हलियाद्वारा ज्ञापनपत्र पेस

बैतडी । विभिन्न मागहरू राख्दै जिल्ला हलिया मुक्ति समाज बैतडी र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बैतडीले प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलमार्फत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा जिल्लामा छुट भएका मुक्त हलियाहरूको अवस्था अध्ययन गर्न नेपाल सरकारबाट समिति गठन गरि छुट मुक्त हलियाहरूको अवस्था अध्ययन गरी वास्तविकता सार्वजनिक गर्न, अध्ययन समितिको प्रतिवेदनका आधारमा स्थानीय तहहरूको नेतृत्वमा छुट मुक्त हलियाको लगत संकलन गर्न माग गरिएको छ ।

यस्तै ‘नेपाल सरकारबाट लिएको लगतअनुसार पुनःस्थापना हुन बाँकी मुक्त हलिया घरपरिवारको यथाशीघ्र पुनःस्थापना कार्य सम्पन्न गर्ने प्रक्रियामा संघीय सरकारबाट स्थानीय सरकारलाई आवश्यक अभिमूखीकरण गराई छिटो छरितो कार्य सम्पन्न गर्न पहल गरियोस् भन्ने माग ज्ञापनपत्रमा उललेख गरिएको छ ।

ज्ञापनपत्रमा हाल सम्र्पकमा आएका मुक्त हलियाहरूलाई एकपटकका लागि समय उपलब्ध गराई स्थानीय तहमार्फत परिचयपत्र वितरण गरी पुनःस्थापना र नेपाल सरकारको अगामि आवको बजेट, नीति तथा कार्यक्रममा मुताबिक मुक्त हलियाहरूलाई प्राथमिकतामा राखी कार्यान्वयन सुनिश्चितता गर्न माग गरिएको छ ।

यसै गरी लामो समयदेखि छलफलका क्रममा रहेको एकीकृत बधुवा श्रम निषेध गर्न बनेको मस्यौदालाई पारित गरियोस्जस्ता कुरा ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पौडेलले ज्ञापनपत्र मन्त्रालयमा पठाइदिने बताएका छन् ।

प्रतिक्रिया