दोलखा । जिल्लाको तामाकोसी गाउँपालिकाले ११ सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरेको छ । गाउँपालिकामा बसोवास गर्दै आएका तर जग्गा नभएर भूकम्पले पुनर्निर्माण गर्न नसकेका स्थानीयलाई पालिकाले शनिबार एक कार्यक्रमका बीच लालपूर्जा वितरण गरेको हो ।
पुस्तौँदेखि जग्गाजमिन नभएका ११ सुकुम्बासी परिवारलाई जग्गा खरिदन गर्न प्रतिपरिवार १ लाख ५० हजारका दरले अनुदान उपलव्ध गराएको थियो । अनुदान लिएका सुकुम्बासी परिवारले आपूmले चाहेका स्थानमा जग्गा खरिद गरेको अधिकृत विज्ञान कोइरालाले बताए ।
जग्गा खरिद गरेका ११ सुकुम्बासी परिवारलाई तामाकोसी गाउँपालिकाले शनिबार एक कार्यक्रमबीच जग्गाधनी पुर्जा हस्तान्तरण गरेको थियो । गाउँपालिका–१ भिरकोटमा रहेका सुकुम्बासी शान्ता तामाङ, सन्देश तामाङ, मंगलसिंह तमाङ र निरमार लामा, वडा–२ झुलेका भीमबहादुर भुजेल, वडा–५ का जितबहादुर खत्री, बिन्दा सार्की, दीपेश बसेल, राजु खत्री र मीनबहादुर सार्की तथा वडा–४ का ज्ञानु रोक्कालाई जग्गाधनी पुर्जा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
त्यसै गरी सोही कार्यक्रममा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई माया गर्ने २१ जोडीहरूलाई नगद पाँच हजारसहित सम्मान गरेको छ । आफ्ना ज्येष्ठ बाबुआमालाई सम्मान गरेर पालनपोषण गर्ने जोडीलाई सम्मान गरेको हो । गाउँपालिकाले व्यावसायिक कृषि उत्पादन, पशुपालन, नगदेबाली, माछापालन, लोकल कुखुरापालन, बंगुरपालन लगायतका व्यवसाय गर्ने किसानहरूलाई कृषि अनुदान पनि वितरण गरेको छ । साथै प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्ने गरिब जेहेन्दार विद्यार्थीलाई पनि छात्रवृत्ति प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
दाेलखा
प्रतिक्रिया