महिनावारीको दोस्रो दिन !

गाउँको बोलचालको भाषामा आँटीको (घरको माथिल्लो तला) कोठामा धिप धिप सोलारको बत्ति, त्यस भित्र बसिरहेकी म र मेरो महिनावारीको दोस्रो दिन । तर, मेरा नजरहरू मात्र एक ठाउँमा अडिएका थिए । त्यो दुई सय मिटर पर बसेकी अधबैशे महिला जसको महिनावारीको तेस्रो दिन रहेछ । हामी दुवैको समय परिस्थिती, शारिरिक अवस्था सबै एकै थियो ।

फरक थियो त मात्र म घरको आँटीमा थिए, उनि घर भन्दा दुई सय मिटर पर ‘गोरु बाध्ने गोठको एक छेउमा’ पराल भित्र गुटमुटिएकी । असारे महिनाको झरीले उनलाई बेलाबेला जिस्क्याई रहेको थियो । किनकी त्यहाँ न भित्ता थियो न घेरबार, खुल्ला आकाशजस्तै, न पानी छेकिन्थ्यो न हावाहुरी । घरिघरि लामखुट्टेले पनि जिस्क्याइरहन्थ्यो । उनि घाँस र गोबरको बिचमा थिइन् । सायद, म पनि उनकै छेउमा त्यो रात बिताउनु पथ्र्यो होला । कारण मैले मेरो महिनावारीको दोस्रो दिन कसैलाई पनि भनिन् । म पाहुनाको रूपमा त्यस घरमा पुगेकी थिए ।

कहि कतै मेरो दिमागमा पनि ती वर्षौंदेखि मान्दै आएको ‘कु’प्रर्थाले बास बसेको थियो क्यारे । मैले आफ्नो महिनावारीको बारेमा कसैलाई भनिन् । पाहुना न थिएँ जुन कोठामा बसालीदिए, त्यहि कोठामा चुपचाप बसेँ । तर हरेकपटक झस्किरहन्थे । कतै ठुूलो आवाज सुन्दा कसैलाई धामी (देउता) त आएन भनी डराउँथे । अब त्योभन्दा बढी मनमा पीडा र हजाराँै प्रश्नहरू जन्मिरहेका थिए । किनकि, म कोठाभित्र थिएँ त्यही घरको एक महिला पानी नछेल्ने गोरु बाँध्ने गोठमा बसिरहेकी थिइन् ।

मेरो जीवनको अविष्मरणीय महिनावारीको दोस्रो दिन, जुन दिन छाउपडी अन्त्यकै अभियानमा हिँडेकी थिएँ । राति मानसिक तनावमा गुज्रिए । आफ्नै आँखा अगाडि एकजना महिला समस्याहरूसँग जुधिरहेको देख्दा पनि केही गर्न सकिन । बिहान सबैसँग यस बारेमा कुरा गर्ने आशमा सुतेकी म वर्षात््को समयले गर्दा म ब्यूँुझिन नपाउँदै सबै आ–आफ्नो काममा लागिसकेका रहेछन् । मनमा अफसोच मात्र रह्यो, सायद साँझ नै कुरा गरेको भए ? त्यो दिन यत्तिकै बित्यो, पहाडको बाटो, उकालो ओरालो हिँड्दा हिँड्दै थकित म, साथमा लुथु्रक्क परेको जिउलाई अझ थकित बनाउने गह्राैँ झोला । तर त्योभन्दा बढी गह्रुंगो मन भइरहेको थियो ।

मनमा अनेक तरंग आउथे अनी जान्थे । तर पनि मन दरिलो बनाउँदै म आफ्ना पाइलाहरू अगाडि बढाउथे । म हिँड्दै गर्दा म तिर हेरिएका ती नजरहरूलाई नियाल्थे । फरक अनुहारमा फरक–फरक हेराइहरू पाउथे । हिँड्दै गर्दा आँगनकै बाटो हिँड्नुपर्ने भएकाले कसैको अनुहारमा अलिकति संकोच पनि देखिन्थे । हिँड्दै गर्दा देखिएका ती दृष्यहरूले मलाई दुःखित अनि स्तब्ध पनि बनाउथे । जब देख्थे म आँगनको डिलभन्दा दुई मिटर पर राखिएका थाल, कचौरी र लोहोटा अनी, जब देख्थे घरभन्दा एक सय मिटर पर बनाइएका सानो गोठ । जहाँ किशोरी र महिलालाई भित्र कोचिन्छ ।

छाउपडीले विक्षिप्त बनेको कर्णालीको चेली म जुन कुप्रर्थालाई न्यूनिकरणका लागि अभियानकै क्रममा कर्णालीको प्रदेशकोे राजधानी विरेन्द्रनगर नगरपालिकासँगै सिमा गाँसिएको दैलेखको गुराँस गाउँपालिका पुगेकी थिएँ । म आफै महिनावारीको समयबाट गुज्रिरहेकिले पनि यो यात्रा अली खास बन्यो । छाडपडी न्यूनिकरणका लागि अन्तरक्रिया कार्यक्रम, जहाँ गाउँपालिकाका जनप्रतिनीधि, शिक्षक, महिला तथा बाल संजालका पदाधिकारीहरू, अभिभावक र किशोर किशोरीहरू सहभागि हुन्थे ।

मलाई लागेको थियो, यो अन्तरक्रिया फलदायी हुनेछ । किशोरीहरूले आफ्नो प्रश्नको जवाफ जनप्रतिनीधि, शिक्षक र आफ्नै अभिभावकसँग लिनेछन् । कार्यक्रम सुरु भयो र अन्त्य पनि भयो । तर किशोरीहरूको प्रश्न ‘हामी कहिले सम्म छाउगोठमा बस्नुपर्छ ?’ कहिले देखि छाउप्रर्थाको अन्त्य हुन्छ ? यस्तै यस्तै । सुरु देखि अन्तिमसम्मका प्रश्नका जवाफ सबै उस्तै–उस्तै लाग्थ्यो । जवाफमा आउथ्यो ‘विस्तारै हुन्छ’ । कार्यक्रमको अन्त्यसम्म गुन्जिरहेका ती ‘विस्तारै न्यूनिकरण हुन्छ’ भन्ने शब्दले मलाई कता कता स्तव्ध बनाएको थियो । साँच्चै एक्काइसौ शताब्दीसम्म नभएको परिवर्तन अब विस्तारै कहिले हुन्छ, कहिलेसम्म कर्णालीका छोरी बुहारी परिवर्तनको बाटो कुरिरहने ।

कार्यक्रम सकिएसँगै हामी उकालो बाटो लाग्यौँ । म त्यसको गाउँकै लागि नयाँ व्यक्ति थिए । त्यसैले, सबै किशोरीहरू मेरै अगाडि पछाडि झुम्म भएर हेरिरहेका थिए । उनिहरू आफूले भोगेका पीडा सम्झँदै समीक्षा पनि गर्थे । करिब १५ वर्षकी एक किशोरीले भनिन् दिदी महिनावारीको समयमा म दिउँसै गोठमा सुतिरहेका वेला मेरै खुट्टाबाट घ्रसिँदै सर्प दुलोभित्र छि¥यो । म त्यस रातभरी निदाउनै सकिन । आमालाई पनि भने । तर, उहाँलाई म भन्दा प्यारो देउता भएछ क्यारे केही वास्ता गर्नुभएन । दोस्रो दिन कपडाको झुम्रो मेरो वरिपरी सल्काएर जानुभयो ।

कुरा सकिएकै थिए, मैले लामो सास फेर्न नपाउँदै छेउैबाट अर्की बहिनीले निन्याउरो अनुहार लगाएर भनिन दिदी म पनि ठूलो कालबाट बाँचेको मान्छे हो । महिनावारीको समयमा गोठमा सुतिरहेको थिएँ जताततै अध्यारो थियो, उज्यालोको नाममा हातमा एउटा धिपधिप बोल्ने लाइटरको लाइट थियो । मध्यरातको मस्त निन्द्रामा ठूलो ठूलो फ्वाँ फ्वाँ आवाज आयो । हत्तपत्त लाइट बालेर हेर्दा आधा परान त्यहीँ गयो । जब मैले मेरै घरको हान्ने गोरु फुत्किएर मेरै जिउमाथि कुल्चदैँ थियो, म चिच्याउँदै त्यहाँबाट भाँगेँ र पो भाग्यले बाँचेँ । त्यस्तो मध्यरातमा कहाँ जान्थे र आँटीमा सुतेको थिए बिहान ब्युँझन नपाउँदै घरभरि मान्छे जम्मा भएको देखे । सोध्दा बज्यैलाई मुर्छा परेको रहेछ । सबै मैतिर हेर्दै धारे हात लगाउँदै एकोहोरो गाली गरिरहेको थिए । म सहन नसकी बाख्रा गोठालो गइहालेँ । पछि धामी–झाँक्रीले फुकफाक गरेपछि सञ्चो भएछ ।

त्यस दिनपछि मैले त्यो छाउगोठको घेरा नाग्ने कोसिस पनि गरिन् र मसँग प्रश्न पनि गरिन् । दिदी सहरमा पनि यस्तै हुन्छ ? उनले म माथि प्रश्न तेस्र्याइन् । उनका यि सबै कुराले म स्तब्ध थिए, प्वाक्क बोल्ने आँट आएन, मुन्टो हल्लाउँदै अँ छ भन्ने संकेत गरे । हामी हिँड्दै महिलावारी अभियान्ताको घर पुग्दै थियाैँ । टाढैबाट घर परपट्टी एउटा साना कटेरो देखियो । मैले प्रश्न गरे त्यो के हो ? सहजकर्ताले लज्जापूर्ण हेराइ जमिन तिर लगाउँदै भनिन मिस हामी महिनावारी हुँदा त्यहीँ बस्छौँ । मैले कतिपटक घरमा सम्झाउँने प्रयास गरे तर कसैले सुनेनन् । घरमै देवर धामी छन् मैले छाउगोठ भत्काउनुपर्छ भन्दा देवर र देउरानी बहिनी अहिलेसम्म मसँग बोली बारेका छन् । भन्न पनि लाज लाग्छ मेरै ससुरा वडासदस्य हुनुहुन्छ ।

मैले उनलाई नेपालको कानुनले छाउपडीलाई अपराध मानेको छ भन्दै सम्झाँए । कानुनमै प्रष्ट रूपमा सजायसमेत तोकेको छ । यसै सन्दर्भमा मलाई एकजना आमाले भनेको कुरा याद आउँछ ‘हामी छाउगोठमा सुत्छौँ, प्रहरी कहिल्यै हेर्न आउँदैन । कानुन त छ भन्छन् तर सजाय खै कसले पायो, गाउँ गाउँमा छाउगोठ छन् किताबमा मात्रै कानुन भएर हुन्छ र ? ‘महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन ।

०७४ भाद्र १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन, ०७४ को दफा १६८ को उपदफा (३) मा भएको व्यवस्था हो यो । उक्त दफाको उपदफा (४) मा कसैले यस्तो कसुर गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । अझ उपदफा (५) मा राष्ट्रसेवकले यस्तो कसुर गरेमा निजलाई थप तीन महिनासम्म कैद सजाय हुने व्यवस्था गरेको छ ।

ऐन लागु भएको नौ महिना बित्दा पनि यो व्यवस्था अनुसार कसैलाई कारबाही भएको छैन । बाटोभरि हिँड्दा मैले महसुस गरे यो समस्या मात्र उनी एक सहजकर्ताको होइन, जो बाहिर छाउपडी न्यूनीकरणका लागि दिनभरी अभियान चलाउँछिन् तर साँझ घर आएर आँगनसम्म नटेकी छाउगोठमा रात बिताउँछीन् ।

मैले भनिरहेका यी पात्रहरू कर्णाली प्रदेशकै प्रतिनिधि पात्र हुन् । जो कर्णाली अधिकांश क्षेत्रमा देख्न पाउँछौँ । यी सबै वृतान्त सुनिसकेपछि मेरो मन र मष्तिस्कले फरक–फरक सवालमा झस्काइरहन्थ्यो । मन भन्थ्यो यो समाजमा सबैले यहि रिती मान्दै आएका छन् । तैले पनि उनीहरूको कदर गर्नुपर्छ । आज तेरो महिनावारीको दोस्रो दिन । फेरी मेरै दिमागले भन्थ्यो सजना तँ एक अभियानकर्ता होस् । तैले नै सुरुवात नगरे कसले गर्ने ?

प्रतिक्रिया