असल सवारी चालक सम्मानित

दार्चुला । जिल्लाका तीन असल सवारी चालकहरूलाई सम्मान गरिएको छ । स्वास्थ्य कार्यालय दार्चुला र जिल्ला प्रहरी कार्यालय दार्चुलाको संयुक्त आयोजनामा सञ्चालित एक कार्यक्रममा जिल्लाका तीन असल सवारी चालकलाई सम्मान गरिएकोे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी दीपेन्द्र शाहीले बताए ।

विभिन्न सूचकहरूका आधारमा जिल्लाका तीन जना असला सवारी चालक छनौट गरि सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक शाहीले बताउनु भयो । सुदूरपश्चिम चमेलिया यातायात प्रालिमा आबद्ध रहेका म १ ज २१८ जीप चालक मार्मा गाउँपालिकाका दिलेन्द्रसिंह धामी, दार्चुला यातायात प्रालिमा आबद्ध रहेका से १ ज १०४५ नम्बर जीप चालक महादेव खत्री र महाकाली यातायात प्रालिका म १ ज २३५ नम्बर जीप चालक लेखराज जोशीलाई सम्मान गरिएको हो ।

अस्थायी ट्राफिक प्रहरी पोस्ट खलंगाका प्रहरी सहायक निरीक्षक हिक्मत महताका अनुसार अहिलेसम्म दुर्घटना नगराएको, सवारी चालकको रूपमा कार्यरत रहेको दुई वर्ष भएका, मद्यपान तथा धूमपान तथा दुव्र्यसनीमा नलागेको, सवारी दुर्घटना गराई प्रहरी हिरासतसम्म नपुगेका लगायतका सूचकहरूका आधारमा असल सवारी चालक छनोट गरिएको हो । यो सम्मानले अन्य सवारी चालकहरूलाई समेत असल सवारी चालक बन्न उप्रेरित गर्ने उद्देश्यले पहिलोपटक चालकहरूलाई सम्मान गरिएको हो ।

सवारी चालकहरूलाई सम्मान गरेको अर्थ राख्न प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले अनुरोधसमेत गरेका छन् । सवारी चालकको हातमा ३०-४० जनाको जीवन हुने भएकाले सवारी चलाउने वेला विशेष ध्यान दिनुपर्ने र यात्रुमैत्री व्यवहार गर्नसमेत प्रमुख जिल्ला अधिकारी विष्टले अनुरोध गरेका छन् । असल सवारी चालकहरूलाई छनोट गरी सम्मान कार्यले अन्य सवारी चालकहरूलाई समेत असल सवारी चालक बन्न उत्साहित गर्ने भएकाले सवारी दुर्घटना कम हुने अनुमान गरिएको छ ।

स्वास्थ्य कार्यालय दार्चुला र जिल्ला प्रहरी कार्यालय दार्चुलाको संयुक्त आयोजनामा सार्वजनिक सवारी साधनहरूमा धूमपान तथा मद्यपान निषेधसम्बन्धी कार्यक्रममा असल सवारी चालकहरूलाई सम्मान गरिएको हो । सवारी चालकहरूलाई मद्यपान तथा धूमपानले गर्न दीर्घकालीन तथा तत्कालीन असरहरूका बारेमा जिल्ला जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशीले प्रस्तुती गरेका थिए ।

उनका अनुसार सार्वजनिक यातायातमा सवारी चालकले धूमपान गर्दा चालकलाई मात्र नभई अन्य यात्रुहरूलाई समेत असर गर्ने गरेको छ । धूमपान तथा मद्यपान सेवन गरी सवारी साधन सञ्चालन गर्दा स्वास्थ्यमा मात्रै असर नगरी सवारी दुर्घटनाहरू समेत हुने भएकाले यस्ता कार्यबाट टाढा रहन सवारी चालकहरूलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया