काठमाडौं । ह्याम्स हस्पिटलले सोमबारदेखि एयर एम्बुलेन्स सेवा सुरु गरेको छ । धुम्बाराहीस्थित रहेको अस्पतालको छतमा तयार गरिएको हेलिप्याडबाट एयर एम्बुलेन्स सेवा सुरु गरिएको हो ।
अस्पतालको छतमा रहेको हेलिप्याडलाई नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रम सेफ्टी स्टैन्डर्ड विभाग सिनामंगलले सोमबार नै अनुमति दिएको थियो । अनुमति पाए लगत्तै अस्पतालको छतमा नवनिर्मित हेलिप्याडमा एयर डाइनेस्टीको हेलिकोप्टरले सफल उडान तथा अवतरण गरेर एयर एम्बुलेन्स सेवा सुरु गरेको हो ।
बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, वरिष्ठ कार्डियोभास्कुलर सर्जन प्रा.डा. भगवान कोइराला, वरिष्ठ फिजिसियन प्रा.डा. अर्जुन कार्की, अस्पतालका अध्यक्ष युवा उद्यमी रामशरण भण्डारी र अस्पतालका मेडिकल डाइरेक्टर एवं वरिष्ठ अर्थोपेडिक सर्जन डा. भास्कर राज पन्तले एयर एम्बुलेन्स सेवाको संयुक्तरूपमा उद्घाटन गरेका थिए । नेपालको भौगोलिक अवस्था अनुकूल छिटो र छरितो स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले दिवा सेवाको रूपमा अहिले १२ घण्टा एयर एम्बुलेन्स सेवा सुरु गरेको अस्पतालका अध्यक्ष रामशरण भण्डारीले जानकारी दिए ।
हेलिकोप्टर एयर एम्बुलेन्स सेवामा विगत ७ वर्षदेखि सक्रिय डा. संजय कार्कीले नेपालको दुर्गम क्षेत्रबाट बिरामी ल्याउन एयर एम्बुलेन्सको रूपमा सेवा विस्तार गर्नु सजिलो र उपयुक्त भएको बताए । हेलिप्याडसहितको स्वास्थ्य उपचारले नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिएको डा. भगवान कोइरालाले बताए ।
प्रतिक्रिया