आधुनिकताको नाममा इतिहास मास्न हुन्न

रानीपोखरी– राजधानी काठमाडौंको शोभा, सौन्दर्य । यो इतिहासको, सम्पदाको धरोहर, संस्कृतिका हिसाबले दिदीबहिनी नहुने दाजुभाइका लागि भाइटीका अर्थात् तिहारमा सप्तरंगी टीका लगाइदिने दिदी, अनि मधेस–पहाड जोडने छठपर्वमा षष्ठीदेवीको उपासना गर्ने थलो पनि हो ।

हुन त गुठीजस्तै यो पोखरी पनि कसैका लागि सामन्तवादको अवशेष भयो होला । त्यसैले, यसलाई सुरक्षा गर्ने, बिउँताउने, संरक्षण गर्ने केही गणपतिलालहरूले अथक संघर्ष गर्नुप¥यो । समय क्रममा देखिने राजनीतिक परिवर्तनले यस्ता ऐतिहासिक स्थानलाई हानी वा नोक्सानी पुर्याउनु हुँदैन । राजनीति समाज परिवर्तनको अंग हो इतिहास, कला र संस्कृति फरक पाटो हो । यसलाई आधुनिकतामा परिणत गराउन खोजिएको हो भने पनि त्यो ठीक होइन ।

हुनसक्छ, कसैलाई यो पोखरीको नामनिसान नै मेटन मन लागेको होला । सामन्तवादको अवशेष अर्थात रानीपोखरी कसैलाई इतिहास, परम्परा र संस्कृतिप्रति घृणा लागेर मात्र हुने रहेनछ । आखिर इतिहासलाई बचाउने गणपतिलालहरू अगाडि आउने रहेछन् । कसैले तेरो बाबुबाजे कुल सबै सामन्तवादको अवशेष हो भनिदियो भने त्यसलाई कसैले सहजै मान्छ र ?

आखिर अनेक प्रयासले रानीपोखरी बच्यो । यसलाई मनोरञ्जन केन्द्र बनाएर धन कमाउने महानगरपालिकाको योजना थियो होला । महानगरको योजना सफल भएको भए यस ठाउँमा केएफसी, पबहरू खुल्थ्यो होला । स्वदेशी र विदेशी युवापुस्ता रमाउँदै गफिन्थे होलान् । नयाँ र आधुनिक पुस्ताका केहीलाई सहज लागे पनि पुराना पुस्ताका मान्छेलाई असहज लाग्ने वातावरण देखिन्थे होलान् । हुन सक्थ्यो त्यस पवित्र स्थान जसले इतिहास र संस्कृतिको धरोहर बोकेको थियो त्यहाँ स्पा, मसाज केन्द्र, डान्सबार, नाइट क्लब खोलेर राजस्व बढाउने योजना थियो होला । इतिहास मासेर मनोरञ्जन यो कस्तो समृद्धिको सपना हो ?

ऐतिहासिक रानीपोखरीको निर्माण गराएका राजा प्रताप मल्लले सं.१७२७ को शिलालेखले रानीपोखरीको महत्व दर्शाउँछः

ॐ । श्री ३ कालिकायै । शस्त्रशास्त्र संगीतादिसकलवविद्यापारंग महाराजाधिराज नेपालेश्वर विदाघचूडामणि सकरराजचत्राधीश्वर श्री श्री राजराजेन्द्र कवीन्द्र जय प्रतापमल्ल देवन श्री श्री श्री परमेश्वर परमेश्वरी ब्रह्माभूमिनेमकृत ।

अतः परं भाखा–श्री श्री जय प्रतापमल्ल देवन आफुले सास्त्र हेरिकन असंख्यात पुन्य देखिकन निकसिकन गंगा आदि नाना तिर्थको जल लेइकन महाराजाधिराज नेपालेश्वर राज–राजेन्द्र श्री श्री जय चक्रवर्तेन्द्रमल्लदेवको नामले बनायाको पोषरिमहा राष्याको छ । श्री बारानशिको गंगाजल, श्री वैद्यनाथको गंगाजल, श्री वाग्मतिको जल भारि १०६४१, श्री शंषमुलको जल, श्री पनति तिर्थको संगमको जल, श्री गंडकीको जल, श्री कौशिकिको जल, श्री सुन्दरी नदिको जल वहाइकन पोषरि भर्याँ ।

श्री नीलकंठको जल भारि ६३५, श्री विष्णुमतिको जल, श्री विश्वनाथको जल, बहाइकन, आफुले संकल्प गरिकन पानि राष्यो । श्री तेचायको जल, श्री वागेश्वरको जल, श्री मनमतिको जल, शंखदहको जल, श्री कागेश्वरको जल, श्री वाग्मतिनाभको जल, श्री सपनतिर्थको जल, श्री कोमतिको जल, श्री ङान्हुटुको जल, श्री बालानिकंठको जल, श्री त्याङाको जल, श्री मशिलको जल, श्री थयपि जल, कौशिकीको जल, श्री तौदहको जल, श्री कटुवालको जल, श्री मातातिर्थको जल, श्री इन्द्रदहको जल, श्री गोकर्णको जल, श्री ज्ञानवापिको जल, श्री पशुकुण्डको जल, श्री सीताकुण्डको जल, श्री टेषुदोभानको जल, श्री हनुमन्तघाटको जल, श्री गोलहिटिको दहको जल, श्री ज्वालामुषिको जल श्री मुक्ति क्षेत्रको जल, श्री श्री कालिगंडकीको जल, श्री श्वेतगण्डकिको जल, श्री सरजु गंगाको जल, श्री मालिकाको जल, श्री पाताल गंगाको जल, ? श्री प्या«ग, गंगा–जमुना, सरस्वति, त्रिवेनीको जल, श्री कमलेश्वरीको जल, श्री सप्तगण्डकीको जल, श्री अनन्त लिंगको जल, श्री सिपाडोलको जल, एति तिर्थको जल, एक एक तिर्थको अनेक अनेक फल । एति तिर्थ सबै यो पोषरीमाँहा छ । यो पोषरीमाहा स्नान गरिकन देवतप्र्पन पितरतप्र्पन संध्या आदि समस्त कर्म जसले ग¥यो यति तिर्थमाहा स्नान ग¥याको कम्र्म ग¥याको पुन्य पावनु छ ।

टेटन ढोषावाहिर पनालिमाथिको देवलले सदावर्ति गुठीको षेत, जमल द्वाकचलको दक्षिण टुसागल देवल, श्री उपाध्याको पनालि । वालमसान पश्चिम उमदेवको देवल, कुलादेखि मासवखेलको उत्तर असन पनालि माथिको चौरको देवल श्री कान्तिपुर नगरको पूर्व । यति भूमिमध्यमाहा धर्नु रोजोहान्मरु गर्नु आत्महत्या आदि कसैले केही पाप यो पोषरिमाहा गर्नो नाहि, कसैले ग¥या हुँदा कोटि अगम्यागमन, कोटि अभक्षभक्षन कोटि ब्रम्हहथ्या, कोटि गोहथ्या, कोटि गुरुहथ्या, कोटि बालहथ्या, कोटि स्त्रीहथ्या, कोटि शिवलिंगध्वंशन ग¥याको पाप । एति तिर्थमहा पाप ग¥याको श्री श्री श्री परमेश्वरी नास्याको पाप । तस्का सिर कदाचित् हट गरि वस्याहुँदा, रह्या हुँदा, घिस्याइ आफल्या, वाध्य टिल्या प्राश्चित नाहि ।

दृष्ट साछि–श्री आदित्य, चन्द्रमा अग्नि, पृथ्वि, जल, आकास, वायु, आत्मा, यम, दिन, रात्रि, संध्या, धर्म, श्री ब्राम्हण पाँच, प्रधान पाँच, खस–मगर पाँच । श्री शाके १५९२ कातिक शुदि पूर्णिमा । (पाँच सय वर्षबाट साभार)

यसबाट यो पुष्टि हुन्छ कि यसको कति महत्व रहेको छ । त्यसैले यस्तो ऐतिहासिक महत्व बोकेको यस रानीपोखरीको पुनर्निमाणपछि त्यसको प्रतिष्ठा गरी माथि उल्लेख गरिएका तीर्थको जलसमेत ल्याएर राख्नुपर्छ । किनकी यो धार्मिक, सांस्कृतिक र ऐतिहासिक रूपमा महत्वपूर्ण स्थान छ । त्यसैले रानीपोखरी पुननिर्माणपछि कुनै खोलाबाट ट्यांकरमा ल्याइएको पानीले भर्ने काम नगरियोस् । यसो गर्दा यसको गरिमा कम हुन सक्छ । पुनर्निर्माण मात्रै ठूलो कुरा होइन ऐतिहासिक महत्व जोगाउनु ठूलो कुरा हो ।

रानीपोखरी फेरी कुनै अवस्थामा पुनर्निर्माण गर्नुपर्ने अवस्था नआउला । त्यसैले नयाँ पुस्ताका लागि अध्ययन र अनुसन्धानका लागि पनि यो स्थान महत्वूर्ण छ र हुनपर्छ । त्यसमा सम्बद्ध पक्षले ख्याल गरुन् ।

प्रतिक्रिया