दार्चुला । दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा साउन महिनासुरु भएसँगै घरका झ्याल, ढोकामा काँडेदार रुखका हाँगा राखिएको छ । कालो महिनाको रूपमा लिइने साउन महिना सुरु भएसँगै दार्चुला, बैतडी, डडेल्धुरा लगायतका सुदूरपश्चिममा घरका झ्यालढोकाहरूमा काँडेदार रुखहरूको हाँगा राख्ने प्रचलन छ ।
काँडेदार बिरुवालाई ‘झिझिरकाँडा’ भनिन्छ । दार्चुला जिल्लाका विभिन्न स्थानमा असार मसान्तका दिन बेलुकी झ्याल ढोकाहरूमा भिझिरकाँडा राख्ने गरिन्छ भने कतिपय क्षेत्रमा १ साउन अर्थात साउने संक्रान्तीका दिन राख्ने चलन छ । परम्परागत रूपमा कालो महिना अर्थात् साउन महिना सुरु भएसँगै घरका झ्यालढोकामा भिझिरकाँडा राख्ने चलन रही आएको स्थानीय पार्वती कोट्टारीले बताइन् ।
किन राखिन्छ झिझिरकाँडा ?
साउने संक्रान्तीसँगै देवीदेवता शिव भगवान्को वासस्थान मानिने कैलाश जाने भएकाले सुरक्षाका लागि यहाँका स्थानीयहरूले झ्यालढोकामा झिझिरकाँडा राख्ने चलन छ ।
नर अथवा मानिसहरूको रक्षा गर्ने देवीदेवता साउन महिना सुरु भएसँगै कैलाश जाने विश्वास गरिन्छ । त्यसैलै साउन महिनाभरी राक्षसहरूको बिगबिगी बढ्ने भएकाले राक्षसबाट बच्न झ्यालढोकामा झिझिरकाँडा राख्ने चलन रहेको मार्मा गाउँपालिका ६ शेरीका स्थानीय जगतसिँह डडालले बताए ।
‘साउन महिनाभरी देवीदेवता कैलाशतिर हुन्छन्, मानव बस्तीतिर राक्षसहरूको मनपरि चल्छ,’ उनले भने, ‘घरभित्र नआउन् भनेर झ्यालढोकामा झिझिरकाँडा राख्ने परम्परा पहिले देखिकै हो ।’
साउन महिना मानिसहरू देवीदेवताको साहाराबिना बस्नु परेकाले पनि विभिन्न घट्नाहरू हुने भन्दै असार मसान्तका दिन सस्र्याैं, कालोमास, गहत, जौं, तीलजस्ता पञ्चनाजले परिवारका सबै सदस्यहरूको टाउकोमाथि घुमाएर बाहिर फाल्ने चलनसमेत छ । यसरी पाँच प्रकारका अन्नले टाउकोमाथि घुमाएर फालेपछि रोग ब्याधी, शरीरमा चोटपटक नलाग्ने जनविश्वास छ ।
मानव बस्ती देवीदेवताबिहीन हुने भएकोले साउन महिनालाई कालो महिनाको रूपमा लिइने मार्माका शेरसिँह कोट्टारीले बताए । यसरी मनाइने पर्वलाई ‘मैझारो’ पर्व पनि भनिन्छ । असार अन्तिम दिनको राती मैझारो पर्व आआफ्नो परम्पराअनुसार मनाउने चलन छ ।
बर्खेबाली रोपी सकेकाले फुर्सदमा हुने भएकाले मैझारो पर्वका रूपमा सुदूरपश्चिमका विभिन्न जिल्लामा यो पर्व मनाउने परम्परा छ । साउने संक्रान्तीकै दिनबाट महिलाहरूले हातभरी मेहन्दी लगाउने तथा हरियो चुरापोते, हरियो रंगको लुगा कपडा लगाउने चलन पनि छ भने आजैदेखि नयाँ आर्थिक वर्ष पनि आरम्भ हुन्छ । आजदेखि आव ०७६÷७७ आरम्भ हुने गर्दछ ।
देवता र राक्षसबीच कैलाशमा भिडन्त
कैलाशमा देवीदेवता र राक्षसहरूले पासा अर्थात् जुवा खेल्ने गरेको जनविश्वास छ । साउन सुरु भएसँगै देवीदेवताहरू राक्षससँग प्रतिष्पर्धाका लागि कैलाश जाने गरेको स्थानीयहरूको भनाइ छ । महिनामा कैलाशमा गएर देवीदेवता एकातिर र अर्काेतिर राक्षसको समूहबीच पासा खेलमा प्रतिष्पर्धा हुने गरेको बुढापाकाहरूले बताउने गरेका छन् ।
देवीदेवताको विजय भएमा मानव बस्तीहरूमा बाढी पहिरो, आतंक, महामारीजस्ता प्रकोपहरू कम हुने र राक्षसको विजय भएमा मानव बस्ती तथा प्रकृतिमा विभिन्न खालका समस्याहरू, बाढी पहिरोका घट्नाहरू धेरै हुन्छ भन्ने जनविश्वास छ ।
साउन महिना सुरु भएसँगै मन्दिर तथा घरघरमा हरेक दिन दियो बाल्ने चलन पनि छ । देवीदेवता र राक्षसबीच कैलाशमा हुने प्रतिष्पर्धामा देवीदेवताको जीतका लागि घरघरमा तथा मन्दिरमा दियो बाल्ने गरिएको स्थानीयहरूको भनाइ छ ।
१ साउनमा कैलाश गएका देवीदेवताहरू १ भदौमा मात्रै फर्किन्छन् भन्ने विश्वास सुदूरपश्चिमेली समाजमा छ । १ भदौका दिन देवीदेवता र राक्षसबीचको प्रतिस्पर्धाको नतिजा सुनाइन्छ । सोही दिन धामीझाँक्रीहरूले कैलाशको यात्रा, राक्षससँगको प्रतिष्पर्धा नतिजा लगायतको एक महिने कैलाश बसाइँका बारेमा भलाकुसारी गर्ने गरेको गरिन्छ ।
प्रतिक्रिया