चितवन । उपचारका लागि आउने क्यान्सरका नयाँ बिरामीमध्ये १४ प्रतिशत भन्दा बढी नाक, कान र घाँटीका हुने गरेका पाइएको छ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल क्यान्सर रोकथाम तथा अनुसन्धान विभागले विश्व टाउको तथा घाँटीको क्यान्सर दिवसका अवसरमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।
बर्सेनि यस रोगका बिरामी थपिँदै गएका छन् । सन २०१५ मा क्यान्सरका नौ हजार सात सय १८ बिरामीमध्ये एक हजार चार सय ९४ नाक, कान घाँटीका रहेका थिए । यसैगरी सन् २०१६ मा १० हजार सात सय १५ क्यान्सरका बिरामीमध्ये एक हजार पाँच सय ४१ र सन् २०१७ मा १० हजार आठ सय २९ मध्ये एक हजार पाँच सय ५९ नाक, कान घाँटीको क्यान्सरका बिरामी अस्पताल भर्ना भएका थिए ।
विभागले देशभरका ठूला १२ अस्पतालबाट तथ्यांक संकलन गर्ने गर्दछ । विभागका प्रमुख भोला सिवाकोटीका अनुसार सन् २०१८ को तथ्यांक संकलन हुने क्रममा रहेको छ । उनका अनुसार कूल क्यान्सरका बिरामीमध्ये १४ प्रतिशत हाराहारी यस रोगका बिरामी हुने गरेका छन् । नेपालमा फोक्सो, स्तन, पाठेघरको क्यान्सरपछि नाक, कान घाँटीको क्यान्सर रहेको सो अवसरमा जानकारी दिइएको थियो ।
नाक, कान, घाँटीको क्यान्सर रोग खानपानमा ध्यान दिन सकेमा धेरै हदसम्म कम हुने अस्पतालका विशेषज्ञ डा. देवकुमार गौतमले जानकारी दिए । अस्पताल आउने क्यान्सरका बिरामीमध्ये ७० देखि ९० प्रतिशतलाई सुपारी, गुट्खा, सुर्ती र मादक पदार्थको सेवनका कारण हुने गरेको भन्दै उनले यसलाई रोक्न जनचेतना फैलाउन आवश्यक रहेको बताए ।
विश्वमा वार्षिक ६ हजार नौ सयको क्यान्सरका कारण मृत्यु हुने गरेको सो अवसरमा जानकारी दिइएको थियो । जसमध्ये नाक, कान घाँटीको क्यान्सरका कारण १५ प्रतिशतको मृत्यु हुने गरेको अनुसन्धान विभागका रजिष्टार डा.गम्भीर श्रेष्ठले जानकारी दिए । मृत्यु हुनेमा ४० देखि ६० वर्ष उमेर समूहका रहेका छन् ।
नाक, कान घाँटीमा हुने क्यान्सरमा ३२ प्रतिशत क्यान्सर मुखमा हुने गरेको श्रेष्ठले बताए । नाक, कान, घाँटीमा हुने क्यान्सरको रोग रोकथामका लागि भिटामिन, फलफूल खाने, मासु धेरै नखाने, घाममा धेरै हिँडडुल गर्न नहुने, सुर्तीजन्य वस्तु सेवन गर्न नहुने, मादकपदार्थ सेवन गर्न नहुने श्रेष्ठले जानकारी दिए ।
अस्पतालका उपनिर्देशक डा.निर्मल लामिछानेले यस अस्पतालको तथ्यांकलाई केलाउँदै सन् २०१७ मा १५ दशमलव ८७ प्रतिशत नाक, कान घाँटीका बिरामी अस्पताल आएका जानकारी दिए । क्यान्सर रोकथाम तथा अनुसन्धान विभागका प्रमुख सिवाकोटीले गाउँघरमा चेतना बढ्दै जाँदा अस्पताल आउने बिरामीको संख्यामा वृद्धि भएको जानकारी दिए । अहिले अस्पतालले देशको चार स्थानमा गरी ८० स्वास्थ्यकर्मीलाई क्यान्सर रोग सम्बन्धी तालिम दिइएकाले पनि सामान्य समस्या आउँदा पनि अस्पताल आउनेको संख्यामा वृद्धि हुँदै गएको उनको भनाइ थियो ।
प्रतिक्रिया