बाढीपीडितले पाएनन् राहत

रौतहट । लगातारको वर्षाका कारण डुबानमा परेको रौतहटको गौर नगरपालिकासहित आसपासका दर्जन बढी गाउँमा पानीको सतह घट्न थालेको छ । पानी रोकिएको र दशगजामा भारतीय पक्षले बाँध खोलेपछि आइतबार पानीको सतह घटेको हो ।

पानी घटेपछि रौतहटमा पाँच जनाको शव फेला परेको छ । जिल्लाको यमुनामाई गाउँपालिकाकी गायत्री देवी, इशनाथ नगरपालिका हरेन्द्र राय, दुर्गा भगवती गाउँपालिकाका वीरेन्द्र झा, गौर नगरपालिकाका शिवमंगल राउत र उमेश राउतको शव फेला परेका हो । त्यस्तै गढिमाई नगरपालिकाकी आनन्दी देवी र इशनाथका रामपुकार अहिलेसम्म पनि बेपत्ता रहेका छन् । लालबकैया र बागमतीको बाँध भत्केपछि जिल्लाका दर्जन बढी गाउँमा बाढी पसेको थियो ।

प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले बाढीमा फसेकाहरूको उद्धार सुर गरेको छ । सडक सञ्जाल ध्वस्त भएका कारण उद्धार र क्षतिको पूर्ण विवरण आउन केही समय लाग्ने रौतहट प्रशासनले जनाएको छ । निरन्तर चार दिनदेखि परेको वर्षाका कारण बाढी र नदीको पानी बस्तीमा प्रवेश गरेपछि करिब ३० हजार बढी घरमा क्षति पुगेको छ ।

बाढीबाट विस्थापितहरू सामुदायिक भवन, विद्यालय लगायतका सुरक्षित स्थानमा बसेका छन् भने कोहीले त्यही पनि पाएका छैनन् । उनीहरूलाई अहिले खाना र पानीको समस्या रहेको गुनासो गरेका छन् । उनीहरूले राहत नपाएको भन्दै तत्काल राहतको माग गरेका छन् ।

बाढीले घर भत्काएपछि गौर–चन्द्रनिगाहपुर सडकखण्डको विभिन्न स्थानमा प्लास्टिकको छाप्रो हालेर बस्न बाध्य भएका छन् । उनीहरूले बिहान बेलुकाको खाना र लत्ताकपडाको समस्या भएको गुनासो गरेका छन् । शवगढाका गौरीसंकर प्रसाद जयसवालले बाढीका कारण घर डुबाएको र अन्नपातसमेत बगाएकाले परिवारसहित बाटोमा पाल टाँगेर बस्न बाध्य भएको बताए । उनको ६ जनाको परिवार निरन्तर तीन दिनदेखि राजमार्ग छेउमा पाल टाँगेर बसेको भए पनि कसैले वास्ता नगरेको उनले गुनासो गरे ।

सोही स्थानमा पाल टाँगेर बसेकी राजपुर नगरपालिका–१ की ६० वर्षीया वृद्धा पुरकलिया देवीले खाना, बस्न र लत्ताकपडा केही नभएको बताइन् । उनीसहित उनको पाँच जनाको परिवारसमेत बाटोमै पाल टाँगेर बस्न बाध्य छन् । उनका छोरा मेघनाथ यादवले विपत्मा परेको वेला कसैले नहेरेको गुनासो गर्दै बाढीपीडितलाई न्याय दिलाउन आग्रह गरे ।

यता बाढीका कारण सर्पदंशका बिरामीसमेत बढ्दै गएको चन्द्रनिगाहपुर अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख डा. अभिनन्दन श्रीवास्तवका अनुसार हालसम्म १८ जना सर्पदंशका बिरामी भर्ना भएको र बिरामी बढ्ने क्रम जारी रहेकाले औषधिको समेत अभाव हुने देखिएको उनले बताए ।

प्रतिक्रिया