नेविसंघद्धारा निःशुल्क स्वास्थ्य शिविर

रौतहट । नेपाल विद्यार्थी संघको आयोजना र प्रजातान्त्रिक बिचार केन्द्र रौतहटको स्थानीय समन्वयमा रौतहटको बाढीपीडित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

महानायक बिपी कोइरालाको ३७औँ स्मृति दिवसको अवसर पारेर जिल्लाको गढीमाई नपा–३ लक्ष्मीपुरमा सोमबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको नेविसंघले जनाएको छ । महामारी फैलन नदिन र बाढीपीडितको स्वास्थ्य अवस्था बुझ्न शिविर सञ्चालन गरिएको नेविसंघले जानकारी दिएको छ । शिविरमा सो क्षेत्रका बाढीपीडितको स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधीसमेत वितरण गरिएको रौतहट नेविसंघका नेता सुमन गौतमले जानकारी दिए ।

काठमाडाैंबाट नेविसंघका नेता दीपक भट्टराईको नेतृत्वमा निःशुल्क स्वास्थ्य शिविरका लागि दर्जनबढी नेता डाक्टर र औषधिसहित रौतहट आएका हुन् । निःशुल्क स्वास्थ्य शिविरमा टिचिङ अस्पताल महाराजगञ्जका डा.प्रज्ज्वल घिमिरे, डा.सागर पन्त, डा.सागर अधिकारी, डा.मिलन खनाल, डा.नारायण कँडेल र डा.युवराज श्रेष्ठले बाढीपीडितको स्वास्थ्यजाँच गरेको प्रजातान्त्रिक विकास केन्द्रका अध्यक्ष रबिनचन्द्र कोइरालाले जानकारी दिए । शिविरमा ४ सय ६२ जनाको स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ ।

यता बिपी स्मृति दिवसमा वृक्षरोपणसमेत गरिएको छ । चन्द्रनिगाहपुरको कमलामाइस्थान बिपी वनबाटिकामा नेपाली कांग्रेसका नेता तथा कार्यकताहरूले वृक्षरोपण गरेका हुन् । वृक्षरोपण कार्यक्रममा रौतहट–४ का प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिना, प्रदेशसभा सदस्य धनलाल ठोकर र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले बिपी वाटिकामा विभिन्न प्रजातिका बिरुवा रोपेका हुन् । उक्त वाटिकामा वृक्षरोपण गरी हराभरा बनाउने योजना रहेको सो वाटिकाका अध्यक्ष खिलाप्रसाद लामिछानेले बताए ।

प्रतिक्रिया