सञ्चार मन्त्रालयद्वारा मातहतसँग सम्झौता

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चैतवैशाखमा निदाउने, जेठमा उँघ्ने र असारमा फाइल लिएर न्याउरो अनुहार लगाएर मन्त्रालय धाउने प्रवृत्ति अब अन्त्य हुने बताएका छन् । यसैका निमित्त जिम्मेवार कार्यकारीहरूसँग मन्त्रालयले बुधबार कार्यसम्पादन सम्झौता सम्पन्न गरेको छ ।

सञ्चार मन्त्रालयले पहिलो पटक मन्त्रालयमातहतका १४ निकायका प्रमुखसित कार्यसम्पादन करार सम्झौता गरेको हो । सेवा तथा विकास कार्यलाई समयमै सम्पन्न गर्न र थप गुणस्तरीय बनाउन सञ्चार मन्त्री बाँस्कोटाको उपस्थितिमा सो सम्झौता गरिएको थियो । मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले निकायका प्रमुखसित बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालय स्थापना दिवस पारेर कार्यसम्पादन सम्झौता गरेको थियो ।

बुधबारदेखि नयाँ आर्थिक वर्ष पनि सुरु भएको छ । सम्झौता गर्नेे आमसञ्चार क्षेत्रका प्रमुखमा राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारी, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी, नेपाल टेलिभिजनका अध्यक्ष डा. महेन्द्र विष्ट, रेडियो प्रसार सेवा विकास समितिका कार्यकारी निर्देशक सुरेशकुमार कार्की, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली थिए ।

यसैगरी राष्ट्रिय सूचना प्रविधि केन्द्रका निमित्त प्रमुख सुनिल पौडेल, नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनाल, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, नेपाल दूरसञ्चार कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र सुरक्षण मुद्रण विकास समितिका कार्यकारी निर्देशक विकल पौडेल पनि करार सम्झौता गर्नेमा थिए । मन्त्रालयअन्तर्गत हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवाली, सूचना तथा प्रसारण विभागका महानिर्देशक कृष्णकुमार न्यौपाने, सूचना प्रविधि विभागका महानिर्देशक रश्मिप्रसाद यादव र मुद्रण विभागका निमित्त महानिर्देशक पद्मराज पाठक पनि करार सम्झौता गर्ने मध्ये थिए ।

मन्त्रालयअन्तर्गत आव ०७५÷०७६ का मुख्य मुख्य प्रगति र उपलब्धि, चालु आवमा सञ्चालन गरिने कार्यक्रमको एकीकृत कार्ययोजना र विभागीय प्रमुखसंँग कार्यसम्पादन करार सम्झौता सम्बन्धी कार्यक्रमलाई सञ्चार मन्त्रालयमा बुधबार सम्बोधन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने लक्ष्य पूरा गर्न गत वर्ष आधार वर्ष भएको र यस वर्ष प्रगतिको वर्ष हुने बताए । राजनीतिक संक्रमण अन्त्य र संविधान कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा कानुनी आधार तयार भएकाले गत वर्ष आधार वर्ष रहेको र यस वर्ष शिलान्यासको वर्ष हुने उनले बताए ।

सरकारले धेरै राम्रा काम गरेको र ती सबै जनतालाई जानकारी गराउनुपर्ने बताउँदै सरकारका प्रवक्ताले भने, ‘वर्तमान सरकार पाँच वर्षका लागि स्थायी छ । कर्मचारी संयन्त्र त स्थायी छँदैछ । यस्तो अवस्थामा सरकार धेरै काम गर्न चाहन्छ । काम देखाउन चाहन्छ । कर्मचारी सरकारको सहयोगी बन्नुपर्छ ।’ उनले तत्काल गण्डकी प्रदेश र ५ अन्तर्गत दूरसञ्चार प्रविधिको अप्टिकल फाइबरसम्बन्धी कामलाई अगाडि नबढाउने कम्पनीको सम्झौता रद्द गर्न निर्देशन दिँदै सयममा काम सुरु नगर्ने कम्पनीलाई कारवाही गरिने चेतावनी दिए ।

गुणस्तरीय सेवा र स्वतन्त्र सेवाका लागि समयमै ठेक्कापट्टा गर्न मन्त्रालयअन्तर्गतका निकायलाई निर्देश दिँदै सञ्चारमन्त्री बाँस्कोटाले भने, ‘मेरो ठेक्कापट्टामा कुनै इन्ट्रेस्ट छैन, मैले फलनालाई ठेक्का दिनुप¥यो पारिदिनुप¥यो भनेको छैन, भन्दिन पनि । ठेक्कापट्टामा विवाद नआउने गरी काम गर्नुहोस् ।’

उनले मन्त्रालय मातहतका निकायमा बिहान, दिउँसो, साँझ र रात जुनसुकै समय र अवस्थामा अनुगमन गरिने जानकारी दिँदै भने, ‘ढोका खोलिन्छ, काम हेरिन्छ ।’ मन्त्री बाँस्कोटाले सरकारले लगाएका काम इमान्दारीपूर्वक सम्पन्न गर्न मातहतका प्रमुखलाई निर्देशन दिँदै अब प्रमुखले आफ्ना विभागीय प्रमुखसित करार सम्झौता गर्नुपर्ने र आफ्ना सेवालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । ‘सरकार एक्लै सफल हुँदैन’, उनले भने ।

मन्त्री बाँस्कोटाले सुरक्षित मुद्रण, आफ्नै स्याटेलाइट स्थापना, नेपाल टेलिभिजन र रेडियो नेपाल एकीकरण, हुलाक सेवाको थप सुदृढीकरण, दूरसञ्चारको पहुँच विस्तारजस्ता कार्यमा सरकारले ध्यान दिएको बताए । सो अवसरमा सञ्चार मन्त्रालयका सचिव गुरुङले गत वर्ष ८० प्रतिशत पुँजीगत खर्च र ५५ प्रतिशत बेरुजु फछ्र्योट गरिएको जानकारी दिए ।

२०८० सालमा दूरसञ्चार सेवाअन्तर्गत मोबाइल सेवाको पहुँच पु¥याइने जानकारी दिँदै उनले आगामी दशैँ अगाडि दूरसञ्चार प्रविधिको पछिल्लो पुस्ता फोरजी पुग्ने विश्वास दिलाए । उनले पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत पाँचथरदेखि गोरखासम्म अप्टिकल फाइबर राख्ने काम सुरु भएको र आफ्नै स्याटेलाइट स्थापना भएको जानकारी दिँदै इन्टरनेटको शुल्क वृद्धि नहुने स्पष्ट पारे ।

प्रतिक्रिया