विराटनगर । असल नागरिक उत्पादन गर्दै सम्मुनत समाजको निमार्ण गर्ने उद्देश्यले प्रदेश–१ मा मंगलबारदेखि ‘म अघि बढछु’ कार्यक्रम सुरु हुँदै छ । किशोरकिशोरीलाई लक्षित गर्दै प्रदेश–१ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यक्रम सुरु गर्न लागेको हो ।
मन्त्रालयले सोमबार विराटनगरमा पत्रकार सम्मेलनगरी सो जानकारी गराएको हो । किशोर अवस्थामा प्रवेश गरेका कक्षा ९ देखि १२ कक्षासम्मका अध्यनरत १३ देखि १९ वर्षका छात्रछात्रालाई लक्षित गर्दै कार्यक्रम ल्याइएको हो ।
विद्यालयमा अध्यनरत छात्रछात्रालाई सक्षम, सबल, जिम्मेवार, चरित्रवान, नैतिकवान, सकारात्मक, सुसंस्कृतिक तथा उत्तरदायी बनाई क्षमतामुलुक समाजको निमार्ण गर्न कार्यक्रमको आयोजना गर्न लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताए । कार्यक्रम मंगलबार बिहान ११ बजे प्रदेशका १४ वटै जिल्लाका दुई हजार सामुदायिक तथा निजी विद्यालयमा एकैसाथ शुभारम्भ हुनेछ ।
किशोरकिशोरीलाई कुलत र दुव्यर्सनमुक्त बनाई सकारात्मक र सिर्जनशील वनाउन कार्यक्रम फलदायी हुने मन्त्री कार्कीले बताए । सगरमाथा टिन क्लब गठनगरी सबै विद्यालयमा कार्यक्रम सञ्चालन गरिन लागेको हो ।
प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले विराटनगरस्थित जैन भवनबाट मंगलबार उत्त कार्यक्रमको शुभारम्भ गर्नेछन् । सोही समयमा प्रदेश–१ का सबै जिल्लाका तोकिएको विद्यालयमा प्रदेश सभासद् तथा स्थानीय निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीले कार्यक्रम शुभारम्भ गर्नुहुने जनाएको छ । कार्यक्रमबाट दुई लाख विद्यार्थी लाभान्वित हुने जनाएको छ । कार्यक्रमका लागि प्रदेश सरकारले २ करोड ५० लाख बजेट छुट्याएको जनाइएको छ ।
प्रतिक्रिया