नगर अस्पताल निर्माण गर्दै कामपा

काठमाडाैं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउन नगर अस्पताल नाउने योजना बनाएको छ । न्यूनतम शुल्कमा नगरबासीलाई सबैखाले स्वास्थ्य सेवा दिने उद्देश्यले नगर अस्पताल निर्माणको योजना बनाइएको महानगरले जनाएको छ । आफूहरूले तिरेको करबापत कामपाले स्वास्थ्य सेवा दिनुपर्ने माग नगरवासीले गर्दै आएका थिए ।

महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरस्तरीय अस्पताल निर्माण गर्ने उल्लेख गरेको छ । अस्पताल कहाँ निर्माण गर्ने र कति शैयाको हुने भन्ने छिट्टै टुंगो लगाइने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । उनले भने, ‘महानगरवासीकै अनुरोध र यहाँको आवश्यकताको आधारमा नगर अस्पतालको योजना बनाइएको हो ।’ उक्त अस्पताल निर्माणका लागि कुन स्थान उपयुक्त हुन्छ भन्ने अध्ययन भइसकेको छैन ।

चालू आवभित्रै उपयुक्त स्थान छनोट गरिसकेर काम सुरु गर्ने योजना रहेको कामपाले जनाएको छ । महानगरभित्र विभिन्न स्थानमा जग्गा भए पनि सबैभन्दा पायक स्थानमा पर्ने जग्गा छनोट हुने प्रवक्ता डंगोलले बताए । उनले भने, ‘महानगरका ३२ वटै वडाका बासिन्दालाई सहज पर्ने स्थानको खोजी सुरु भइसकेको छ ।’

महानगरपालिकाका विभिन्न वडामा नगर स्वास्थ्य क्लिनिक छन् । तिनले महानगरवासीलाई आधारभूत स्वास्थ्य सेवा दिँदै आएका छन् । चालू आवमा नै ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने योजना बनाएको कामपाले आगामी आवमा जनस्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत १६ करोड २० लाख ३२ हजार छुट्याएको छ ।

प्रतिक्रिया