सामाजिक सञ्जालले बढायो सम्बन्ध विच्छेद

स्याङ्जा । वैदेशिक रोजगारी र सामाजिक सञ्जालको दुरुपयोगका कारण सम्बन्ध विच्छेदका घटना बढ्दै गएको विश्लेषण स्याङ्जाको अदालतले गरेको छ । पछिल्लो समय जिल्लामा सबैभन्दा बढी सम्बन्ध बिच्छेद गराई पाऊँ भन्ने प्रकृतिका मुद्दा बढ्न थालेको जिल्ला न्यायाधीश रमानाथ पौड्यालले जानकारी दिए ।

अधिकांश पति रोजगारीको सिलसिलामा विदेश हुने, पत्नी बच्चाबच्ची पढाउने बहानामा सहर बजार झर्ने र सामाजिक सञ्जालबाट परपुरुषसँग सम्बन्ध राख्ने प्रकृतिका मुद्दा बढ्दै जान थालेको हो । यस्ता प्रकृतिको मुद्दा निराकरण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सबै सचेत हुन आवश्यक रहेको न्यायाधीश पौड्यालले बताए ।

स्याङ्जामा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी रहेको जिल्ला अदालतले जनाएको छ । आव ०७५÷७६ मा सम्बन्ध विच्छेद गराई पाउँ भनी मुद्दा दर्ता गर्नेको संख्या २ सय ९६ रहेको स्रेष्तेदार नन्दप्रसाद आचार्यले जानकारी दिए । सम्बन्ध विच्छेदका कुल मुद्दा मध्ये २ सय १६ वटा मुद्दा फैसला भएका छन् । बाँकी ८० मुद्दा फैसला हुन बाँकी रहेको आचार्यले बताए ।

जिल्ला अदालतले ७० प्रतिशत मुद्दा फस्र्योट गर्ने लक्ष्य राखेको भए पनि ६० दशमलव ५५ प्रतिशत मात्र मुद्दा फस्र्योट गरेको बताउँदै आचार्यले भने, ‘नयाँ देवानी संहिता र जिल्ला न्यायाधीशको सरुवाको कारणले लक्ष्यअनुसार मुद्दा फस्र्योटमा समस्या आयो ।’ आव ०७५÷७६ मा कुल ९ सय ५ वटा मुद्दा दर्ता भएका थिए । कुल दर्ता भएका मुद्दा मध्ये ५ सय ४८ मुद्दा फैसला भएको छ । देवानीतर्फका ५ सय ५७ मुद्दा मध्ये २ सय ८, दुनियावादी फौजदारीतर्फ १ सय ६ मध्ये ३३, सरकारवादी फौजदारीतर्फका ६० मध्ये ४३ वटा र पुनरावेदन सरकारवादी फौजदारी २० मध्ये १५ वटा मुद्दामा फैसला भएको छ ।

यसैगरी अदालतले दुई वर्ष नाघेका २२ वटा र २ वर्षभित्रका २४ वटा मुद्दा फस्र्योट गरेको छ । बहुविवाहतर्फका १५ मध्ये सात वटा फैसला भएका छन् ।

जिल्ला अदालतमा मेलमिलापतर्फ ७१ मुद्दा मध्ये ३२ वटामा सफलता मिलेको छ । २८ वटामा मेलमिलापको प्रयास असफल भएको र ११ वटा प्रक्रियामा रहेको बताइएको छ । अदालतले मेलमिलापकर्ता, परामर्श सेवा, वैतनिक कानुन व्यवसायीको व्यवस्था, मिट द जज, न्यायिक संवाद, बार र वकिलसँगको सम्बन्ध, बाल न्यायलगायत अर्धन्यायिक निकायसँगका विविध कार्यक्रम सञ्चालन गर्दै आएको र बाल इजलास र पारिवारिक महिलासम्बन्धी संवेदनशील मुद्दा गोप्य इजलासमा गरिँदै आएको जिल्ला न्यायाधीश रमानाथ पौड्यालले जानकारी दिए । निष्पक्ष न्याय दिनु अदालतको कर्तब्य र दायित्व भएको न्यायाधीश पौड्यालको भनाइरहेको छ । उनी भन्छन्, ‘मुद्दामा आउने दुबै पक्षलाई सकेसम्म मेलमिलाप चौतारीमा छलफल गराउने र दुबै पक्षले विन–विन महसुस गराएर फैसला गर्ने पद्धती अपनाएका छौँ ।’

अदालतमा ३९ हजार १ सय १९ ओटा मिसिल रहेको र जसमध्ये १९८० को मिसिल सबैभन्दा पुरानो भएको स्रेस्तेदार नन्दप्रसाद आचार्यले जानकारी दिए ।

प्रतिक्रिया