन्द्वका समयमा कालिकोटको कोटबाडामा हत्या भएका निहत्था जनता र त्यहाँको अवस्था बुझ्ने अकांक्षाले एउटी महिला एक्लै राजधानी काठमाडौंबाट त्यहाँसम्म जाने हिम्मत गर्नु सामान्य थिएन । आफ्नै देशको एउटा कुनामा जाने चाहना राख्नु ठूलो कुरा त होइन, तर, उनी जहाँ जाँदै थिइन् त्यहाँ उनले बुझेको नियम कानुन र प्रशासन केही थिएन । त्यसैले त्यो जोखिममा थियो । उनले आफ्नै देशभित्र अर्कै कानुनको सामना गर्नुपरेको थियो त्यहाँ ।

पुस्तक पढ्दा ठाउँठाउँमा आङ सिरिङ बनाउँछ, त्यो भोगाइ उनीहरूको हो । तर, पढदा आफैँ त्यहाँ भए भन्ने हुन्छ । अनेक समस्यामा रुमलिएका कोलीकोटेसँग न राज्यको सुविधा न कानुन ! नेपाल भन्ने देशको अर्कै ग्रह जस्तै उनीहरूको अवस्था पढ्दा कहालीलाग्दो छ । राज्यप्रतिको वितृष्णा र युद्धप्रतिको मोह उनीहरूको भोगाइ र बुझाइका आधारमा कैयौँ अवस्थामा जायज भएजस्तै लाग्छ । त्यहाँका जनताले अपवादमा बाहेक माओवादीप्रति देखाएको मोह सिद्धान्तका आधारमा भन्दा पनि तत्कालीन समस्यालाई उनीहरूले गरेको सम्बोधन जसले जनताका समस्यासँग एकाकार हुनु र राज्यले सुरक्षाका नाममा महिला र गाउँलेप्रति गरेको ज्यादती हो भनेर बुझ्न कठिन हुँदैन ।

फिलिमको रिल घुमेजस्तै रोमाञ्चक र कूतुहलता प्रदान ग¥यो उनको अपहरणको यथार्थ अध्ययन गर्दा । कालिकोट त्यसको पनि कर्णाली पारिका जनताका भोगाइ उनले अपहरणका क्रममा थोरै भए पनि बुझेको पुस्तकमा उल्लेख गरेकी छन् । मनभित्र उम्लिएका डरलाई जवर्जस्त दबाएर मुसुक्क हाँस्दै बन्दी जीवनमा माओवादीसँग प्रस्तुत हुनु सानो कुरो होइन । उनको लेखाइ र बुझाइ तथस्ट पाइन्छ । माओवादी र माओवादीपीडितसँग भएका संवादका आधारमा उनले अपहरण तयारी गरेकी छन् ।

कालीकोटको कर्णाली पारि विभक्त तत्कालीन १३ गाविस जहाँ राज्यको कुनै उपस्थिति थिएन भन्ने उनको भोगाइ र जनताका भावनाले देखाएको छ । अझ जनअदालतका नाममा गाउँलेका बीचमा उनीहरूलाई उभ्याउँदाको अवस्था जुन ढंगले वर्णन गरिएको छ त्यो केटाकेटीको खेलजस्तै लाग्छ । अपराधीलाई कठाराघरमा उभ्याएजस्तै गरी गाउँलेले ¥याख¥याख्ती पार्नु र कतिवेला सफाया गर्ने हुन् भन्ने त्रास दिनु भनेको मानसिक यातना नै हो । शारीरिक रूपमा यातना दिन रातभर गाउँ घुमाउने र मानसिक रूपमा दिएका यातना रिपोर्टिङमा गएको एउटा पत्रकारका लागि अन्याय नै थियो ।

त्यहाँका जनतामा माओवादीप्रति रहेको आशाभरोशा र विश्वास आज छ छैन थाहा भएन । तर, उनको नियात्रामा त्यो आशाभरोशा र विश्वासको पहाड पाएँ । भोकभोकै बस्न बाध्य जनतालाई सहकारी पसल खोलेर सस्तोमा त्यो पनि पैसा भएका वेला तिर्ने गरी रासनपानी दिनु, समाजमा चल्दै आएका जारी विवाह, वाल विवाह, रक्सी खाएर परिवारलाई दिने तनाव र अनमेल विवाहजस्ता कुरामा उनीहरूले गरेको समाज सुधार सकारात्मक पक्ष हो ।

सुरक्षाका नाममा गाउँमा जाने नेपाली सेनाका ज्यादतीलाई स्थानीयले उठाएका कुरा पढ्दा आंङ नै जिरिङ हुन्छ । छाउ भएर गोठमा बसेका वेला बलात्कारको चित्कारसँगै छोरी चेली मर्दा पनि उद्दार गर्न नसहेका निरीह जनताका भाव पढ्दा र बलात्कारबाट सुत्केरी भएका महिलाका वेदना पढ्दा त्यहाँका महिला नेपाली हुन् कि अरू देशकै हुन् भन्ने हुनभूति गरायो । त्यहीँ ती महिलाले भोकेका भोगाइ र त्यसको यथार्थ बुझ्न जाने दुवै महिला नै थिए, एउटै देशको थियो त केवल भोगाइ र अनुभूति फरक ।

आपहरण पढ्दा आफैँ कालीकोटको कर्णाली गाउँ पुगेको अनुभूती गरेँ मैले । उनले रात बिताएका होटल, गाउँलेसँग गरेको संवाद र भोगाइमा आफू पनि सँगै भएजस्तै लाग्यो । ‘बिरालाले म्याउ गरेको सुनिकन माओवादी भनी गोली हान्या हुन्,’ गाई कराएको सुनेर यो पनि माओवादी रहेछ भनी मारे’ गम्भीर छ । सेनाले सबैलाई मोओवादी देख्ने, स्थानीयले बाहिरबाट जाने सबैलाई सरकार र सिआइएको सुराकी ठान्ने कस्तो भ्रम ?

मुलुकमा युद्धविरामको घोषणा थियो, सहरमा बस्नेका लागि युद्धको भारी बिसाइएको ठानिए पनि दूरदराजका गाउँमा बस्नेका लागि युद्धविरामको कुनै छनक थिएन भन्ने कुरा अपहरणमा उनीहरूको भोगाइ पढदा झर्लंग हुन्छ । एउटा पत्रकार आफ्नै देशको कुनै गाउँमा जानुलाई अपराधीजस्तै बनाइएको कैदीजीवन सामान्य होइन । अपहरणमा कालीकोट बाहिर बस्नेले त्यहाँका जनताका भोगाइ र बाच्ने शैलीको नजिकबाट अनुभूति गराउँदो रहेछ ।

अपहरणमा सरिताले आफूले भोगेको मानसिक तनावलाई मात्रै उठाएकी छैनन् । त्यहाँको अस्तव्यस्त अस्पताल, अभाव र समस्यामा ग्रस्त समाज, छोराका लागि बग्रेल्ती छोरी पाउन महिला र जारी तिर्दे अर्काकी पत्नी भित्र्याउँदा निम्त्याउने समस्या सबैलाई उठाउन भ्याएकी छन् । रहरले, करले, बाध्यताले र बुझेर माओवादी बनेकाहरू चाहेर पनि त्यहाँको राज्यसत्ताको पक्षमा मात्रै बोल्ने गरेका थिए ।

पुस्तक युद्धले शान्ति पाएपछि बजारमा आए पनि त्यसभित्र धेरै प्रश्न र अर्थ लुकेको छ । कालिकोटे जनता जो पूरानो सत्ता भत्काएर नयाँ सत्ता बनाउने सपना बोकेका थिए । के आज उनीहरूको सपना पूरा भयो त ? युद्धप्रतिको उनीहरूको अटल विश्वास आज हारेको छ कि जितेको ? युद्धमा होमिँदा माओवादीले बाँडेका सपना कति पूरा भए ? यो गम्भीर प्रश्न छ ।

अर्कोतर्फ कोटबाडा पुग्न नपाए पनि त्यहाँका बारेमा उनीहरूले स्थानीय जनता र मान्मामा पत्रकारसँग संवाद गर्दा किन आयो फरकफरक धारणा ? मेहलमुढीका जनताले कोटवाडा घटनाका बारेमा माओवादीका एकांकी कुरा मात्रै सुनेका थिए कि पत्रकारले गलत रिपोर्ट दिएका थिए ? एउटै जिल्लाका मान्छे एउटै घटनालाई फरक रूपमा बुझेका थिए ? जे भए पनि त्यस्तो अफ्टारो अवस्था पार गरेर उनले ल्याएको अपहरण पठनीय छ ।

प्रतिक्रिया