राप्ती प्रतिष्ठानका पदाधिकारीलाई कारबाही हुन्छः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक खेल मैदान बनाउन लागेको भन्दै उक्त प्रतिष्ठानका पदाधिकारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीतिक खेल मैदान बनाउने गरिएको उल्लेख गर्दै त्यसमा संलग्न पदाधिकारीमाथि कडा कारबाही गर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सो प्रतिष्ठानको गैरजिम्मेवार कामको छानबिन गर्न गठित समितिले आफूलाई नबुझाई प्रतिवेदन सञ्चार माध्यमहरूमा सार्वजनिक गरेकोमा पनि आपत्ति जनाएका थिए । मंगलबार राजधानीमा आयोजित प्रतिष्ठानको तेस्रो सभामा बोल्दै प्रधानमन्त्री ओलीले कुलपतिसमेत रहेको आफूलाई नबुझाई सो प्रतिवेदन बाहिर आउनुलाई राजनीतिकरणको संज्ञा दिँदै आफूलाई सैह्य नभएको समेत स्पष्ट पारे ।

‘यो छानबिन समिति हो कि राजनीतिक ?,’ छानबिन समितिप्रति प्रधानमन्त्री ओलीको आक्रोशसहितको प्रश्न थियो । प्रधानमन्त्री ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तत्काल स्वच्छ र पारदर्शी बनाउन केन्द्रित हुन पनि सम्बन्धित निकायलाई सचेत गराएका हुन् ।

सरकार कसैको दबाब र प्रभावमा नपर्ने भएकाले सोहीअनुसार काम गर्न पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेशकै स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको केन्द्रको रूपमा विकास गर्न चाहेकाले सोहीअनुसार काम गर्न पनि सबैलाई सचेत गराए ।

प्रतिक्रिया