प्रदेश–५ मा ६३ प्रतिशत बजेट खर्च

बुटवल । प्रदेश–५ सरकारले जम्मा ६३ प्रतिशत बजेट खर्च गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले बारम्बार बजेट कार्यान्वयन जसरी पनि हुने बताइरहँदा आव ०७५-७६ मा प्रदेशमा ६३ प्रतिशत बजेट खर्च भएको हो ।

प्रदेशको कुल २७ अर्ब १६ करोड १७ लाख बजेट मध्ये १७ अर्ब १४ करोड ८४ लाख रुपैयाँ खर्च भएको हो । प्रदेश लेखा नियन्त्रक कार्यालय बुटवलका अनुसारका चालुतर्फ ६ अर्ब ८७ करोड ७१ लाख र पुँजीगततर्फ १० अर्ब २७ करोड १३ लाख रुपैयाँ खर्च भएको कार्यालयका प्रमुख दीपक ज्ञवालीले जानकारी दिए ।

बजेट खर्च गर्ने मध्ये सबैभन्दा अगाडि सामाजिक विकास मन्त्रालय रहेको छ । गोष्ठी र तालिम एवं सचेतनामूलक कार्यक्रममा करोडाँै खर्च गरेको आरोप लागेको सामाजिक विकास मन्त्रालयले आव ०७५÷७६ मा ७९ प्रतिशत बजेट खर्च गरेको छ ।

त्यस्तै सबैभन्दा कम उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले ३ अर्ब ३२ करोड ६३ लाख रुपैयाँ कुल बजेट मध्ये २ अर्ब ६४ करोड ३७ लाख अर्थात ७९ प्रतिशत बजेट खर्च गरेको हो । त्यसैगरी सबैभन्दा कम खर्च गर्ने मन्त्रालय उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको कुल ३ अर्ब ३४ करोड ६३ लाख बजेट मध्ये १ अर्ब ७१ करोड ३६ लाख अर्थात ५१ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।

आन्तरिक मामिला तथा योजना मन्त्रालयको कुल बजेट १ अर्ब ४१ करोड ९ लाख मध्ये ७४ करोड ३ लाख रुपैयाँ खर्च भएको छ । त्यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ७४ प्रतिशत बजेट खर्च गरेको छ । कुल ३ अर्ब ४६ करोड ६ लाख बजेट मध्ये २ अर्ब ५५ करोड ३ लाख रुपैयाँ खर्च भएको छ ।

यसैगरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ५६ प्रतिशत बजेट खर्च गरेको छ । ३ अर्ब ६५ करोड ४५ लाख बजेट मध्ये २ अर्ब ४ करोड १५ लाख रुपैयाँ बजेट खर्च भएको बताइएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको ५८ प्रतिशत बजेट खर्च भएको छ । १३ अर्ब ६६ करोड ७७ लाख बजेट मध्ये ७ अर्ब ९५ करोड २४ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । यसैगरी प्रदेश व्यवस्थापिकातर्फ ८१ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयतर्फ ७९ प्रतिशत, मुख्य न्यायाधिवक्ता कार्यालयमा ७७ प्रतिशत बजेट खर्च भएको छ ।

त्यस्तै प्रदेश–५ का १२ जिल्लामा जम्मा ६३ प्रतिशत बजेट खर्च भएको छ । जसमा सबैभन्दा बढी अर्घाखाँचीमा ८४ प्रतिशत र सबैभन्दा कम कपिलबस्तु जिल्लामा जम्मा ३८ प्रतिशत बजेट खर्च भएको हो । अर्घाखाँचीमा कुल ३ अर्ब ७४ लाख बजेट मध्ये २ अर्ब ५९ करोड ३ लाख रुपैयाँ बजेट खर्च भएको छ । त्यसैगरी सबैभन्दा कम कपिलबस्तु जिल्लामा कुल २ अर्ब २६ करोड १ लाख बजे मध्ये ८५ करोड ९३ लाख रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया