स्याङ्जा । मानिसको लाइन छ, तँ छाड म छाड छ । कोही हातमा बेर्ना लिएर हँसिलो मुहार भएर फर्किंदै छन् कोही भने पालो पर्खिंदै ।
यो दृश्य हो, डिभिजन वन कार्यालय स्याङ्जाको । चार महिनाअगाडि बिरुवा लिन नाम दर्ता गराएका गल्याङ–१०, दुबिन डाँडाका डोलराज खनाल निकै खुसी थिए । कागतीको बेर्ना लिन आएका खनाल बाँदर आतंकबाट आजित परेका थिए । बाँदरले आफ्नो गाउँका १६ घर बिस्थापित गरेको स्मरण गर्दै उनले भने, ‘बाँदरले सबै सखाप पारेको छ । खेतबारी बाँझै छन्, अब कागती नै यसको विकल्प रहेछ । हामी व्यावसायिक खेती गर्ने सोचमा छौँ ।’
विगतका वर्षहरूमा वन कार्यालयमा विभिन्न प्रजातिका बेर्ना त्यसै फालिन्थे । यस वर्ष भने बिरुवाको बेर्ना लिन डिभिजन वन कार्यालय आउनेको संख्यामा वृद्धी भएको छ । आव ०७५÷७६ को नयाँ कार्यक्रमअन्तर्गत डिभिजन वन कार्यालय स्याङ्जाले दुई लाख बेर्ना वितरण गरेको हो ।
‘विगतका वर्षहरूमा रुख प्रजातिलाई प्राथमिकता दिने चलन थियो । तर, आव ०७५÷७६ को कार्यक्रममा फलपूmल तथा सौन्दर्यवद्र्धक बिरुवा प्राथमिकतामा राख्दै वितरण गरेका छौँ’, वन अधिकृत कोमलराज काफ्लेले भने, ‘यो नयाँ कार्यक्रम भएकाले पनि जनता उत्साहित भएको हुन सक्छ ।’ नर्सरीमा हार्डेनिङ अफ गरेको बिरुवा भएको कारण यहाँबाट वितरण गरिएको सबै बिरुवा गुणस्तरीय भएको काफ्लेको भनाइ छ ।
एकल व्यक्तिलाई अधिकतम सय वटा र सामूहिक नाम दर्ता गराएका कृषकलाई मागअनुसार विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको थियो । यसैगरी जिल्लाभरका विभिन्न वडा कार्यालय, सरकारी कार्यालय पनि वन कार्यालयमार्फत बिरुवा लैजाने र विरुवा रोपण गर्ने अभियानमा लागे ।
जिल्लामा बाँदर समस्या भएको कारण बाँदरले नखाने फ्रुट प्रजातिका कागती र टिमुर लगायतका बिरुवा सबैभन्दा माग रहेको सहायक वन अधिकृत पूण्यप्रसाद भारतीले बताए । गल्याङ, पुतलीबजार र वालिङमा यस्ता बिरुवा बढी खपत भएको भारतीले बताए ।
बाँझो जमिनमा रुखजन्य, बाँदर लाग्ने क्षेत्रमा काँडा सहितको फलपूmल प्रजाति र घर वरपर सजावटको रूपमा कपुर, अशोका र धुपीजस्ता बिरुवा अत्यधिक खपत भएको सहायक वन अधिकृत वसन्त केशव अधिकारीले बताए ।
समूहलाई प्राथमिकता दिँदै पकेट क्षेत्रअन्तर्गत विभिन्न स्थान पहिचान गर्दै माटो र भूगोल सुहाउँदो फलपूmलको बेर्ना वितरण गरिएको अधिकारीले बताए । चापाकोटमा आँप र कटहरको सम्भावना रहेकोले वडा–९ र १० मा आँप र कटहरको बेर्ना वडा कार्यालयमार्फत पठाइएको अधिकारी बताउँछन् । पकेट क्षेत्रमा समृद्धी ल्याउने र युवा पुस्तालाई फलपूmल खेतीतर्फ आकर्षित गर्न रुद्राक्ष, एभोकाडो, अाँप, लिच्ची, निम, कटहर, कागती, टिमुर लगायतका फलपूmल वितरण गरिएको थियो ।
जिल्लामा वन समन्वय समितिमार्फत वन क्षेत्रका कार्यक्रम छलफल गर्दै अघि बढाइएको कारण वन कार्यालयको कार्यक्रम प्रभावकारी रहेको वन अधिकृत काफ्लेले बताए । यस वर्ष वैज्ञानिक वन व्यवस्थापन, वृक्षरोपण, फलपूmललाई प्राथमिकता लगायतका नमुना कार्य गरिने काफ्लेको भनाइ छ ।
प्रतिक्रिया