वृद्धवृद्धाहरूलाई घरघरमै उपचार

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिकाका–१ देखि ११ सम्मका वडाहरूका ६० वर्षभन्दा माथिका वृद्धवृद्धाहरूलाई घरघरमा गएर स्थानीय जडीबुटीबाट उत्पादित औषधिबाठ उपचार गरिरहेको आयुर्वेद शाखाले जनाएको छ ।

नगरपालिकामा पाइने अमला, पायल्स रोगका लागि बकाइनो, हर्रो, बर्रो, गुर्जो, जामुन, कुरिलोजस्ता विभिन्न जडीबुटीहरू संकलन गरी विभिन्न रोगीहरूको उपचार गरिरहेको छ । खाँडाचक्र नगरपालिकाले नगरपालिकामा रहेका विभिन्न जडिबुटीहरू संकलन गरी आयुर्वेदिक औषधि उत्पादन गरेको छ । स्थानीय स्तरमा पाइने विभिन्न किसिमका जडीबुटीहरू संकलन गरी औषधि उत्पादन गर्ने गरेको छ ।

उत्पादित औषधि प्रत्येक महिनाको एकपटक गाउँमै गएर ज्येष्ठ नागरिकहरूको उपचार गर्दै आएको नगरपालिकाका आयुर्वेदिक शाखा प्रमुख लक्ष्मिप्रसाद पाण्डेले बताए । ‘सुखी, समृद्ध र स्वास्थ नगरपालिकाको नारा पूरा गर्न प्रत्येक ज्येष्ठ नागरिकका घरघरमा उपचार सेवा दिइरहेका छौँ ।

गाउँमा हामी जाँदा त्यहाँका नागरिक भगवान् मानेर सम्मान गर्छन् । वास्तवमा स्थानीय सरकार भनेको तपाईं पो हुनुहुँदोरैछ भन्छन् । आफूलाई हर्ष लाग्छ’, उनले भने, ‘स्थानीयस्तरमा पाइने जडीबुटी संकलन गरी हामीले विभिन्न रोगलाई निको पार्न औषधि उत्पादन गरेका छौँ । नगरपालिकासँग समन्वय गरी महिनाको एकपटक ज्येष्ठनागरिकको घरमै गएर उपचार दिइरहेका छाैँ ।

गाउँघरमा आर्थिक अभाव र चेतनाको अभावमा धेरै नागरिकहरू औषधि उपचारबाट वञ्चित हुनुपरेको देख्यौँ । अहिले गाउँमा यो कार्यक्रम चलाएदेखि स्थानीय नागरिक हर्षित छन् । यो कार्यक्रम प्रभावकारी भएपछि नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा राखेको छ । अर्को वर्षदेखि नगरपालिकामा आयुर्वेदिक औषधालय स्थापना गर्ने नीति तथा कार्यक्रममा राखेको छ ।

नगरपालिकामा स्टिम बाथ सञ्चालन
नगरपालिकाले जिल्लाका नौ वटै स्थानीय तहलाई समेटी मान्ममा बाथरोगीका लागि स्टिम बाथ सञ्चालनमा ल्याएको छ । बाथ रोगीका लागि हप्ताको तीन दिन (आइतबार, मंगलबार र बिहीबार) सेवा दिँदै आएको छ । १० देखि १५ जना बाथका रोगीले दैनिक सेवा लिने गरेका छन् । आयुर्वेदिक उपचारका लागि सञ्चालन नहुँदा अगाडि जुम्ला लगायतका ठाउँमा जाने गथ्र्यौं अहिले जिल्लामै सञ्चालन भएदेखि उपचार पाउँदा सहज भएको रास्कोट–७ निवासी बिजा बरालले बताइन् । उनले भनिन्, ‘तातो रगत हुँदा केही थाहा हुन्थेन । जब उमेर छिप्पिँदै गयो तब शरीरका गाठागुठी दुख्दा रैछन् । अहिले थाहा भयो । यस्तो रोगको उपचारका लागि जुम्ला पुग्नुप¥यो । अहिले त जिल्लामै सञ्चालन भएको छ । उपचार गर्न पाउने भएँ ।’

बिजा मात्र नभई दमको उपचार गर्न शिविरमा आएका खाँडाचक्र नगरपालिका–५ का आइते कार्कीले खुसी हुँदै भने, ‘पोहोर साल आँखा शिविरले आँखा दियो अहिले नगरपालिकाले घरमै उपचार दिन आयो । सारै खुसी लाग्यो । खुट्टा दुखेर राती सुत्न पाइँदैन थियो । अब सुत्न पाउने भएँ । यो भन्दा अरू केही चाहिँदैन यति भएपुग्छ । धन्यवाद छ ।’ गाउँमै यस्तो उपचार सेवा लिन पाएपछि यहाँका ज्येष्ट नागरिक खुसी भएका छन् ।

प्रतिक्रिया