न्यायिक समितिद्वारा ६१ मुद्दाको मिलापत्र

धनगढी । गोदावरी नगरपालिकाको न्यायिक समितिले गत आवमा उजुरी परेका ७१ मुद्दामध्ये ६१ मुद्दालाई मिलापत्र गरेको छ । न्यायिक समितिमा आव ०७५-७६ मा परेका ७१ मुद्दामध्ये ६१ मुद्दालाई मिलापत्र गरेको हो ।

समितिमा जग्गासम्बन्धी परेका उजुरी ३३, घरेलु हिंसाका १९, लेनदेन खोजतलाससम्बन्धी सिफारिस, सम्बन्ध विच्छेद, बाटो, गालीगलौज र अन्य गरी १८ मुद्दाहरू दर्ता भएका गोदावरी नगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक रत्ना कडायतले जानकारी दिइन् । उनले गत आवमा परेका उजुरी मध्ये ६१ मुद्दाको मिलापत्र गरिएको र अन्य नौ वटा मुद्दाको मिलापत्रका लागि प्रक्रिया अघि बढाएको बताइन् ।

ब्राह्मण लेनदेन तीन, क्षेत्री लेनदेन एक, जनजाति घरेलु हिंसा तीन, दलित घरेलु हिंसा चार, क्षेत्री घरेलु हिंसा ११ र ब्राह्मण घरेलु हिंसा तीन, बाह्मण जग्गासम्बन्धी पाँच, दलित जग्गासम्बन्धी तीन, क्षेत्री जग्गासम्बन्धी १६, जनजाति जग्गासम्बन्धी तीन, दलित खोजतलाससम्बन्धी सिफारिस गरेको एक, ब्राह्मण, क्षेत्री, क्षेत्री बाटो सिमाना विवाद तीन, क्षेत्री कुटपिट एक, जनजाति सम्बन्ध विच्छेद एक अन्य दुई, दलित गालीगलौज एक, जनजाति बाटो सिमाना विवाद एक गरी ६१ मुद्दाको मिलापत्र भएको संयोजक कडायतले बताइन् ।

त्यसैगरी वडा–१ र ५ का लागि साविक गेटा वडा–२, ३, ४ का लागि मालाखेती, वडा–६, ७, ८ का लागि श्रीपुर, वडा–९ का लागि बेलादेवीपुर र वडा–१०, ११, १२ का लागि साविक गोदावरीको ओलानी क्षेत्रमा मिलापत्र केन्द्र स्थापना गरी कामलाई द्रुतगतिमा अघि बढाएको उनले बताइन् ।

बढीजसो घरेलु हिंसा जग्गा विवाद सम्बन्ध विच्छेदजस्ता उजुरी न्यायिक समितिमा पर्ने गरेको बताउँदै उनले भनिन्, ‘उजुरीमाथि पटकपटक म्याद थपाएर पीडित पक्षलाई बोलाएर नै मिलापत्र गर्ने गरिएको छ ।’ कतिपय उजुरी हाम्रो अधिकार क्षेत्रभित्र पर्दैन तर पनि त्यस्ता उजुरी लिएर पीडित पक्ष आउने गरेको र दुइटै पक्ष मिल्न खोजे मिलापत्र गर्ने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया