तत्काल उपचारमा खटिन नर्सिङ संघको आग्रह

काठमाडौं । बिहीबारदेखि भएको लगातारको बाढी, पहिरोपछि हुन सक्ने सम्भावित स्वास्थ्य महामारीको जोखिमलाई मध्यनजर गर्दै नेपाल नर्सिङ संघले आफ्ना नर्सहरूलाई प्रभावित क्षेत्रमा खटिन निर्देशन दिएको छ ।

अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा पहिरो तथा डुबानमा परेका पीडित परिवारको उद्धार तथा उपचारमा तत्काल खटिन प्रभावित क्षेत्रमा कार्यरत सम्पूर्ण नर्सहरूलाई निर्देशन दिएको हो । सोमबार विज्ञप्ति जारी गर्दै संघले यस विषम परिस्थितिबाट पीडित परिवारको उद्धार तथा अगामी दिनमा देखापर्न सक्ने संक्रमणबाट बच्न आवश्यक कार्यमा खटिन नर्सलाई आग्रह गरेको हो । प्रभावित क्षेत्रमा कार्यरत सम्पूर्ण नर्सलाई स्थानीय सरकारसँगको समन्वयमा उद्धार तथा उपचारात्मक क्रियाकलापमा सक्रिय रूपमा खट्न आग्रह गरेको छ ।

बाढी, पहिरो तथा डुबानका कारण अमूल्य जीवन तथा भौतिक सम्पत्तिको क्षति भएको प्रति दुःख व्यक्त गर्दै संघले प्रकोपका कारण ज्यान गुमाएका परिवारजनप्रति समवेदनासमेत प्रकट गरेको छ । त्यस्तै संघले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । संघले संकटको यस घडीमा अविलम्ब उद्धार र राहत कार्यलाई प्रभावकारी रूपमा तीव्रता दिन सरकारसँग माग गरेको छ ।

बिहीबारदेखि सुरु भएको अविरल वर्षा र त्यसले निम्त्याएको बाढी, पहिरो तथा डुबानका कारण तराईका सबैजसो जिल्ला तथा पहाडका केही जिल्ला नराम्ररी प्रभावित भएका छन् । यसक्रममा ज्यान गुमाउनेको संख्या ६७ पुगिसकेको छ भने ३२ जनाभन्दा बढी बेपत्ता भएका छन् भने सयौँ मानिस घाइते छन् । बाढीले अर्बौँको जमिन तथा अन्य भौतिक सम्पत्तिको क्षति भइसकेको सरकारी अनुमान छ । यस्तोमा विभिन्न पेसागत तथा सामाजिक संघ–संस्थाहरू संगठित रूपमा उद्धार तथा राहतमा जुट्नेक्रम जारी छ ।

प्रतिक्रिया