स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन

काठमाडौं । सरकारले वर्षात् र बाढीपहिरोका समयमा कुनै पनि स्वास्थ्यकर्मी तथा कर्मचारीलाई बिदामा नछाड्न निर्देशन दिएको छ । स्वास्थ्य सेवा विभागले केन्द्र र प्रदेश सरकार मातहतमा रहेको निकायलाई पनि संकटको वेला भएकाले जुनसुकै समयमा परिचालन हुनसक्ने गरी तयारी रहन निर्देशन दिएको हो । विभागले प्रदेश स्वास्थ्य निर्देशनालय र सबै स्वास्थ्य कार्यालयहरूलाई पत्राचार गरेको हो ।

बाढी प्रभावित क्षेत्रमा मौसमी रुघाखोकी, झाडापाखालाजस्ता सरुवा रोग फैलिन सक्ने सम्भावना हुँदा त्यसको व्यवस्थापन गर्न दिर्नेशन दिइएको विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेलले बताए । बाढीपहिरोमा परी झण्डै ७० जनाको ज्यान गएको छ भने, हजारौँ विस्थापित भएका छन् । विस्थापितमा सर्ने रोगको प्रकोप फैलिन सक्ने भन्दै विभागले स्वास्थ्य उपचारका प्रबन्धका लागि यस्तो निर्देशन दिएको महानिर्देशक डा. प्याकुरेलले बताए ।

यस्तो अवस्थामा स्वास्थ्य कार्यालय, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पताल जनताको सेवाका लागि तयारी रहनुपर्ने विभागले जनाएको छ । शाखा अधिकृत भक्तराज पोखरेलद्वारा हस्ताक्षरित उक्त पत्रमा यस्तो परिस्थितिमा आफू र आफू मातहतका स्वास्थ्यकर्मीलाई विशेष परिस्थितिबाहेक बिदा नदिन निर्देशन दिइएको छ । औषधि, स्वास्थ्य उपकरणको समयमै व्यवस्थापन गर्ने, जुनसुकै समयमा पनि परिचालन गर्ने÷हुनेगरी सतर्कता साथ कार्य क्षेत्रमा रहनेगरी व्यवस्थापन गर्न गराउन निर्देशन दिएको छ ।

बाँकी समायोजन दुई महिनाभित्रै
वर्षाकै कारण कर्मचारी समायोजन प्रक्रिया केही समय पछाडि धकेलिने भएको मन्त्रालयले जनाएको छ । वर्षाले आउनसक्ने महामारी र विपत्तिलाई मध्यनजर गर्दै मन्त्रालयले समायोजनको कामलाई केही समय ढिलो गर्न लागेको मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य कर्मचारी समायोजनका प्रमुख महेन्द्र श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार वर्षा कारण धेरै ठाउँमा महामारीको जोखिम बढ्दै गएकोले यस समयमा कर्मचारीलाई यताउता पार्दा स्वास्थ्य सेवामा अप्ठ्यारो पर्छ । हालसम्म आठौँ, नवौँ, दशौँ र एघारौँ तहको समायोजन प्रक्रिया सकिएको छ तर २१ हजार बढी संख्यामा रहेका अनमी, अहेब, हेल्थ असिस्टेन्ट र स्टाफ नर्सहरूको समायोजन भने बाँकी छ । यो समायोजन दुई महिनाभित्रै सक्ने मन्त्रालयको तयारी छ । मन्त्रालयका अनुसार हेल्थ असिस्टेन्ट ४५ सय, स्टाफ नर्स दुई हजार भन्दा बढी, अहेब ८ हजार र अनमी पनि आठ हजार भन्दा बढी रहेका छन् ।

उपाध्यक्षका लागि पुनः आह्वान
यता सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि पुनः दरखास्त आह्वान गरेको छ । आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले यसअघि आवेदन हालेका ६ जनाको दरखास्त रद्द गर्दै पुनः दरखास्त हाल्न सूचना जारी गरेको हो । नयाँ सूचनाअनुसार साउन १५ गतेसम्म उपाध्यक्षका लागि इच्छुक उम्मेद्वारले आवश्यक प्रक्रिया पूरा गरी दरखास्त हाल्न सक्नेछन् । नयाँ सूचनामा उपाध्यक्षका लागि आवेदन दिने उम्मेद्वारको उमेर ६५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । यसअघि ६१ वर्षको उमेर सीमा राखेका कारण धेरैको आवेदन पर्न सकेको थिएन ।

यसअघि असार ९ गते पहिलो पटक आह्वान गरिएको सूचनाअनुसार ६ जनाले दरखास्त हालेका थिए । नेपाल मेडिकल काउन्सिलका पूर्वरजिस्टार डा. निलमणि उपाध्याय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पूर्व रेक्टर डा. श्रीकृष्ण गिरी, डा. प्रमोद शर्मा डा. पारस पोखरेल, डा. रमेश सिंह र डा. निलाम्बर झाले पनि आवेदन दिएका थिए । उनीहरूले हालेको दरखास्तमा पर्याप्त पुष्टि हुने प्रमाण नपुगेको भन्दै समितिले नयाँ दरखास्त आह्वान गर्ने निर्णय गरेको हो । नयाँ सूचनामा उपाध्यक्षका लागि आवेदन दिनेले विभिन्न १५ प्रकारका कागजपत्रहरू पेश गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया