कालीकोट । कालिकोट जिल्लाको पलाता गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक ६ हजार दिने निर्णय गरेको छ । वर्षाेंदेखि सरकारी पोसाकमा मात्र चित्त बुझाउँदै आइरहेका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई गाउँपालिकाले हातहातमा मासिक ६ हजार पाउने गरी नियुक्ति दिएको छ ।
गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले, वर्षौंदेखि गाउँ वस्तीहरूमा रातदिन नभनी काममा खटिने महिला स्वास्थ्य स्वयंसेविकालाई राज्यले साँच्चिकै श्रमशोषण गरेकै हो । हामीले श्रमको उच्च मूल्यांकन गरी मासिक ६ हजार दिने निर्णय गरेका छौँ । यसअघि सरकारले वर्षभरि एक जोर डे«स र महिनाको पाँच सय प्रोत्साहन भत्ता दिँदै आएको थियो । हामीले उनीहरूको मर्मलाई बुझेर यस्तो निर्णय गरेका हौँ ।
यसैगरी रास्कोट नगरपालिकाले पनि महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन वितरण गरेको छ । यसैगरी महिनाको एक हजार प्रोत्साहन भता दिने निर्णय गरेको छ । यस्तै सुत्केरी गराउन स्वास्थ्यचौकीमा ल्याएबापत सय रुपैयाँ प्रोत्साहन भत्ता दिने पनि निर्णय गरेको नगरपालिकाका स्वास्थ्य संयोजक हंशराज बरालले बताएका छन् । यस्तै नरहरिनाथ गाउँपालिकाले पनि सुत्केरीलाई स्वास्थ्य संस्थामा सुत्केरी गराए बापत १ सय ५० रुपैयाँ दिने निर्णय गरेको छ ।
यस्तै शुभकालिका गाउँपालिकाले पनि मासिक एक हजार दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खडानन्द चौलगाईले बताए । सुत्केरी व्यथाले मृत्यु मरणसम्म पुग्दा पनि स्वास्थ्य संस्थामा सुत्केरी नगराई घरमै सुत्केरी गराउँदा धेरै आमाहरूले ज्यानसमेत गुमाएका कारणले सुत्केरी गराउन स्वास्थ्य संस्थामा ल्याएर सुत्केरी गराएमा महिला स्वास्थ्य स्वयंसेविकालाई थप सय रुपैयाँ दिने निर्णय गरेको बताए ।
यस्तै जिल्लाको तिलागुफा नगरपालिका र खाँडाचक्र नगरपालिकाले पनि प्रोत्साहन स्वरूप मासिक एक हजार र सुत्केरी गराउन स्वास्थ्य संस्थामा सुत्केरी गराएमा १ सय ५० रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।
अघिल्ला वर्षमा यहाँका स्थानीय तहले सडक पूर्वाधारमा प्राथमिकता दिएका थिए भने, यो वर्षदेखि विभिन्न क्षेत्रमा बजेट विनियोजनका साथै नयाँ र प्रभावकारी नीति तथा कार्यक्रम ल्याएका छन् ।
प्रतिक्रिया