सचेत नागरिक अचेत सरकार

आम नागरिकहरू सचेत भएकोले आइफा अवार्ड आफ्नै लगानीमा नेपालमा आयोजनागर्ने निर्णयबाट सरकार पछि हट्नु परेको थियो । नागरिकहरू सचेत हुँदै गए पछि कुनै पनि सरकाले मुलुक माथि अनुचित निर्णय थोपर्न सक्दैन भन्ने कुरा आइफा अवार्ड, गुठी विधेयक लगायत धेरै प्रकरणले पुष्टि गरेको छ । मुलुकका आम नागरिक अब सचेत भइसकेका छन् भन्ने यर्थाथता हेक्का राख्न नसक्ने सरकार आफँै अचेत हो । नेकपाको स्थायी एकमनाको सरकार अझ भनौ २ तिहाइको शक्तिशाली सरकार छोटो समयमै पत्रु साबित भएको छ ।

खड्गप्रसाद ओली नेतृत्वको वर्तमान सरकारबाट आम नागरिकहरू मात्र नभई सत्तारुढ दलका नेता तथा कार्यकर्तासमेत सन्तुष्ट छैनन् । प्रधानमन्त्री ओलीका पहिलेदेखिका हनुमान तथा भजनमण्डलीमा रहेका बाहेक सरकारको गतिविधि प्रति सर्वत्र आलोचना हुन थालेको छ । स्वयं नेकपाका नेता तथा कार्यकर्ताहरूले धैर्यता टुटाइसकेका छन् । सरकारले जति पनि काममा हात हालेको छ सबै विवादास्पद र आपत्ति जनक ठहर भएका छन् ।

प्रायजसो निर्णयमा आफँै घुँडा टेकेर पछि हट्न प्रधानमन्त्री ओली बाध्य भएका छन् । पछिल्लो समयमा सरकारले प्रस्ताब गरेका विधेयकहरू यसका ज्वलन्त उदाहरणहरू हुन् । केही साताअघि सरकारले देशको ढुकुटी खर्चेर गर्ने भनेको बलिउडको आइफा अवार्डको चौतर्फी विरोध भयो । संसदीय समितिको कडा निर्देशन पछि सरकारले आइफा अवार्ड नगर्ने निर्णय गरेको छ । पछिल्लो समयमा सरकारको निर्णयहरू स्वयम प्रधानमन्त्री ओलीको भनाइमा पनि विवाद हुने गरेका छन् । प्रधानमन्त्री ओलीले काठमाडांै सहरमा अहिले मास्क लगाएर हिँड्नु नपर्ने दाबी गरे । झम झम पानी परेको अवस्थामा बाहेक माक्स नलगाई काठमाडौंमा हिँड्न सकिने अवस्था छैन । काठमाडौं धुलो धँुवा र हिलोले आक्रान्त छ । प्रधानमन्त्री ओलीले फटाहा कुरा गरे भन्ने चर्चा काठमाडौंमा छ ।

तर प्रधानमन्त्री ओली यस्ता चर्चा सुन्नसमेत चाहँदैनन् । उनी भन्छन्–‘ मेरो विरोध गर्नका लागि मात्रै माक्स लगाइएको हो ।’ प्रधानमन्त्री ओलीका यस्तै गतिविधि तथा निर्णयहरूले गर्दा आम नागरिकहरूले मात्र नभई सत्तापक्षका नेताहरूले समेत सरकारको आलोचना गरिरहेका छन् । त्यसोत सरकारको आलोचना गर्ने नेकपाका नेताहरूलाई प्रधानमन्त्री ओली तथा उनका निकटस्थहरूले ‘मन्त्री बन्न नपाएकोले झोक पाखेको’ आरोप पनि लगाउने गरेका छन् । तर सत्य यही हो कि–‘ दुईतिहाइ कहुमतको बलियो शक्तिशालि सरकारको डेड बर्षको काम बाट कोहि पनि कुनै पनि क्षेत्रमा सन्तुष्टि भने छैन ।’

त्यसो त डेढ वर्षको छोटो समयमा आम नागरिकहरूको अपेक्षापुरा गर्न सकिँदैन । तर, थालनी त गर्न सकिन्छ नि । डेड वर्षको समयावधि भनेको कम होइन, डेढ वर्षको समयमा पनि धेरै काम गर्न सकिन्छ । ठूला ठूला आयोजनाको काम गर्न नसके पनि बौद्ध जोरपाटि साँुख सडक पिच गर्ने काम त सम्पन्न गर्न सकिन्छ होला नि । मेलम्ची, माथिल्लो तामाकोसीलगायत निर्माणाधीन आयोजनाहरूको काम सुचारू गर्न त सकिन्छ नि ।

तर खोइ काम गरेको ? दुई–चार हप्तामा गर्न सकिने काम डेढ वर्षमा पनि नसकिँदा जनता निराश हुन स्वभाविकै हो । स्वयम प्रधानमन्त्री ओली कामभन्दा रुखा भाषण र उखानका टुक्का प्रयोग गरेर शत्रु बढाउँदै छन् । काठमाडौंमा मास्क लगाएर हिँड्न नपर्ने भएको छ भन्दै फटाहा फटाहा कुरा गरेर रमाइरहेका छन् । ओलीका आसेपासेहरू सरकारी मिडियाको दुरूपयोग गर्दै चाकडी चाप्लुसी बजाइरहेका छन् । कि कसो मनोज पाण्डेज्यु ?

प्रधानमन्त्री ओली भ्रष्टाचारलाई शून्य सहनशीलतामा झार्ने भाषण गर्छन् । तर, भ्रष्टाचारीलाई कारबाही नगर्ने मात्रै होइन पालेर नै राख्छन् । भ्रष्टाचारका दुर्नाम व्यक्तिहरू प्रायजसो प्रधानमन्त्री निवास वालसवाटारमै देखिने गर्छन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई खड्गले हानुन भन्ने जनता चाहन्थे । प्रधानमन्त्रीको नामै खड्ग तर धार नभएको खड्गजस्तो भइरहेका छन् । प्रधानमन्त्री ओलीको नाकै मुनि ३३ किलो सुन काण्ड, वाइडबडी काण्ड, एनसेल राजस्व काण्ड, चर्चित निर्मला बलात्कार तथा हत्या काण्ड भए ।

तर, खोइ त कारबाहीको प्रकृया अगाडि बढाएको ? प्रधानमन्त्री स्वयं खड्ग बनेर भ्रष्टाचारीमाथि जाइ लाग्नुपर्नेमा झन् भ्रष्टाचारीलाइ संरक्षण गरेजस्तो देखिएको छ भनेर आमनागरिकहरूले भनिरहेका छन् । पछिल्लो समयमा त डन भनेर चर्चा कमाएका स्वतन्त्र सांसदलाईसमेत नेकपामा रातो कार्पेट बिछ्याई पार्टी प्रवेश गराइयो । भक्तपुरबाट सांसद भएको डन त पहिले नै छन् नि, फेरि किन अर्को डन सांसद किन चाहिएको होला नेकपालाई ?

मुलुकले लामो समयदेखि स्थायी एकमना सरकार पाएको थिएन । अल्पमत तथा मिलिजुली बुहमतका पटके सरकारबाट मुलुक आक्रान्त थियो । यसकारणले पनि अहिलेको स्थायि सरकारबाट आम नागरिकहरूले केही अपेक्षा भने गरेका थिए । आम नागरिकहरूको त्यति ठूला ठूला धेरै अपेक्षा पनि यो सरकारबाट गरेका पनि थिएनन् । सामान्य आफ्नो जनजीविका सँग जोडिएका आवश्यकताहरू मात्र सर्वसुलभ तरिकाले पूर्ति होस् भन्ने जनचाहना थियो । देशमा शान्ति, सुरक्षा र सुशासन कायम होस् भन्ने जनताले चाहेका थिए ।

नेकपाको सरकारले समयमा नै राजधानी काठमाडौं आउनै लागेको मेलम्चीको पानी अझ छिटो आओस् भन्ने जनताले चाहेका थिए । तर, ओलीले यी काम गरेनन् । बरू रेल र पानी जहाज ल्याइदिने, घरघरमा ग्याँस पाइप जोडिदिने भन्दै फटाहा भाषण गर्न थाले । मेलम्चीको पानीको आशामा बसेका काकाकुल काठमाडौंवासीको सपनामा उनले लात हाने । ओलीको मुखबाट जब पानी जहाजको कुरा निस्कन्छ तब काकाकुल काठमाडौंवासीको मान भत्भत पोल्न थाल्छ ।

कस्ता व्यात्तिलाई प्रधानमन्त्री बनाइएछ, भन्दै काठमाडौंवासीहरू यतिवेला आफूले आफैँलाई धिक्कारी रहेका छन् । प्रचण्डले आफ्नै बुहारी बिना मगरलाई खानेपानीमन्त्री बनाए । मन्त्री मगरले मेलम्चीको पानी आउँछ आउँछ मात्र भनेर नागरिकहरूलाइ छक्याइ झुक्याइरहिन् तर भित्री यर्थाथता भने अर्कै रहेछ । ससुरा बुहारीद्वारा ठेकेदारसँग निकै मोटो रकम कमिसनको माग गरिएको रहेछ ।

नेकपाले निर्वाचनमा गरेको प्रतिबद्धता र आमनागरिकहरूलाई दिएको आश्वासन पूरा गर्ने कामसमेत अगाडि बढाएको देखिँदैन । निर्वाचनको समयमा वृद्धभत्ता पाँच हजार पु¥याउने भनेको थियो तर पछिल्लो समयमा सरकार सत्ता पक्षकाहरूले पाँच वर्षमा पाँच हजार पुर्याउने भनेको थियो भनेर भन्ने गरिरहेका छन । त्यसवेला ५ वर्षमा मात्र ५ हजार पु¥याउने भनेर भनेका थिएनन् । हामी सरकारमा गए वृद्धभत्ता ५ हजार दिन्छौँ भनेर भनेका थिए ।

नेकपाको सरकारबाट आम नागरिक मात्रै होइन उद्योगी व्यापारी पनि सन्तुष्ट छैनन् । सरकारले विकाश निर्माणका कामहरू गर्न नसकेको कारणले पुँजी गत खर्च खर्च हुन सकिरहेको छैन । यसले गर्दा बैंकमा तरलताको अभाब छ । बैंकको ब्याजदर बढेका कारण सेयरको भाउ ओरालो लागिरहेको छ । सेयरबजारका लगानीकर्ताहरूसमेत डुबेका छन् । यो सरकार बनेदेखि सेयरबजार ओरालो लागेको लागेकै छ । १५ लाख भन्दा बढी लगानीकर्ताहरूको खर्बौ सम्पत्ति जोखिममा परेको छ ।

देशमा अभाव भ्रष्टाचार अनिमियता ढिलासुस्ती मात्रै व्याप्त छैन, महँगी पनि चुलिएको छ, तर सरकारले यतापट्टि ध्यानै दिएकै छैन । डेढ वर्षको अवधिमा ठूला ठूला योजना आयोजना सम्पन्न गर्न नसके पनि काम अघि बढाउन त सकिन्थ्यो नि । पछिल्लो समयमा झन् शान्ति सुरक्षा मा समेत खलल पुगेको छ । राजधानीमा नै विभिन्न स्थानहरूमा बम विस्फोटका घट्नाहरू भएका छन् । अहिलेको अवस्थामा आमानागरिकहरूलाई सन्तुष्टि पार्न त्यस्ता ठूला ठूला केही कामहरू गर्न पर्दैन महँगी नियन्त्रण शान्ति सुरक्षा कायम भ्रष्टाचारीहरूलाई कारबाही देशलाई धुलो धुँवा हिलो र प्रदूषणबाट मुक्त आमनागरिकहरूको जनजीविकाको लागि आधारभूत आवश्यकताहरूलाई ध्यानमा राखेर मात्र काम गरे पनि आम नागरिकहरूको गुनासो रहने थिएन होला । तर, सरकारले आम नागरिकहरूको आवश्यकतालाई प्राथमिकतामा राखेर, ध्यानमा राखेर कुनै काम गरेको जस्तो लाग्दैन । आफ्नो ध्यान केन्द्रित गरिरहेको जस्तो देखिन्छ ।

देशमा प्रतिपक्ष पनि छ नेपाली कांग्रेस, तर प्रतिपक्षत सत्तापक्षभन्दा पनि खतमको छ । धेरैलाई देशमा प्रतिपक्ष पनि छ भन्ने नै लागेको छैन । देशमा प्रतिपक्षको भूमिका लगभग शून्य छ । सायद नेपाली कांग्रेसलाई प्रतिपक्षको भूमिका कस्तो हुनुपर्छ भनेर नै थाहा पनि थिएन होला । नेपाली कांग्रेस २०४८ सालपछि अधिकाश समयम सरकारमा नै रहेको कारणले प्रतिपक्षको भूमिकाको बारेमा थाहा नभएको होकि । प्रतिपक्ष नेपाली कांग्रेस पार्टीभित्र पद र पावरको लागि महाभारत भइरहेको छ । प्रतिपक्ष नेपाली कांग्रेसको आफ्नै घर महाभारतको हस्तिनापुर जस्तै भइरहेको छ । आफ्नै घरलाई बलियो बनाउन नसक्नेले सरकारलाई कसरी खबरदारि गर्छ र प्रतिपक्षको सशक्त भुमिका कसरी निभाउन सक्छ ? भनेरसमेत चर्चा हुने गरेका छन् । कि कसो शेरबहादुर जी ?

प्रतिक्रिया