राजधानी मै बल्दैनन् ट्राफिक बत्ती

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश ट्राफिक बत्ती वर्षांैदेखि बेवारिसे अबस्थामा रहेका छन् । सरकारले ट्राफिक बत्तीको मर्मत सम्भार तथा नयाँ बत्ती जडानमा बेवास्ता गरेसँगै बेविारिसे बनेका हुन् ।

देशको राजधानी जहाँ १२ लाख बढी सवारी गुडिरहने काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी हातकै इसारामा ट्राफिक व्यवस्थापन गर्न बाध्य छन् । ट्राफिक बत्ती नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ भने पैदल यात्रु र सवारी चालकले समेत समस्या भोग्नु परेको छ । ट्राफिक प्रहरी महाशाखाका हाल काठमाडौं उपत्यकामा ४÷५ ठाउँमा मात्र बत्ती बल्ने गरेको छ ।

हाल उपत्यकाभित्र बानेश्वर चोक, सल्लाघारी, गठ्ठाघर, जडीबुटी चोक र महाराजगञ्ज चोकमा रहेका ट्राफिक लाइट बल्छन् तर तीमध्ये केही बल्दैनन् । २०३७ सालमा जाइकाले उपत्यकाका २० चोकमा ट्राफिक बत्ती जडान गरेको थियो । त्यसपछि केही वर्ष बत्ती बले पनि फेरि बत्ती बल्न बन्द भएको थियो ।

सडक विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा काठमाडौं महानगरपालिकाको पहलमा २०७४ सालमा दशकपछि ११ ठाउँमा ट्राफिक बत्ती सञ्चालनमा आएको थियो । तर, केही दिन बित्न नपाउँदै अधिकांश ठाउँका बत्ती बल्न छाडेका थिए । नयाँ बानेश्वर, नारायणगोपाल चोक, पद्मोदय मोड, शंकरदेव मोड, नारायणहिटी दक्षिण गेट, काठमाडौं महानगरपालिका सुन्धारा र सोल्टिमोड चोकमा जडान गरिएको थियो । सो बत्ती हाल बल्न छोडेको छ ।

देखाउनका लागि राखिए झै भयो । उपत्यकाभित्रका सवारीसाधन व्यवस्थापन गर्न कालिमाटी, थापाथली, माइतीघर, सिंहदरबार, पुतलीसडक, केशरमल, गौशला, कोटेश्वर लगायतका क्षेत्रमा ट्राफिक बत्ती छ तर बल्दैन ।

दुईवर्षदेखि लाइटको आवश्यकता भएको जानकारी गराउँदै आए पनि पहल नभएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । स्मार्ट सिटीको कुरा गरिरहँदा यता राजधानीमा भने ट्राफिक बत्ती समेत सञ्चालनमा आउन सकेको छैन ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले आठ मिटरभन्दा माथिको सडकमा सडक बत्ती बनाउने काम सडक विभागको भए पनि जिम्मेवारी पूरा नगरेको बताए । यता सडक विभागले भने आफुहरूले काम गर्न पहल गरिहेको दाबी गरेको छ ।

ट्राफिक जाम न्युनीकरण गर्न उपत्यकाभित्र एक सय ३९ स्थानमा ट्राफिक बत्तीको आवश्यकता देखिएको महानगरीय ट्राफिक महाशाखा जनाएको छ ।

सडक विभागले काठमाडौंमा बत्ती मर्मत तथा जडानको काम नगरेपछि काठमाडौं महानगरपालिका आफैँले पनि बनाउने तयारी सुरु गरेको छ । प्रवक्ता डङ्गोलले भने,‘ हामीले विभागलाई जति भने पनि नभएपछि आगामी वर्षको नीति तथा कार्यक्रममा चोक चोकमा ट्राफिक बत्ती बाल्ने योजना ल्याएका छौँ ।’

प्रतिक्रिया