औद्योगिक हब बन्दै धादिङ

फाइल तस्बिर

कुनै समय थियो तराईका क्षेत्रहरूमा मात्र औद्योगिक करिडोरमा उद्योग स्थापना गर्ने प्रतिस्पर्धा चल्थ्यो । तर, पछिल्लो समय ठूला व्यापारिक घरानाको नजर औद्योगिक करिडोरमा मात्र होइन् राजधानीसँगै जोडिएको धादिङमा समेत पर्न थालेको छ । राजधानीसँग जोडिएको जिल्ला भएकै कारण ठूला घरानाले धादिङमा अर्बौ लगानीमा उद्योग स्थापना गर्न सुरु गरेका छन् ।

विशेषगरी, राजधानी काठमाडौं जुनसुकै वस्तुको सबैभन्दा ठूलो र सम्भावना भएको बजार हो । त्यति मात्रै होइन धादिङबाट करिब दुई सय किलो मिटरको दूरी वरपर राजधानी काठमाडौं बाहेकका अर्को ठूलो बजार नारायणगढ, हेटौँडा र पोखरासमेत पर्दछ । राजधानी र सडक सञ्जालसँग जोडिए पनि तुलनात्मक रूपमा जग्गा सस्तोमै पाइने भएकाले पछिल्लो समय उद्योगी व्यावसायीहरूको नजर धादिङ जिल्लामा परेको हो ।

पछिल्लो केही वर्षको तुलानामा धादिङमा सिमेन्ट, औषधि, एफएमसीजी, डन्डी, पोल्ट्रीलगायतका उद्योग स्थापना भइरहेका छन् । यी मध्ये कतिपय उद्योग निर्माणाधीन अवस्थामै छन् भने कतिपय सञ्चालनमा आइसकेका छन् ।

जिल्लाको मलेखु, सिद्धलेक, नौबिसे, खानीखोला घाटबेँसी, महादेवस्थान जोगिमारा, बेनीघाट, थाक्रे, केवलपुर, भूमेस्थान, पिडा, बैरेनीलगायत स्थानमा धमाधम उद्योग स्थापना भइरहेका छन् । विभिन्न उद्योगहरू स्थापना भएसँगै धादिङ सिमेन्टको हब बनेको छ ।

केएल दुगड समूहले नौबिसेमा युनाइटेड सिमेन्ट स्थापना गरेको छ । उपत्यकाको ललितपुरमा आफ्नै चुनढुगां खानी भए पनि उद्योग स्थापनाका लागि सहजरूपमा जग्गा उपलब्ध नभएपछि दुगड समूहले नौबिसेमा उद्योग स्थापना गरेको छ । तीन अर्ब लगानीमा स्थापना भएको उद्योगको युनाइटेड ब्रान्डको सिमेन्ट स्थापित भइसकेको छ भने यो उद्योगबाट दैनिक तीन हजार टन सिमेन्ट उत्पादन हुने गरेको व्यवस्थापनले जनाएको छ । दुगड समूहका जन सम्पर्क अधिकृत उपेन्द्र सिग्देलले ढुवानी लागतको सहजताका कारण नै धादिङमा उद्योग स्थापना गरिएको बताएका छन् ।

‘सिमेन्टको सबैभन्दा ठूलो बजार भनेको काठमाडौं नै हो, सिमेन्टका लागि ढुवानी भाडाको ठूलो हिस्सा हुन्छ । त्यसैले हामीले धादिङमा उद्योग राखेका हौँ’ उनले भने यही उद्योग भैरहवा वा वीरगञ्ज जस्ता शहरमा राखेको भए ढुवानीकै कारण एक बोरा मै एक सय रूपैयाँसम्म सिमेन्टको लागत महँगो पर्दथ्यो । तर, यहाँ हुँदा हामीले त्यो एडभान्टेज पाएका कारण बजारमा स्थापित हुन सहज भएको छ ।’ सिग्देलले भने ।

यसैगरी मंगला सिमेन्ट उद्योगले पनी उद्योग सञ्चालनकै लागि नौबिसेमा जग्गा खरिद गरिसकेको छ । कम्पनीले ओपिसी ६० हजार टन, पिपिसी ८० हजार र पिएससी २० हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको बताएको छ । यो उद्योगमा ४३ करोड लगानी गर्ने प्रतिबद्धता उद्योग विभागमा गरेको छ । यस्तै १४ अर्ब लगानीमा हुवासिन सिमेन्ट नारायणीले समेत उद्योग स्थापनाको काम गरिरहेको छ ।

हुवासिन सिमेन्ट नारायणीले बेनिघाट रोराङ गाउँपालिकाको ताल्तीमा २ सय ५० जना चिनियाँ र ३ सय ५० जना नेपाली कामदार लगाएर संरचना तयार पारिरहेको छ । कम्पनीले १५ प्रतिशत भन्दा बढी निर्माण कार्यको काम सकिसकेको छ ।

त्यसैगरी विनोद चौधरी समूहले पनि उद्योग सञ्चालनकै लागि जग्गा खरिद गरिसकेको छ । चौधरी समूहले चाउचाउलगायतको एफएमसिजी प्रोडक्टको प्लान्ट समेत धादिङमा लगाउन लागेको बताएको छ । प्लान्टका लागि यो समूहले जग्गासमेत किनिसकेको छ । समूहले नौबिसेमा ५ कित्तामा ६७ हजार ३ सय ५७ वर्ग मिटर जमिन खरिद गरिसकेको छ ।

कम्पनीको सिजी प्रिन्ट एन्ड प्याकेजिङको नाममा पहिलो कित्तामा ४ हजार ६९, दोस्रोमा १७ हजार ८ सय ५, तेस्रोमा ४ हजार ६९, चौथोमा ४५ सय ६८ र सीजी फुड्स् इन्ड्रस्ट्रिज प्रालीको नाममा ३६ हजार ८ सय ४६ वर्ग मिटर जग्गासमेत खरिद गरिसकेको बताएको छ । चौधरी ग्रुप कम्पनीका कम्युनिकेसन महाप्रबन्धक मधुसूदन पौडेलले मास्टर प्लान तयार भइरहेको बताउँदै कुन उद्योग सञ्चालन गर्ने भन्ने निर्णय भइनसकेको बताए ।

यसैगरी धादिङमा औषधि उद्योग पनि सञ्चालनको तयारीमा छ । वेभ फार्मेस्ट्यु कल्सले धुनीबेसी नगरपालिकामा औषधि उद्योग स्थापनाको तयारी गरेको छ । कम्पनीले उक्त उद्योगमा ४३ करोड ४२ लाख लगानी गर्नेछ । उद्योगबाट १० करोड क्याप्सुल, ५ करोड युनिट ओरल लिक्विड, ३ लाख लिटर मल्हम, २० लाख वटा ट्युवस, इलेक्ट्रोल वाइटिई २० हजार केजी र ड्राइ सिरप ७ सय केजी उत्पादन गर्ने समेत लक्ष्य लिएको छ ।

नौबिसेमा नै रामलक्ष्मण पोल्ट्री फर्मले ठूलो लगानीमा पोल्ट्री फर्म समेत सञ्चालनमा ल्याउन लागेको छ । उक्त पोल्ट्री फार्मले ३२ करोड ३० लाख लगानी गरेर हाल नौबिसेमै कुखुरापालन व्यवसाय गरिरहेको छ । सो पोल्ट्री फर्मबाट १५ हजार ब्रोइलर्स, २ हजार लेयर्स, ५ लाख अण्डा र चल्लासमेत उत्पादन गर्नेछ ।

यसैगरी, धादिङको मलेखुमा अत्याधुनिक ब्लक उद्योगसमेत सञ्चालनमा आएको छ । बेनीघाट रोराङ ३ स्थित मलेखुमा एएसी लाइट ब्रिक कम्पनीले २१ करोड लगानी गरेर धमाधम एसिसी ब्लक उत्पादन गरिरहेको छ । कम्पनीले बेनिघाट र पिडामा १७ वर्गमिटर जग्गासमेत खरिद गरिसकेको छ । एएसी लाइट ब्रिक कम्पनीले उक्त उद्योगबाट २४ लाख १७ हजार कंक्रिट ब्लक उत्पादन गर्नेसमेत लक्ष्य लिएको जानकारी दिएको छ ।

यसैगरी। धादिङमा ब्रुअरी उद्योग पनि स्थापना हुने क्रममा छ । गोदावरीमा सञ्चालित हिमालयन ब्रुअरी उद्योग पनि धादिङकै नौबिसेमा स्थानान्तरण हुने भएको छ । हिमालयन ब्रुअरीले उद्योग स्थानान्तरणका लागि नौबिसेमा जग्गा खरिद प्रकृयामा छ । कम्पनीले गोदावरीमा रहेको उद्योग नौबिसेमा स्थानान्तरण गर्न खोजेको बताएको छ । नौबिसेदेखि जोगिमारासम्म १५ वटा ग्यास उद्योग सञ्चालनमा छन् । यी क्षेत्रमा ज्वाला, ओम, श्रीकृष्ण, श्री, मेट्रो काठमाडौं, सिद्धार्थ, कोशी, सुगम, नोभेल, श्रीराम, स्ट्यान्डर्ड, त्रिवेणी, ग्रीन, लुम्बिनी, गीता, श्रीमायालगायतका ग्यास उद्योग सञ्चालनमा छन् ।

नौबिसेबाट २७ किलोमिटरकै दूरीमा राजधानी जोडिएकाले अधिकांश उद्योग तथा कम्पनीले यही क्षेत्रमा उद्योग स्थापना गरेका हुन् । यी कम्पनीहरू केहीले आफैँ जग्गा किनेर र केहिले जग्गा भाडामा लिएर उद्योग स्थापना तथा सञ्चालन गरिरहेका छन्  । त्यस्तै धादिङ जिल्ला औद्योगिक हवको रूपमा स्थापित हुँदै गर्दा यस क्षेत्रको जग्गाको मूल्य समेत वृद्धि भएको छ । जिल्ला मालपोत कार्यालय धादिङले चालु आर्थिक वर्षमा जारी गरेको जग्गाको न्यूनतम मूल्यांकनमा नौबिसे १९क १९ख १९ग १९घ २९ग ६९क ७९ग ७९घ ८९ङ ९९क मा पर्ने पृथ्वी राजमार्गको केन्द्रबिन्दुबाट ५० मिटरभित्र पर्ने घडेरी प्रयोजनमा आउने दायाँ बायाँका जग्गाहरू प्रतिरोपनी ६८ लाख रूपैयाँ तोकेको छ ।

यससँगै त्रिभुवन राजपथ अन्तर्गतको नौबिसे र पुल्चोक हेटौडा सडकमा पर्ने ५० मिटर दाँया बायाँका जग्गाहरूको भने प्रतिरोपनी ३० लाख रूपैया तोकेको छ । यस्तै अन्य जग्गाहरू अब्बलको १ लाख २० हजार, दोयम ८८ हजार, सीम ७६ हजार र चाहार जग्गा ४५ हजार प्रतिरोपनी तोकिएको छ ।

यसैगरी, थाक्रे गाउँपालिकाको राजमार्ग केन्द्र बिन्दुबाट ५० मिटर दायाँ बायाँको घडेरी प्रयोजनका जग्गालाई ३५ लाख प्रतिरोपनी तोकिएको छ । भूमेस्थानमा राजमार्ग वरिपरीको घडेरी योग्य जग्गालाई ३३ लाख तोकिएको छ । यस्तै, अन्य जग्गा अब्बल १ लाख ६० हजार, दोयम १ लाख ३० हजार, सीम १ लाख र चाहारलाई ७० हजार तोकिएको छ ।

गल्छी गाँउपालिका क्षेत्रमा पर्ने ५० मिटर दायाँबायाँको घडेरी प्रयोजनको जग्गा प्रतिरोपनी २४ लाख रूपैयाँ तोकिएको छ । अन्य जग्गाहरू अब्बल ७५ हजार, दोयम ६० हजार, सीम ४५ हजार र चाहार ४० हजार प्रतिरोपनी तोकिएको छ ।

यस्तै, बैरेनी राजमार्ग क्षेत्रको घडेरी प्रयोजनका जग्गा ४९ लाख रूपैँया तोकिएको छ । अन्य जग्गाहरू अब्बल १ लाख १० हजार, दोयम १ लाख, सीम ८० हजार, चाहार ५० हजार प्रतिरोपनी तोकिएको छ । तर, मालपोतले तोकेको मूल्यभन्दा बढी मूल्यमा जग्गा किनबेच हुने गरेको स्थानीय व्यवसायीहरूले बताएका छन् ।

यता जिल्लामा आउने ठूला उद्योगले केन्द्र र स्थानीय तहमा समन्वय भने नगरेको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रूद्रबहादुर खत्रीले बताएका छन् । खत्रीले जिल्लामा आउने उद्योगले उद्योग वाणिज्य संघमा दर्ता हुन अनुरोध गरेको बताउँदै उद्योगले स्थानीय जनतालाई रोजगारी दिन जोड दिनुपर्नेसमेत बताएका छन् ।

प्रतिक्रिया